स्थानीय तह निर्वाचन परिणामले देखाएको संकेत

148

डा. दीपेन्द्र रोकाया 

नेपाली एउटा उखानै छ– ‘चिन्न त चिन्यौ ढिला चिन्यौ, बुझ्न त बुझ्यौ ढिला बुझ्यौ’ । यसलाई भाग्यवादीहरू भाग्यको खेल हो भन्दै भावीले लेखेकै कुरा भयो भन्छन् । उनीहरूले कर्मको परिणाम पनि भनेर केही प्रशंग जोडेर हो मा हो मिलाउँदछन् । जेहोस् स्थानीय तहको निर्वाचनबारे समाजमा जे जस्ता आँकलन थियो, त्यो अब २ नम्बर प्रदेश बाहेक अन्तको परिणाम देखा प¥यो । यस परिणामले नेपाली समाजको मनोविज्ञानलाई पहिचान गर्न सहज बनाइ दिएको छ । अझ भनौं, नेपाली समाज के कुराबाट निर्देशित हुँदो रहेछ भन्ने कुरा बुझ्न सकिने बनायो ।
एक, जनमतले भन्छ, जानेमानेकै पुराना दल बाहेक अरु जति लोकप्रिय र क्रान्तिकारी तिलस्मी सपना बोकेर आउन्, उनीहरूलाई पत्याउन सकिँदैन । अर्को कुरा यो उपलब्धि जसले हत्केलामा जीवन राखेर संघर्ष गरेकै कारण प्राप्त भएको थियो, उनीहरू पनि किनाराका साक्षीजस्ता देखा पर्नुपर्ने भयो । यस तथ्यले बजारको झिलीमिली विकसित घटनाक्रम हो र यो पुरानोसँग नयाँले गरेको संघर्षका कारण प्राप्त भएको हो भन्ने बुझ्न सकेको देखिएन । परिणामतः भन्नैपर्ने भयो कि नेपाली जनमत रुढीवादी नै छ । जसरी दोस्रो संविधानसभाको निर्वाचनमा राप्रपाको गाईप्रति मोह देखिएको थियो, यो पटक एमालेको सूर्य र काँग्रेसको रुखसँग मोह बढेको पाइयो ।
दुई, राजनीतिक दलहरू चुनावी मैदानमा जाँदा सरकारमा रहनलाई मरिहत्ते गर्दछन् तर तिनले नेपाली जनमत प्रतिपक्षी छ भन्ने बुझ्दैनन् । जनआन्दोलनपछिकै इतिहास साक्षी छ कि तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचनमा पराजय भोग्नु परेको थियो । सरकारले संभावित द्वन्द्व न्यूनीकरण र व्यवस्थापन गर्न अपनाउने कार्यले जनमतलाई प्रभाव पारिरहेको हुन्छ । परिणामतः सानातिना विषयले पनि प्रतिपक्षी भावना उत्पन्न गराई दिन्छ । यतिबेला काँग्रेस र माओवादीको साइज घट्नुमा यो पनि जिम्मेवार कारण बन्न गएको छ ।
तीन, नेपाली समाज प्रायः काल्पनिक द्वन्द्वबाट त्रसित छ । यसैले एकले अर्कोलाई मात्र होइन, आफूहरूभित्रै पनि सशंकित भइरहेको पाइन्छ । प्रायः सबै दलभित्रको यही स्थिति रहनुले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बन्न गएको पाइन्छ । उनीहरू भन्नलाई मात्र लोकतन्त्र, मानवअधिकार र सुशासनको परिभाषा लगाउँदै भाका गाउँछन् । जब आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तासँग कूटनीतिक सम्बन्ध राखे जस्तो सम्बन्ध देखा पर्न थाल्दछ, तब यही बोध गर्न सकिन्छ कि नेपाली समाजका प्रतिनिधिहरू काल्पनिक आतंकबाट त्रसित छन् । उनीहरूको यही मनोविज्ञानका कारण नेपाली जनताले राजनीतिक भविष्य सङ्लो रूपमा देख्न पाएका छैनन् ।
यसो किन हुन्छ वा भइरहन्छ ? भन्दा यहाँ प्रभाव पार्ने तत्व भनेकै मध्यम वर्गको चलखेल हो । यसैले अहिले हरेक राजनीतिक दलले मध्यम वर्गलाई आकर्षित गर्ने प्रयास गरिरहेको देखियो । यही कारणले पनि दलहरूले आफ्नो वर्ग आधारमा उपेक्षा समेत गरेको पाइन्छ । विशेष गरी दलहरू वर्ग आधारमा दृढ हुन नसक्दा हिजो एकाध पञ्च, मुखिया तथा जिम्मुवालले निर्णायक भूमिका खेलेजस्तै मध्यम वर्गका केही टाठाबाठाहरूको जनमत निर्णायक हुन पुगेको छ । यसैकारण जनताको जनमत चलयमान भइरहेको देखियो । यस तथ्यलाई गहिरो गरी अवलोकन गर्न नसक्दा समाजका अन्तरविरोधहरू बढिरहेको पाइन्छ । परिणामतः पैसा र दलबलको भर परी निर्वाचन जित्नेहरू समाजमा बढी देखिएका हुन् भन्न सकिन्छ ।
निर्वाचनमा प्राप्त परिणामले एमाले पहिलो देखिएको छ । उसले आफै सरकारमा नभएकाले सरकारले पेलेकाले परिणाम अझै भनेजस्तो आएन भन्दै दाबी गरिरहेको छ । काँग्रेसले आन्तरिक लोकतान्त्रिक अभ्यासमा रहेको कमजोरीका कारण सोचेजस्तो परिणाम नपाएको अनुभव गरिरहेको छ । माओवादी केन्द्रले पनि सरकारमा बसेर गरेको रणनैतिक महत्वको निर्णयहरू तथा संघर्षबाट प्राप्त उपलब्धि जनतालाई बुझाउन नसक्दा अनुमानित स्थान खस्केको रूपमा हेरिरहेको छ । यस्तै अरु साना तथा नयाँ दलहरूले आफ्नो धरातल देखिरहेका छन् । जेहोस्, निर्वाचनमा मत जुनसुकै रूपमा खसेपनि यो वैधानिक रूप भएकाले सबैले मान्नै पर्दछ ।
संसदीय निर्वाचनको अभ्यास र परिणामले माओवादी केन्द्र २०४८ कै स्थानमा देख्ने र ब्याख्या गर्नेहरू बढेका छन् । अन्ततः संसदीय अभ्यासमा जानु थियो भने जनयुद्धको नेतृत्व गरेर माओवादीले असफल विद्रोह गर्दा देश र जनताको ठूलो क्षति भयो भनी आलोचना गर्नेहरू बढेकै छन् । माओवादीका अध्यक्ष प्रचण्डले केही दिन पहिले हामीले चामलजस्ता एजेण्डा समेत विक्री गर्न सकेनौं भनी पीडा ओकले पनि उनले समय छँदै म सरकारमा छु भनेर पार्टीलाई कार्यक्रम दिएर हेडक्वाटर टिमलाई प्रभावकारी रूपमा परिचालन गर्न सकेनन् । यसैले माओवादीका प्रायः जिम्मेवार नेताहरूले आफ्नै वडामा पराजय भोगेको पाइएको छ । यसो हुँदा पनि जनताले माओवादीलाई मत दिन छोडेको छैन । यसलाई वर्ग आधार पहिचान गर्न नसक्ने नेतृत्वलाई सच्याउने चेतावनीका रूपमा लिन सकिन्छ ।
यद्यपि नेपाली समाज बदलिँदै गएको छ । इतिहासका तथ्यहरूले के स्पष्ट पार्दछ भने पहिलो र दोस्रो विश्वयुद्धमा होमिन परेकै कारण राणा शासनविरुद्ध २००७ सालको विद्रोह भएको थियो । असमान र अपमानपूर्वक निरन्तरता पाएको गोर्खा सैनिकहरू विभिन्न हण्डर ठक्करका बीचमा राजनीतिक यथार्थता बुझ्दै छन् । यस्तै दिनहुँ रोजगारीका लागि खाडीतर जानेहरूले बाहिरी विश्वको दुःख बुझिरहेका छन् । यसअघिका शासकहरू युवाहरूबाट त्रसित भए पनि अब त्यो स्थिति क्रस हुन थालेको छ । स्थानीय तहको निर्वाचनमा युवाहरू बढी निर्वाचित भएको पाइएको छ । यसो त यस पटक महिला, दलित र आदिवासी/जनजातिको समावेशी प्रतिनिधित्व रहेको छ । यसले नयाँ संस्कार निर्माण गर्नेवाला छ ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here