काठमाडौं/ वाम तालमेलबाट नेपाल पत्रकार महासंघको नेतृत्व गर्दै आएका एमाले पक्षधर प्रेस चौतारीमा आबद्ध पत्रकारहरू यसपटक बञ्चित भएका छन् । अघिल्लोपटक तीन वर्षअघि भएको निर्वाचनमा वाम तालमेल भई प्रेस चौतारीले महेन्द्र विष्टलाई अध्यक्षमा उठाएर जिताइएको थियो । यसपटक महासंघको अध्यक्षमा प्रेस सेन्टरलाई दिनुपर्नेमा प्रेस चौतारीको माउपार्टी नेकपा (एमाले)को नेतृत्वपंक्तिले वाम तालमेलविरुद्ध अहंकार देखाउँदा महासंघको नेतृत्वबाट प्रेस चौतारीमा आबद्ध पत्रकारहरू बाहिरिन पुगेका छन् । प्रेस सेन्टरले प्रेस युनियनसँग सहकार्य गरी अध्यक्षमा आफ्नो नेतृत्व कायम गर्न सफलता हासिल गरेको छ । अध्यक्षमा प्रेस सेन्टरका गोविन्द आचार्य निर्वाचित भएका छन् । आचार्यले महासंघलाई सबैको साझा संस्थाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्षमा निर्वाचित भएपछि विजयीसभालाई सम्बोधन गर्दै आचार्यले महासंघ भित्र कसैमाथि पनि भेदभाव नहुने र महासंघलाई साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराएका छन् । निर्वाचनमा आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएका छन् ।
खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल आचार्य पक्षबाट विजयी भएका छन् । महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एसोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भएका हुन् ।
लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् लेखा समिति सदस्यहरूमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भएका छन् । एसोसियट तर्फ पवन आचार्य र राधेश्याम दाहाल विजयी भएका छन् ।
जनधारणा साप्ताहिक