विमानस्थलबाटै ओलीको चेतावनी

160

काठमाडौं ÷ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक चरित्र देखाउन सबै दलहरूलाई अनुरोध गर्नुभएको छ । ओलीले एमालेलाई मुलुकका जुनसुकै ठाउँमा जानबाट कसैले रोक्न नसक्ने भन्दै रोक्न खोजिन्छ भने एमाले प्रतिकारमा उत्रिने तयारीमा रहेको चेतावनी दिनुभएको छ ।
स्वास्थ्य उपचारपछि थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले शान्तिपूर्ण कार्यक्रममा अवरोध गर्न खोज्नु गैरकानुनी र हिंसात्मक गतिविधि भएको जनाउनु भयो । गत मंगलबार जनकपुरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएको अगुवा कार्यकर्ता भेलामा राजपा कार्यकर्ताले ढुंगामुढा गरेकोतर्फ इंगित गर्दै अध्यक्ष ओलीले निषेधको राजनीति गर्न खोज्नु निकै दुःखद् भएको प्रतिक्रिया दिनुभयो । ओलीले भन्नुभयो– ‘अब एमाले पनि प्रतिवादमा उत्रिए के हुन्छ ?’ यद्यपि आफूहरू हिंसात्मक गतिविधिमा नउत्रिने ओलीको भनाइ थियो । ओलीले जनकपुरमा भएको घटना एमालेको कार्यक्रममाथि व्यवधान मात्र होइन, आक्रमण गर्ने सुनिश्चित योजना रहेको दावी गर्नुभयो । राजपालाई राजनीतिक व्यवहार देखाउन ओलीले सुझाव दिनुभयो ।
सरकारले निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको बारे प्रतिक्रिया जनाउँदै ओलीले दुई चरणमा गर्नु आवश्यक नरहेको तर्क प्रस्तुत गर्नुभयो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा (मंसिर १० र २१ गते) गर्ने सरकारको निर्णयको ओलीले विरोध गर्नुभयो ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here