एजेन्सी, इन्दोर । ग्राहककको संख्या बढाउनका लागि पछिल्लो समय मानिसहरुले विभिन्न किसिमको शैलीहरुको प्रयोग गर्ने गरेका छन् । यसै क्रममा भारतको मध्य प्रदेशको इन्दोरमा एक क्याफेले पनि अनौठो किसिमको सेवा सुरु गरेको छ । यो क्याफेमा मानिसलाई तोडफोडको सुविधा दिइने गरेको छ ।
मानिसहरु कहिलेकाँही रिसको आवेगमा आफ्नो अगाडि रहेका सबै सामग्रीहरु फुटाउने गर्छन् र आफ्नो रिसलाई शान्त गर्ने गर्छन् । यस्तोमा आर्थिक तथा शारीरिक क्षति पुग्ने सम्भावना बढी हुन्छ । भारतमा भर्खरै खुलेको नयाँ क्याफेमा भने मानिसले आफ्नो सबै आवेग पोख्न सक्छन् ।
भारतको अचम्मको यस क्याफेको नाम भडास क्याफे हो । यहाँ मानिसले जानीजानी तोडफोड गर्न सक्छन् । यस किसिमको कामकबो लागि तपाईँलाई न त कसैले रोक्छ, न त प्रहरी आएर लिएर जाला भन्ने डर हुन्छ । यद्यपि तयसका लागि केही शुल्क भने बुझाउनु पर्ने हुन्छ । यो क्याफेमा भिन्न भिन्न सामग्री तोडफोड गरेको बेग्लाबेग्लै शुल्क बुझाउनुपर्ने हुन्छ । क्याफेमा सबैभन्दा सस्तो समग्री तोडफोड गरेको दुई भारतीय रुपैयाँ पर्ने गरेको छ ।
यस क्याफेमा सिसाको गिलासदेखि लिएर कम्प्युटरसम्मका सामग्रीहरु तोडफोड गर्न पाइन्छ । क्याफेको पर्खालमा ठूला अक्षरमा रिस, घृणा, चिच्याउनुजस्ता शब्दहरु लेखिएको छ । यहाँ तोडफोड गर्ने मानिसको सुरक्षाको पनि पूर्ण ख्याल गरिने गरिएको छ । तोडफोड गर्नुपूर्व हेल्मेट लगाइने गरिएको छ ।

















