राप्रपाले हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डा छोडेको छैन

123
Kamal Thapa (RPP-N Chairman)

एमालेसँगको सहकार्यले हाम्रो पराजय भएको आशंका छ 

 

 

दोस्रो चरणको निर्वाचनमा तपाईको पार्टीको स्थिति के हुन्छ ?
हामीले सबै ठाउँमा उम्मेदवारी दिएका छौँ । पहिलो चरणको निर्वाचनमा हामीले सोचेकोजस्तो परिणाम आएन । त्यसलाई समीक्षा गरेर अघि बढ्ने र राम्रो परिणाम ल्याउनेमा हामी लागिरहेका छौं ।

राप्रपाले गाई चिन्हको कारण हामीले हारेको हो भनिन्छ नि ?
चुनाव चिन्हको कारण निर्वाचन हार्ने र जित्ने हुँदैन । त्यो विषयलाई अहिले ब्याख्या गर्न चाहन्न । आज हजारौ कार्यकर्ता निर्वाचनको मैदानमा उत्रिएका छन् । यस्तो कसैले हल्ला गरेको छ भने त्यस्तो नगर्न अनुरोध गर्छु ।

एमालेसँगको तालमेल गर्दाखेरि राप्रपाले निर्वाचनमा पराजय भोग्नुपरेको पनि भनिन्छ नि त ?
केही हदसम्म त्यो कुरा पनि ठीकै हो । भनेजस्तै त भएको होइन ।

उसो भए अब दोस्रो चरणको निर्वाचनमा एमालेसँग तालमेल नगर्ने त ?
होइन । केही जिल्लामा केही राजनीतिक दलसँग तालमेल हुन्छ । तालमेलको अर्थ विचारसँग जोडिँदैन ।

तालमेलले फाइदा गर्छ या बेफाइदा ?
तालमेल निर्वाचन जित्नको लागि हो । फरक विचार भएका पार्टीकाबीचमा तालमेल भएको छ । नेपालमा जति पनि स्थापित पार्टी छन् ती पार्टीभन्दा माथि रहेर फरक विचार बोकेको पार्टी राप्रपा हो । विकल्पको पार्टी हो । अलग पहिचान लिएर अघि बढ्ने सोच हाम्रो हो ।

यसरी तपाईंले भनिरहँदा जनताले त मन पराएनन् नि ?
होइन । समग्र रुपमा देशभरिको मतलाई हेर्दा राम्रो मत पाएका छौं । जुन जनमतलाई एकीकृत गर्न सकेनांै । अर्कोतर्फ काँग्रेस, एमाले र माओवादीले जुन सामग्रीको प्रयोग सकेनौ ।

देशको चौथो शक्ति राप्रपाको हालत त नसोचेको भयो नि ?
केही भएको छैन । मैले केही कमजोरी पनि बताएँ । अरु पनि केही कुराहरु छन् । जस्तो सरकारमा सहभागी हुने, केही मुद्दाहरूको बारेमा जुन भ्रम छरियो त्यसलाई सययमै चिर्न सकेनौं । आउने निर्वाचनमा सुधार गर्नेछौं ।

३ सय ३४ स्थानीय निकायमा तपाईंको पार्टीको स्थान के रहन्छ ?
त्यसको बारेमा अहिले नै भविष्यवाणी गर्न चाहन्न तर पहिलेको भन्दा सुधार हुनेछ । केही महत्वपूर्ण स्थानमा विजय हासिल गर्नेछ ।

कमल थापाले हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा छोड्नुभयो नि ?
हो, यस्ता भ्रमहरू तपाईंजस्तो पत्रकारबाट हुन्छन् । राप्रपासँग र मसँग नजिक रहेको व्यक्तिले यस्तो कुरा गर्नुहुँदैन । विचार पार्टीको विधानमा हुन्छ । पार्टीको घोषणापत्रमा हुन्छ । हामीले हिन्दूराज्य र संवैधानिक राजसंस्थाको माग गरेका छौं । मैले जनताको बीचमा जाँदा यो कुरा भनेको छु । यही किसिमका भम्र कुरा छरिएका छन् । म यसका बारेमा भ्रम चिर्न चाहन्छु । राप्रपा मन, वचन र कर्मले यी मुद्दामा अडिग छ । हामी यही वैकल्पिक बाटोमा राजनीतिक निकास खोजिरहेका छौं ।

संविधान कार्यान्वयन गर्न चाहने व्यक्ति पनि भन्ने अनि यस्ता मुद्दाको मालिक हो पनि भन्ने ?
होइन । हाम्रो प्रयास निरन्तर छ । हामीले हाम्रा मागहरूकै पक्षमा मत हालेका छौं । हाम्रोबीचमा ९० प्रतिशत जनताका प्रतिनिधिहरुका बीचमा संविधान जारी भयो । कि त त्यसलाई च्यातेर जलाउनुप¥यो या त बन्दुक उठाउनुप¥यो । होइन भने, संविधानको परिधिमा रहेर आफ्ना माग सम्बोधनको लागि लड्नुप¥यो । यही कारणले हामीले नचाहँदा नचाहँदै यो संविधान स्वीकार गर्नुपरेको छ । धर्मनिरपेक्षता, गणतन्त्र कायम छन् । यस संविधानले अधिकार दिएको छ । आफ्ना मागहरू जनताको बीचमा लिएर जाउँ र जनताले जे भन्छन् त्यही गर भनेको छ । यसलाई हामीले प्रजातान्त्रिक कोणबाट सम्बोधन गर्नको लागि लडिरहेका छौं ।

राजतन्त्र र हिन्दूराष्ट्र सम्भव छैन भन्नेमा तपाईं हो ?
यो कस्तो प्रश्न हो ? १२ वर्षसम्म रामायण पढायो सीता कसकी जोई भन्याजस्तो नगर्नुस् न । तपाईंले यस्तो भ्रम छर्नु भएन । जनताले पनि यस्तै बुझ्छन् नि । जनताका बीचमा गएर धर्मनिरपेक्षताका समर्थकहरूले राजसंस्थालाई मान्ने पार्टीलाई पनि भोट दिनेजस्तो भ्रम फैलाइयो । कुनै एउटा निर्वाचन हार्दैमा विचार हारेको मानिँदैन । फेरि पनि आग्रह गर्दछु । सरकारमा जानु भनेको माग छोड्नु होइन । जनतालाई विश्वस्त रहन आग्रह गर्छु ।

संविधान संशोधनको लागि पहल गर्नुहुन्छ ?
निश्चय पनि । हामीले नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्छ भनेर संशोधन विधेयक पेस गरेका छौँ । उपर्युक्त समयमा त्यो उठाउँछौं । जनताको भावना र मुलुकको विकासको पक्षमा हामी छौं । पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ ।

संविधान संशोधनमा राप्रपाका सांसदले मतदान गर्छन् ?
निश्चित पनि । पार्टीको धारणा र मुलुकको हित हुने काममा हामी तयार छौँ । ३७ जना सांसदले एक ढिक्का भएर संशोधन प्रस्तावको पक्षमा मतदान गर्छौं ।
–प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here