कम्युनिस्ट नेताहरूमा पुस्तान्तरको प्रश्न

149

हुकुमबहादुर सिंह

अहिले नेपाली कम्युनिष्ट आन्दोलनमा पहिलो पुस्ता, दोस्रो पुस्ता र युवा पुस्ता भनेर नेता तथा कार्यकर्ताहरूलाई विभाजन गरेर हेर्ने एक खालको गैरमाक्र्सवादी चिन्तनको विकास हुन थालेको छ र त्यही चिन्तनको आधारमा नेपाली कम्युनिष्ट आन्दोलनका नेता तथा कार्यकर्ताहरूलाई विभाजन गर्ने र दोस्रो पुस्ताको लागि भावी नेतृत्वको दाबी गर्न थालिएको छ । यो विभाजन स्वयम् केही नेताहरूले आफै गर्ने गर्दछन् भने कहिले काही नेपाली पत्रकारहरूले पनि गर्ने गरेको पाइन्छ । तर यसका पछाडिको वैज्ञानिक आधार के हो ? खासै कुनै सत्यतथ्य आधार भने छैन । त्यसबारे उनीहरूमा खासै गम्भीरता पनि देखिँदैन । यो आफैमा एउटा मनोगतवादको दलदलमा फसेको चिन्तनसिवाय केही होइन । किन यो मनोगतवादको दलदलमा फसेको चिन्तन हो ? किनभने यसका आधार नेताहरूको उमेर हो कि ? उसको कम्युनिष्ट पार्टीमा भएको योगदान हो कि ? उसको पार्टी सदस्यता लिएको कति वर्ष भयो ? त्यो हो कि ? के हो ? यसबारे केही तथ्यगत भनाइहरू छैनन् । यसका पछाडि स्पष्टतः माक्र्सवादी दर्शन नभई निम्न–पँुजीवादी दर्शन हावी भएको देखिन्छ र यो गलत चिन्तनलाई मलजल गर्न अहिले नेपालका वामपन्थी बुद्धिजीवीहरू खासगरी नेपालका चारवटा– मसाल, संयुक्त, माके र एमाले दलहरूमा आबद्ध बुद्धिजीवीहरूले आफूलाई दोस्रो पुस्ताका नेताहरूमा वर्गीकरण गर्दै आ–आफ्नो पार्टीभित्र ‘माक्र्सवाद’ को नयाँ बहस आवश्यक रहेको भन्न थालेका छन् । यसलाई व्यवहारमा उतार्न उनीहरूले एउटा मजाक गर्दै छन् (या त्यो एउटा भ्रमको खेती पनि हुन सक्छ) र भन्दै छन्, ‘कार्लमाक्र्सको दुई सयौं जन्मजयन्तीका दिनसम्म नेपालका कम्युनिष्टहरूले माक्र्सवादको नयाँ अन्वेषण गर्ने र विश्वलाई नै एउटा नयाँ सन्देश दिने उद्देश्यका साथ विभिन्न पार्टीका खासगरी चार पार्टी– एमाले, माके, नेकपा संयुक्त र नेकपा मसालका ‘युवा नेताहरू’ले यसका लागि वैचारिक–राजनीतिक बहस गर्न एकै ठाउँ उभिने भएका छन् । एकै पटक उनीहरूले आफूलाई ‘युवा नेताहरू’ र ‘दोस्रो पुस्ताका नेताहरू’ पनि भन्ने गर्दछन् । उनीहरूका भनाइमा युवा विद्यार्थीलाई प्रशिक्षण दिएर शुरु गरिने उक्त कार्यक्रमको संयोजकमा एमाले नेता घनश्याम भुसाल र उपसंयोजकमा माकेका राम कार्की रहेको भनिएको छ । राम कार्की भन्दछन्, ‘हामी ५ दिन देशभरका ३ सय ५० जना तन्नेरी युवालाई माक्र्सवादको विषयमा प्रशिक्षण दिंदै छौ ।’ यसका लागि कारण भनिएको छ– पछिल्लो पुस्ताका युवा माक्र्सवादी मूल्य, मान्यता र दर्शनबाट विचलित हु“दै गइरहेको गुनासो आइरहेको बेला कम्युनिस्ट मूल्य, मान्यता र संस्कृतिको खोजीका लागि वैचारिक बहस गर्न लागिएको मूल समारोह समितिका अर्का एक जना सदस्यको भनाइ छ ।
यहाँ प्रश्न उठ्दछ, के सही मानेमा उनीहरूले भनेअनुसार पछिल्लो पुस्ताका युवा मात्रै माक्र्सवादी मूल्य, मान्यता र दर्शनबाट विचलित हुँदै गइरहेको हो त ? माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा यी दोस्रो पुस्ताका नामधारी माक्र्सवादीहरू स्वयम् के माक्र्सवादी मूल्य, मान्यता र दर्शनबाट विचलित भएका छैनन् ? यसले के स्पष्ट पार्न मद्दत गर्दछ भने यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई भन्दा ती तथाकथित बुद्धिजीवीहरू, जसले आफूलाई दोस्रो पुस्ताका नेताहरूमा वर्गीकरण गर्दै छन् र आफू माक्र्सवादी मूल्य, मान्यता र दर्शनबाट विचलित नभएको दाबी गर्दै छन्, उनीहरूले यसो गरेर व्यक्तिवाद र स्वार्थान्धतालाई प्रोत्साहन दिने काम गरिरहेका त छैनन् ? एउटा अहम् प्रश्न अगाडि खडा गरिदिएको छ । यसरी व्यक्तिवाद र स्वार्थान्धतालाई प्रोत्साहन दिएर कसरी ‘माक्र्सवाद’ को नयाँ बहस अगाडि जान सक्ला ? गम्भीर प्रश्न छ । यहाँ के स्पष्ट पार्नु आवश्यक छ भने यो प्रस्तावको लागि बोलाइएको पहिलो बैठकमा नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट यही स्तम्भकार र नेकपाबाट टीका कँडेल उपस्थित भएका थियौं । तर हामी दुई जनाले यसको अवधारणा, यसको प्रक्रिया र यसमा सहभागी दलहरूमाथि नै प्रश्न उठाएर बहिष्कार गरेका थियौं । सिद्धान्त, विचार, कार्यदिशा र मालेमामाथि नै काफी मतभेद भएका दलहरूका प्रशिक्षक र प्रशिक्षार्थी जम्मा गरेर गरिने यो नौटंकी सिवाय अरु केही हुन सक्दैन भन्ने हाम्रो ठम्याइ थियो र अहिले झन् यो स्पष्ट बन्दै छ । खासगरी नेपालको गत स्थानीय निर्वाचनपछि जनताको नजरमा पनि स्पष्ट देखिने गरी नेपाली कांग्रेस, राप्रपा तथा अन्य पुँजीवादी तथा सामन्तवादी पार्टीभन्दा भिन्न देखिन नसकेका कम्युनिष्टहरू अब कसरी भिन्न देखाउने कसरतमा लागेका छन् । यस्तो कसरत आफैमा गलत होइन । तर यसको उद्देश्य भ्रम– कम्युनिस्ट नेताहरूमा पुस्तान्तरको प्रश्नमाथि खडा गरिएको स्पष्ट छ ।  [email protected]

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here