माओवादी केन्द्र एजेण्डा र दिशाविहीन बन्दै

155

हुकुमबहादुर सिंह

नेपालको अहिले मूलतः चार चिरामा बाँडिएको माओवादी आन्दोलनमध्ये एक चिरा– माओवादी केन्दको नेतृत्व प्रचण्डले गर्दै छन् । माओवादी आन्दोलनभित्र सिद्धान्त, विचार र संगठनका हिसाबले उनी नै अहिले समग्र संसदीय व्यवस्थाको नेतृत्व गर्न लालायित देखिन्छन् । उनले आफ्नो त्यो इच्छा पूरा गर्न सबै विभाजित माओवादीहरू– किरण नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम नेतृत्वको नया“ शक्ति नेपाललाई एकताका लागि आह्वान गरे । तर उनको त्यो आह्वानलाई किरणले ‘सिद्धान्तहीन एकताको कुनै अर्थ छैन, बरु उनीहरू (माकेहरू) त कांग्रेस, एमाले र राप्रपासित एकता गरे हुन्छ’ भनेर ठाडै नकारी दिए । त्यसैगरी विप्लव र भट्टराईले पनि उनको त्यो एकता प्रस्तावलाई ‘एउटा दिशाहीन र बेतुकको कुरा’ भन्दै नकारेका छन् । पार्टी बाहिरको अवस्था यस्तो छ भने पार्टीभित्रको अवस्थाबारे उनी स्वयम् भन्दछन्, ‘जनताले माओवादीलाई भोट नदिनुको कारण माओवादी नेता तथा कार्यकर्ताको सत्ता र भत्ता लोभ भएको र माओवादी नेताहरू जनता छाडेर ठेकेदार र दलालका पछि लागेका छन्, संगठन सखाप पारेका छन् ।’
प्रचण्डका माओवादी केन्द्रका नेता तथा कार्यकताबारेका यी भनाइहरू सही लाग्छन् । तर, सारमा यी सबैको उद्गमविन्दु कहाँ हो ? त्यसबारे उनी मौन छन् । उनीमात्रै मौन नभई उनीमुनिका नेताहरू पनि वास्तविकता के हो बोल्न सकिरहेका छैनन् । प्रचण्ड स्वयम् संसदीय सत्ता र भत्तादेखि बाहिर आउन असमर्थ छन् । अनि उनले कसरी आशा गर्न मिल्दछ कि उनी मुनिका नेताहरू त्यो नगरुन्, जो उनी आफूले गरिरहेका छन् । प्रचण्डले आफ्ना गलत कामहरू अन्यको थाप्लोमा हालेर आफू चोखो बन्दै आएको आम नेपाली जनताले देखेकै त हुन् । परिवारवाद, नातावाद आदिमा फस्दै गएका उनी पछिल्लो अवस्थामा आएर चितवनको निर्वाचनमा जसरी अन्तराष्ट्रिय स्तरमा नै बद्नाम भए, त्यसको उच्चता अब छिटै आउनेवाला छ –भरतपुरको १९ वडाको पुनः निर्वाचन गराएर । अहिले नै त्यहाँ भन्न थालेका छन्, ‘मतपत्र च्यात्नेलाई मत हालिँदैन ।’
प्रचण्ड अब शान्तिपूर्ण संक्रमणद्वारा परिवर्तन र यही संसदीय व्यवस्थाको आफू मेरुदण्ड बन्न खोज्दै छन् । सिद्धान्त र विचार ख्रुश्चेवको अंगीकार गर्ने र आफूलाई माओवादी केन्द्र भन्न नछाड्ने, यो सीधै राजनीतिक बेइमानीको मार्ग हो, जुन लामो समयदेखि नेपालमा एमालेले गर्दै आएको छ । आफूलाई बहुदलीय जनवादको नाममा माक्र्सवादका मूलभूत मान्यताहरूलाई सीधै इन्कार गर्ने तर आफ्नो पार्टीको नाम माक्र्सवादी लेनिनवादी भन्न नछाड्ने । यसरी जसरी एमाले संसदीय कम्युनिष्ट बनेर नेपाली जनतामा कम्युनिष्ट भएको काफी भ्रम दिन सफल भएको छ । उसका आफ्ना स्पष्ट एजेण्डा र दिशा छन्–संसदवाद । त्यो भनेको कम्युनिष्टको नाममा संसदीय व्यवस्थाको नेतृत्व लिने र देशमा कम्युनिष्टको नाम र झण्डामा नोकरशाहा तथा दलाल पु“जीपति वर्गको अधिनायकत्व स्थापित गर्ने । तर माओवादी केन्द्रसित अब यो सम्भव छैन, किनभने कि त उसले एमालेलाई विस्थापित गर्नु पर्दछ वा त्यसमा आफूलाई समाहित गर्नु पर्दछ । केबल हाम्रा एजेण्डालाई जनताले स्थापित गरे भन्ने अनि तिनैले मत नदिएकोमा चाहिँ एमाले र कांग्रेसलाई मूलतः एमालेलाई गाली गर्ने । यसो गर्नुका पछाडि अबको भावी दिनमा माओवादी केन्द्र एजेण्डाविहीन र दिशाविहीन बन्दै गएको प्रमाण हो ।
एमालेलाई विस्थापित गर्नका लागि प्रचण्ड अब क्रान्तिकारी भएर होइन, उनी झन्झन् संसदीय व्यवस्थाको मार्गतर्फ वशीभूत हँुदै जाने छन् । जसका लागि अब उनको आफ्नो कुनै एजेण्डा नभई एमालेसित सापटी लिने सिवाय अरु केही हुने छैन् ।
[email protected]

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here