तत्काल सशस्त्र युद्धको स्थिति छैन, त्यसैले चुनाव उपयोगको कार्यनीति अपनाएका हौं

क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलसँगको ताजा संवाद

तपाईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्नुभएको कुरा चर्चामा आयो, वास्तविकता के हो ?
हो, हामीले भेटेको हो । प्रधानमन्त्रीलाई भेट गर्नु कुनै आश्चर्यको विषय भयो र !

प्रधानमन्त्रीलाई भेटेर के कुरा गर्नुभयो त ?
हामी दुईवटा विषयमा कुरा गर्न गएका थियौँ । हामीले निर्वाचनको प्रयोजनको निम्ति दल दर्ता गर्ने प्रयास पहिले पनि गरेका थियौँ, तर दल दर्ता गर्न दिइएन र निर्वाचन चिन्ह पनि दिइएन । अहिले पनि हामीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएका छौँ । यसपटक दल दर्ता जसरी पनि हुनुपर्छ भनेर हामीले प्रधानमन्त्रीलाई भेटेका हौँ । लोकतन्त्रमा दल दर्ता गर्न पाउने अधिकार किन हुँदैन भनेर हामीले प्रधानमन्त्रीलाई प्रश्न गरेका छौँ ।

प्रधानमन्त्रीबाट के जवाफ पाउनुभयो त ?
प्रधानमन्त्री हाम्रो दल दर्ताको विषयमा सकारात्मक हुनुहुन्छ । दल दर्ता र निर्वाचन चिन्ह दुवैको पक्षमा छु, पहल गर्छु भनेर आश्वासन दिनुभएको छ । चुनावमा सहभागी हुनका लागि प्रोत्साहन पनि गर्नुभएको छ । त्यसैले दल दर्ता प्रक्रियालाई सहज बनाइने कुरामा हामी विश्वस्त भएका छौं ।

तपाईहरुको पार्टी स्थानीय तहको निर्वाचनमा कमजोर देखियो । किन ?
स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टी कमजोर देखिनुको पछाडि विभिन्न कारणहरु रहेका छन् । पहिलो कुरा त निर्वाचन आयोगले हाम्रो पार्टीलाई दर्ता नै गराएन । हाम्रो दलमा आबद्ध कार्यकर्ताको नामावलीसमेत मतदाता सुचिमा थिएन । दोस्रो कुरा हाम्रो पार्टीलाई चुनाव चिन्ह समेत दिइएन । हामी निर्वाचनमा सहभागी भइरहेका छौँ भन्ने कुरा धेरै मतदाताहरुलाई जानकारीसमेत भएन ।

दुई चरणका निर्वाचनमा तपाईहरु निकै कमजोर देखिनुभयो, अब तेस्रो चरणको चुनावबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
धेरै अपेक्षा गरिएको छ । राम्रो नतिजा आउने सम्भावना धेरै छ । हामी पहिलो संविधानसभामा पहिलो पार्टी भएको माओवादी हौँ । माओवादीले गरेको जनयुद्धको एजेण्डाबाट जनता प्रभावित छन् । जनयुद्धकालका एजेण्डाहरु हाम्रो पार्टीले नै सही ढंगबाट समातेको छ । त्यसैले हाम्रो पार्टीको प्रचार जनस्तरमा राम्रो ढंगले पुग्ने हो भने अपेक्षा गरिएकै जस्तो परिणाम आउन सक्दछ ।

त्यसबेलाको माओवादीको नेतृत्व त अहिले पुष्पकमल दाहालले गर्नुभएको छ । त्यतिखेरको जनमत तपाईहरुमा कसरी आउँछ ?
दाहाल नेतृत्वको पार्टीले त अहिले युद्धकालका एजेण्डाहरु सबै छोडिसक्यो । उसले अब नेपाली कांग्रेसको एजेण्डा बोकेर हिंडिरहेको छ । ०६४ सालमा जुन एजेण्डा बोकेर पहिलो पार्टी बन्न सफल भएको थियो माओवादी, त्यो एजेण्डा दाहाल नेतृत्वको पार्टीले छोडिसकेको छ । पार्टीलाई त जनताले एजेण्डाका आधारमा मत दिने हो । त्यसैले युद्धकालका एजेण्डाहरुलाई हाम्रो पार्टीले नै निरन्तरता दिइरहेको छ, त्यसो हुँदा जनताको समर्थन हाम्रो पार्टीलाई नै हुनेमा हामी विश्वस्त छौं । मुख्य कुरा जनतासम्म प्रचार पुग्नु जरुरी छ ।

तपाईहरुको विचार र एजेण्डालाई त जनताले अस्वीकार गरिसकेका छन् । अब कसरी जनमत पाउनुहुन्छ ?
हाम्रो विचार र एजेण्डालाई जनताले अस्वीकार गरेका छन् भन्ने तपाईको प्रश्नमै पूर्वाग्रह छ । जनताले हाम्रो पार्टीका एजेण्डालाई अस्वीकार गरेका छैनन् । तर ०६४ सालको चुनावमा पहिलो ठूलो पार्टी भएर सरकारको नेतृत्व गर्दा समेत राम्रा काम गर्न नसकेकाले जनतामा नराम्रो प्रभाव परेको हो । दाहाल र बाबुराम भट्टराईले त्यतिबेलादेखि नै पार्टीको एजेण्डा लागु गर्न सकेनन् । माओवादी आन्दोलन खेर गयो भन्ने सन्देश जनतामाझ गयो । अब हामी वास्तविक माओवादीको एजेण्डा लिएर जनतामाझ चुनावी अभियानका रुपमा जान्छौँ । हामीले उठाएका एजेण्डा गलत छैनन् । जनताले हामीलाई अवश्य साथ दिने छन् ।

नेपाली जनता अब पनि क्रान्ति, हतियार र द्वन्द्वको पक्षमा आउँछन् त ?
जनता अहिले हतियार र द्वन्द्वको पक्षमा छैनन् भन्ने कुरा हामीले बुझेका छौँ । अब तत्कालका लागि सशस्त्र युद्ध हुने अवस्था पनि छैन । अब हामी निर्वाचनमा गएर जनतालाई कुरा बुझाउनु पर्छ भन्ने निष्कर्षमा पुगेका छौँ । हामी चुनावमा सहभागी हुनका लागि तयारी गरिरहेका छौँ । चुनावबाट परिवर्तन सम्भव हुँदैन भन्ने कुरामा स्पष्ट हुँदाहुँदै पनि जनताका बीचमा पुग्नका लागि चुनावलाई हामीहरुले तत्कालका लागि उपयोग गरेका हौं ।

चुनावमा कुनै दलसँग गठबन्धन गर्ने योजना छ ?
अहिले हामीले ४ वटा दलसँग गठबन्धन नगर्ने निष्कर्ष निकालेका छौँ । राप्रपा, नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रसँग कुनै पनि सहकार्य वा गठबन्धन गदैनौँ । तर हाम्रो एजेण्डा मिल्नेसँग तालमेल हुने सम्भावनालाई खुला राखेका छौँ ।

विप्लवसँग तपाईहरुको गठबन्धन हुन सक्ला ?
हामीले चुनावलाई उपयोग गरिरहेका छौं, विप्लवजीको पार्टीले चुनावलाई बहिष्कार गरेको छ । त्यसैले बहिष्कार र उपयोेगको बीचमा तालमेल हुने कुरै भएन । पछि आन्दोलनका क्रममा तालमेल मिलाएर जान भने सकिने सम्भावनालाई नकार्न सकिन्न ।
–प्रस्तुति ऋषि धमला

-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here