मेरो आपूर्ति मन्त्रालयभित्रको भ्रष्टाचारबारेकोचर्चाले मलाई चिन्तित तुल्याएको छ
शिवकुमार मण्डल(केवट),आपूर्तिमन्त्री
आपूर्तिमन्त्रीज्यू ! तपाई सबैभन्दा बढी भ्रष्टाचार हुने मन्त्रालयको मन्त्री बन्नुभएको छ, देशमा आपूर्ति व्यवस्था कसरी व्यवस्थित गर्नुहुन्छ ?
आपूर्ति व्यवस्था व्यवस्थित गर्न मेरो कोसिस हुनछ । कोसिस गरियो भने पक्कै पनि आपूर्तिको समस्या महसुस हुन पाउने छैन । हामीले गर्ने काम भनेकै यही त हो । जहाँसम्म भ्रष्टाचार हुने मन्त्रालय भनेर तपाईले भन्नुभयो । मेरो कार्यकालमा मेरो मन्त्रालय मातहतमा भ्रष्टाचार भएको कुरा जनताले सुन्न नपाउने प्रतिबद्धता मैले तपाईमार्फत् गर्न चाहन्छु । अपूर्ति व्यवस्थालाई सकेसम्म पारदर्शी ढंगेले व्यवस्थित गराउने मेरो प्रयास हुनेछ ।
कर्णालीमा आधारभूत कुराहरू आपूर्ति हुन्छन् त ?
कर्णाली हाम्रो देशको अत्यन्तै विकट क्षेत्र हो । विकट क्षेत्र भएकाले मैले कर्णाली क्षेत्रलाई विशेष महत्व पनि दिनेछ । जनतासँग प्रत्यक्ष सरोकार रहने दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति गर्ने मन्त्रालय मैले सम्हालेको छु । यो मन्त्रालयले अत्यन्त संवेदनशील मन्त्रालय हो भन्ने मैले बुझेको छु । मेरो प्रयास जनतालाई आपूर्ति व्यवस्था सहज तुल्याउने नै रहने छ । जनताका अधिकारभित्र पर्ने सबैखाले अधिकारमध्ये पनि सबैभन्दा महत्वपूर्ण अधिकार आपूर्ति व्यबस्थापनबाट जनतालाई सन्तुष्ट तुल्याउनु हो । म यसका बारेमा म कटिबद्ध हुनेछु ।
आपूर्ति मन्त्रालय मातहतकै नेपाल आयल निगममा व्यापक भ्रष्टाचार भएको चर्चा छ, तपाईले केही अध्ययन गर्नुभयो ?
म भर्खरै आपूर्ति मन्त्रीको जिम्मेवारीमा आएको छु । सबै कुरा अध्ययन भइरहेको छ । खासगरी नेपाल आयल निगमबारेको चर्चाले मेरो पनि ध्यानाकर्षण गराएको छ ।
हाम्रो देशमा सबैभन्दा बढी भ्रष्टाचार नेपाल आयल निगममा हुन्छ भन्छन्, यसलाई नियन्त्रण गर्नसक्नु हुन्छ तपाई ?
तपाईले भनेको कुरा सही हो । यस्तो कुरा मैले पनि सुन्दै आएको छ । हाम्रो देशमा अनेक प्रकारका भ्रष्टाचार भएका छन् । त्यसको अन्त्य हुनुपर्छ, यो समस्या निक्कै ठूलो छ । सामान्य तहबाटै अनियमितता भइरहेको छ । त्यस्ता गलत नियतका मान्छेलाई कारबाही गर्न कुनै कन्जुस्याँइ रहने छैन । कानुनसम्मत काम गर्न कुनै असहज अवस्था पनि छैन ।
आयल निगमका महाप्रबन्धक गोपाल खड्काले निगमका लागि जग्गा खरिद गर्दा नेपाल सरकारको नियममा रहेर टेन्डर दिनु भएको हो त ?
त्यो उहाँको कुरा भयो । उहाँले भनेको कुरा उहाँको लागि सही होला । तर कानुनले के भन्छ ? त्यसको आधारमा छानविन हुन्छ ।
भ्रष्टाचारविरुद्ध काम गर्न चौतर्फी चुनौती छ नि ?
अनाश्वक दवाव आउँछ भने त्यसको पर्दाफास गर्नका लागि म तयार छु । तपाईजस्ता मिडियाकर्मीको साथको खाँचो हुनेछ मलाई । दोषीलाई कार्वाही गर्ने कुरामा मेरो कुनै पनि कन्जुस्याँइ रहने छैन । मन्त्रालयमा बसेर जनताको काम गर्नका लागि आएको हुँ, मेरो जिम्मेवारी पुरा गर्नका लागि म कुनै कसर बाँकी राख्ने छैन ।
तपाईको अभियानलाई सफल पार्न मिडियाको सहयोग कसरी लिनु हुन्छ ? मिडियाहरू तयार होलान् मन्त्रीज्यू ?
यो प्रश्नको लागि तपाईलाई धन्यवाद । मिडियाले जनताको हितका लागि काम भएको देख्न चाहन्छन् । जनताको पक्षमा काम गरियो भने मिडियाले विरोध गर्ने प्रश्नै रहदैन । भ्रष्टाचारविरुद्ध हामी सबै मिलेर अघि बढ्नुपर्छ ।
साल्ट ट्रेनिङ कर्पोरेशनका प्रमुखले करौडौ भ्रष्टाचार गरेको कुरा पनि बाहिर आएको छ नि ?
म एक विभागीय मन्त्रीको हैसियतले यसका बारेमा नबुझी सत्य नजानी बोल्नु उचित हुँदैन । दोषी जति छन् । कसैलाई पनि छोडिने छैन। अहिलेलाई यति भन्छु । कानुनी अधिकार प्रयोग हुन्छ । नियत गलत भएकाहरू जनताका शत्रु हुन् ।
जनधारणा साप्ताहिक



















