राजसंस्था अन्त्य भयो तर सामन्ती संस्कार अन्त्य भएन

271

-चन्द्रप्रकाश बानियाँ

कम्युनिष्टहरुले जप्दै आएको माओकालीन शब्दावली ‘नयाँ जनवादी क्रान्ति’ नेपालमा मूलतः पूरा भैसक्यो भन्न थालिएको छ । जनवादी क्रान्तिको पहिलो निशाना सामन्तवादी सत्ताको उन्मूलन हो । नेपालबाट राजसंस्था उखेलियो । होला, ठूला भनिएका कम्युनिष्ट पार्टीहरुले भनेपछि नेपालमा जनवादी क्रान्ति पनि सफल भैसक्यो होला । तर समाजमा भने सामन्तवादी संस्कार संस्कृति मौलाउँदै जान थालेको छ । राजसंस्था बेदखल भयोे । नारायणहिटी दरबार म्युजियममा रुपान्तरित भयो । राजा साधारण नागरिक बने । यो एउटा परिवर्तनको युगान्तकारी घटना थियो । तर दरबार ढले पनि दरबारीया संस्कृति भने मासिएन । सामन्ती संस्कार संस्कृति बदलिएन । राजसंस्था इतिहासको गर्भमा भासियोे, सयौं छोटेदरबारहरु ठडिए । बडेराजा मासिए पनि समाजमा हजारौं भुरे राजाहरु जन्मिए । मानिसहरुको संस्कार र सामाजिक व्यवहारमा रुपान्तरण नआएपछि सामन्तवादको प्रतीक राजसंस्थाको उन्मूलनको के अर्थ रह्यो र ? झण्डै साढे दुई शताब्दी पुरानो सामन्तवादीसत्ताको अवसान भए पनि हाम्रो समाजबाट त्यसको गोबरगन्ध मेटिएको छ भन्न सकिने परिस्थिति निर्माण भैसकेको छैन भन्दा फरक पर्दैन ।
सामन्तवादी संस्कृतिप्रति नेपाली समाजको कति विघ्न मोह रहेछ भन्ने कुरा आजभोलि नेपाली समाजका घरघरमा प्रयोग हुन थालेको पारिवारिक भाषाले दिन्छ । यो एउटा उदाहरण मात्रै हो । यतिबेला खासगरेर, नेपालका हुनेखाने ठानिएका सबै घरघरमा प्रयोग हुने घरायसी बोलीचालीमा सामन्ती संस्कारजन्य भूतको प्रभाव स्पष्ट देख्नसुन्न पाइन्छ । ‘सुकला’, ‘ज्युनार’, ‘सवारी’ जस्ता सामन्ती हैकमसूचक शब्दहरुको प्रयोग जानी नजानी गरेर आफूलाई कुलीन, सम्भ्रान्त, सभ्य र विशिष्ट देखाउने आडम्बरले समाजलाई नराम्रोसँग गाँजेको छ । ‘मम्मी ड्याडी’ ले आमा बाबालाई विस्थापित गरिदिनाले आमाबाबा भनेको केहो भनेर बुझ्दै नबुझ्ने एउटा सिंगो पुस्ता नेपालमा तयार भैसकेको छ भन्नु बढ्ता हुदैन । आमाबाबालाई बिर्साउने ‘बोर्डिङ्गसंस्कृति’लाई समेत ओझेलमा पार्नेगरी पछिल्लो कालखण्डमा हाम्रो समाज ‘….स्स्यो’ संस्कृतिमा चुर्लुम्म डुब्दै जान थालेको छ ।
निश्चय नै बोलीचालीमा शिष्ट र मृदु भाषाको प्रयोग सभ्यसमाजको परिचायक र मानक दुवै हो । त्यस अर्थमा घरपरिवार, नातागोता, आफन्तहरुबीच बोलीचालीमा आदरार्थी शब्द शब्दावलीहरुको आम प्रयोगलाई बेठीक भन्न मिल्दैन । तर पनि हिजोसम्म राजामहाराजा, भाइभारदार र काजीसाहेबहरुका घर कम्पाउण्डभित्र सीमित रहेको ‘स्स्यो’ संस्कृतिले सामन्ती पर्खाल भत्काएर रामझोपडीहरुसम्म आइपुग्नुलाई ‘राम्रै भो’ भन्न सकिन्न । सामन्तवादीसत्ताको पूर्ण उन्मूलनको सन्दर्भमा नेपालको राजसंस्था उखेलिएको हो । राजालाई सामन्तवादी सत्ताको नाइके भनिन्थ्यो । सामन्तवादी सत्ताको समूल उन्मूलनको सन्दर्भमै राजसंस्थाको उन्मूलन भएको हो । राजा र राजसंस्थासँगै त्यसले स्थापित गरेका सामाजिक मान्यताहरु पनि विस्थापित हुनुपर्ने हो । तर व्यवहारमा त्यस्तो हुन सकेन अर्थात् सचेततापूर्वक त्यसो गरिएन । सामन्ती संस्कार संस्कृतिलाई यथावत् राखेर राजसंस्था मात्र खारेज गर्नाले समाजमा परिवर्तनको अनुभूति नै नहुने परिस्थिति सिर्जना भएको छ । अर्थात् समाजिक रुपमा सामन्तवादी संस्कृतिको जरा–जरामा थप मलजल गर्न थालिएको छ । राजसंस्था भने त्याज्य हुने, उसले विकास गरेको आचार, व्यवहार र बोलीवचनहरु अनुकरणीय मानिनु आश्चर्य मान्नुपर्ने विषय होइन कसरी भन्न सकिन्छ ?
सामन्तवादको नाइकेको रुपमा रहेको राजसंस्थाको उन्मूलनपछि नेपाली समाजमा सामन्ती संस्कारप्रतिको आकर्षण झन्भन्दा झन् बढ्दै गएको देखिन थालेको छ । दरबारीया आचार, व्यवहार र बोलीवचनप्रतिको लाजमर्दो आसक्ति दिन दुई गुना, रात चौगुनाको रफ्तारमा बढ्दो छ । नवधनाढ्यहरुदेखि नवशासक (राजनीतिक नेताकार्यकर्ता) हरुसम्ममा एकनाससँग दरबारीया बोलीको नक्कल गर्ने प्रवृत्तिको संक्रामक रोग निरन्तर विस्तार हुँदै छ । खासगरेर, बीसौं शताब्दीको सुरुमै नेपालको राजसत्तामा एकलौटी हक जमाउन सफल भएको राणापरिवारले आफूलाई समाजभन्दा भिन्न र विशिष्ट देखाउनका निमित्त ‘स्स्यो’ संस्कृतिलाई आफ्नो परिवार, नाता कुुटुम्बहरुका निमित्त अनिवार्य बनाएको थियो । त्यसो गर्नुको अर्थ सामान्य जनता (प्रजा) र दरबारबीच भाषिक पर्खाल खडा गर्नु थियो । द्वापरयुगको यदुवंशझैँ छोटै कालखण्डमा असाधारण रुपमा विस्तारित हुनपुगेको नवठकुरी राणापरिवारका लागि कुटुम्बहरुको अनिकाल पर्न थालेपछि ‘देशभरका ठकुरी घरानाहरुले आ–आफ्ना अविवाहिता छोरीहरुको नामावली दरबारमा बुझाउनुपर्ने र दरबारको स्वीकृतिबेगर आफूखुशी विवाह गरिदिन नपाउने’ उर्दी जारी गरियो । त्यसरी जबर्जस्ती राणा परिवारका कुटुम्बमा रुपान्तरित हुन बाध्य पारिएका पुराना ठकुरीहरुका ‘मैयारानी’ (चेलीबेटी)हरुलाई चलनचल्तीको दरबारीया भाषा सिकाउन सुरु गरिएको दरबारीया भाषिक आन्दोलनबाट देशभरका सबै ठकुरीवंशमा ‘स्स्यो’ संस्कृति महामारीझैं फैलने परिस्थिति निर्माण भएको हो । त्यसैगरी भइपरी आउँदा राणापरिवारसँग वैवाहिक सम्बन्ध गासिन जाने कथित उच्च खान्दानीया भनिने थापा, बस्न्यात, पाण्डे जस्ता खसक्षत्री थरवंशहरुमा पनि ‘स्स्यो’ संस्कृति संक्रमित हुन गएको हो । अब भने दरबारका हुक्के, ढोके, बैठकेहरुका परिवारमा मात्र होइन सिंगो नेपाली समाज नै त्यही संस्कृतिबाट संक्रमित भैसकेको छ ।
‘स्स्यो’ संस्कृतिलाई आम समाजमा सल्काउनमा मुख्य भूमिका निजामती सेवाको उच्चतहमा पुग्नेहरुबाट निर्वाह भएको हो भन्दा फरक पर्दैन । न्यायसेवाको उच्चतहमा पुगेको मेरो यौटा सहपाठीको घरपरिवारले प्रयोग गर्ने दरबारीया भाषाशैलीको सम्बोधनले कैयौंचोटि म आफैँलाई अप्ठेरो मान्नुपर्ने अवस्थामा पु¥याएको मेरो अनुभव छ । २०४६ को राजनैतिक परिवर्तनपछि मेरो आफ्नै गृहजिल्लाबासी मगरवंशका उच्चअधिकारीको घरमा पुग्दा उनकी सानी छोरीले तोतेबोलीमा ‘द्यादी सुकला होइस्या छ’ भनेको सुन्दा अचम्म लाग्थ्यो । अब भने ‘स्स्यो’ आम प्रचलनमा आइसकेको छ । बरु आफैँले त्यस्तो अभ्यास नगरेकोमा अप्ठेरो मान्नुपर्ने भएको छ ।
कुनै कालखण्डमा कुनै वंशविशेष वा परिवारले आफूलाई समाजबाट पृथक् देखाउने प्रयोजनका लागि प्रयोगमा ल्याएको भाषिकाले नयाँ नेपालमा अब कुनै महत्व नपाउनुपर्ने हो । ‘बक्स होस्’ को विकृत र संक्षिप्त रुप ‘स्स्यो’ नेपाली व्याकरणका हिसाबले पनि शुद्ध मानिँदैन । राजादेखि रंकसम्म सबैको नागरिक हैसियत समान भैसकेको वर्तमान अवस्थामा कसैले आफूलाई बोलीवचन र लवाईखुवाईको आधारमा भिन्न देखाउने प्रयत्न गर्नुपर्ने आवश्यकतै छैन । फेरि आम नागरिकले प्रयोग गर्नथालेपछि ‘स्स्यो’ संस्कृतिको विशिष्टता नै समाप्त भैसक्यो भन्दा फरक पर्दैन । त्यसैले आम बोलीचालीबाट ‘स्स्यो’ संस्कृतिको उन्मूलन गर्ने कार्यको थालनी कर्मचारीतन्त्रबाट प्रारम्भ गर्नुपर्छ भन्ने समयचेतस्वरुप नेपाल सरकारले २०६७ सालको भदौ महिनामा आचारसंहिता जारी गरेको थियो । गतिला कार्यक्रमहरु केवल कागजको शोभामै सीमित हुने हाम्रो परम्परा यस विषयमा पनि राम्रैसँग लागू भो भन्दा फरक पर्दैन ।
‘स्स्यो संस्कृति’को विस्तार र संक्रमणको बारेमा जानकारी लिन अब त इतिहासका पुराना पानाहरु पल्टाइरहनै पर्दैन । पञ्चायतकालमा स्थापित भएको राजनीतिक कुलीनतन्त्रले यो वा त्यो रुपमा ०४६ सालको परिवर्तनपछि पनि निरन्तरता पायो । दरबारको छत्रछायामा पालित पोषित त्यही वर्गले आफूलाई आम नागरिकबाट भिन्न देखाउन दरबारीया भाषाको प्रयोग थाल्यो । त्यसको सिको गर्ने रोगबाट सबभन्दा बढी ग्रसित तत्कालीन नोकरशाहीतन्त्र हुनपुग्यो । वर्षौंदेखि अभ्यस्त बनिसकेको दरबारीया भाषा प्रयोगको बानी सरकारले आचारसंहिता जारी गर्दैमा टुट्ने सम्भावना कमै थियो । उच्चपदस्थ कर्मचारीहरुले रातारात ‘भुजा ज्युनार’ गर्न छोडेर ‘भात खान’ थालिहाल्लान्, ‘सुकला’ हुने बानी त्यागेर घोडा बेचेर सुत्न थाल्लान् र ‘सवारी’ चलाउन बिर्सेर फेरि हिँड्ने कुद्ने पुख्र्यौली अभ्यासको पुनरावृत्ति गर्लान् भनेर विश्वास गर्न सकिँदैनथ्यो ।
मान्छे आदतको दास हुन्छ । दरबारीया बोलीभाषा पनि हुनेखाने नेपालीहरुको आदत बनिसकेको छ । आफूलाई राम्रो लागेर नक्कल गरिएको आचारव्यवहार कसैले भन्यो भन्दैमा त्यागिहाल्न गाह्रो हुन्छ । नेपालको सन्दर्भमा त आचारसंहिताको के कुरा भो र ? ऐनकानुनमै दण्डनीय व्यवस्था गरिए पनि ठूलाबडाहरुलाई नलाग्ने चलन विद्यमान छ । त्यसमाथि सधै उपल्लोवर्गको सुखऐश्वर्य र चमकदमक देखेर ¥याल चुहाउने निम्न पुँजीपति वर्गीय चिन्तनका कारणले पनि छोटेबडे दरबारीयाहरुको नक्कल गर्ने बानीमा तत्काल सुधार आउने सम्भावना क्षीण थियो । त्यसैले त्यो आचारसंहिताले पनि सामाजिक सुधार ऐनको नियति भोग्नु अनिवार्य थियो, भोग्यो भन्नलाई लाज मान्नुपर्दैन ।
भूजा ज्यूनार गर्ने बानी लागेकाहरुले अब उप्रान्त भात खान थाल्लान् भन्ने आशा नगर्दा हुने भएको छ । स्स्यो संस्कृति वनमारा झारझैं सिंगो समाजमा व्याप्त भैसकेको छ । त्यसले त कम्युनिष्टहरुलाई पनि छोडेन । सानाठूला सबै कम्युनिष्टहरुका घरघरमा समेत त्यो छिरिसकेको छ, । सामन्ती संस्कृतिलाई मन नपराउनेहरुले पनि स्स्यो संस्कृति अवलम्बन गर्न बाध्य हुनुपर्ने परिस्थिति निर्माण भएको छ । बोलीपिच्छे स्स्यो लगाउन जानिएन भने असभ्य कोर्काली भनी माग्नुपर्ला भनेर डराउनुपर्ने भएको छ । अब दरबारीया भाषिका सामन्तहरुको एकलौटी पेवा रहेन । दरबारमा बोलिने भाषा झुपडीसम्म पुगेपछि त्यसको गरिमा र प्रतिष्ठा पनि बाँकी रहेन । दरबारहरुसँग साइनो गासिएका थरगोत्रका बन्धुहरुले त्यो विशिष्ट परम्पराको इज्जत जोगाउने प्रयत्न थालिहाल्दा राम्रो हुनेथियो । मूल सुकेपछि कुलो त्यसै सुकिहाल्छ । अर्थात् हिजोका सामन्त भारदारवंशका सन्ततिहरुले त्यो भाषा व्यवहारमा प्रयोग गर्न छोडिदिने हो भने सर्वसाधारणमा त्यसको आकर्षण स्वतः समाप्त हुनेछ भनेर अनुमान गर्न गाह्रो पर्दैन । त्यसैले अब मुख फोरेर भन्नैपर्ने बेला आएको छ कि या त तपाईंहरुले स्स्यो संस्कृति अवलम्बन गर्न छोडिदिनुप¥यो, होइन भने हामीले पनि भात खान छोडेर ‘भूजा ज्यूनार’ गर्न थाल्नुपर्ने भो ! -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here