काठमाडौं/ नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले ४०औं प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेलगत्तै आफ्नो यसपटकको कार्यकाल विगतको जस्तो नहुने सन्देश दिएका छन् । प्रधानमन्त्री देउवाले पदभार सम्हालेपछि पहिलो निर्णयको रूपमा हस्ताक्षर गर्न तीन वटा प्रस्ताव तयार गरे । प्रस्तावहरूमा ‘सदाचार नीति’ले प्राथमिकता पाएको छ । प्रधानमन्त्री कार्यालयले यो प्रस्तावलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी सदाचार नीतिलाई कार्यान्वयन गर्न अन्तर प्रदेश समन्वय गर्ने नियका गठन गर्ने तयारी भएको छ । त्यसको नाम ‘समन्वय परिषदको सचिवालय’ रहने जनाइएको छ । उक्त सचिवालयले प्रधानमन्त्री कार्यालयबाटै काम गर्ने योजना बनाइएको छ । नयाँ संविधानलाई कार्यान्वयन गर्न संघीयता कार्यान्वयनका लागि यस्ता समन्वय परिषद्को सचिवालय गठन गर्न लागिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधार विकाससँग सम्बन्धित एउटा महत्वकांक्षी योजना पनि अघि सार्ने तयारी गरेका छन् । सो योजना सडकसँग जोडिएको हुनेछ । यसैबीच कांग्रेस सभापति देउवाले माओवादी केन्द्रसँगको सत्ता साझेदारीलाई पार्टीभित्रबाट सन्तुलित बनाउन भगिरथ प्रयत्न गर्दा पनि पौडेल पक्ष असन्तुष्ट भएको बुझिएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रममा शितल निवास उपस्थित भए पनि नेता रामचन्द्र पौडेल समूहले देउवा नेतृत्वको सरकारमा प्रतिनिधित्व नजनाउने प्रतिक्रिया जनाएको छ ।
यसअघि पौडल समूहको हिजो बिहान बसेको बैठकले देउवाले एकलौटी गरेको भन्दै सपथग्रहण कार्यक्रममा समेत सहभागी नहुने जनाइएको थियो । पौडेल समूहले मन्त्रिपरिषद्मा पनि सहभागिता नजनाउने जवाफ पठाएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् सानो आकारमा गठन गरेका छन् । देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त गरेका छन् । तीन उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ रहेका छन् । गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालय पाएका छन् । नेपाली कांग्रेसकै कोटामा रहेको अर्थ मन्त्रालयमा भने देउवाले आफ्ना विश्वासी व्यक्ति ज्ञानेन्द्रबहादुर कार्कीलाई ल्याएका छन् ।
त्यसैगरी कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री भएका छन् भने माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् । बाँकी मन्त्रीहरूको पदभार छिट्टै निर्धारण हुने जनाइएको छ ।

छिमेकीहरूबाट बधाइ सुरु
यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री निर्वाचित भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राजदूत यु होङले बधाइ दिएका छन् । मोदीले देउवालाई देउवा प्रधानमन्त्री निर्वाचित भएलगत्तै गत मंगलबार टेलिफोन गरेर उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले दुई देश बीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गरेका थिए ।
त्यसैगरी नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चीनले पनि बधाइ दिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत यु होङ मंगलबार नै देउवाको निजी निवास बूढानीलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा उहाँलाई चिनियाँ सरकारका तर्पmबाट शुभकामना व्यक्त गरेका हुन् । सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गरेका थिए । जवाफमा देउवाले नेपाल–चीनको सम्बन्ध सुमधुर हुने विश्वास दिलाएका थिए । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here