महिलाप्रति धर्म र व्यवहारमा किन फरक ?

286

राज्यलक्ष्मी शाक्य

नेपालीहरूको प्रमुख चाड दशैंको आगमनसँगै अहिले सबैको आँगनमा खुशीयाली छाएको छ । हिन्दू धर्मसँग जोडिएको यो चाड अहिले नेपालीहरूको मनमनमा बस्न पुगेको छ । हिन्दू धर्ममा देवतासँगै देवीहरूलाई पनि प्रमुख स्थान दिइएको छ । हिन्दूहरूले पूजा गर्ने पाञ्चायन देवतामा पनि देवीको प्रमुख स्थान छ । तिनै देवीहरूको आराधना गर्ने चाडका रूपमा दशैंलाई लिने गरिन्छ । दशैंमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । घटस्थापनादेखि पूर्णिमासम्म देवीको आराधना र पूजा गरिन्छ । यो बीचमा आफ्ना वरपरका देवीस्थानमा दर्शन तथा पूजा गर्ने परम्परा छ ।
हिन्दू धर्ममा देवीलाई महत्व दिएर महिला जातिको सम्मान गरेको पाइन्छ । तर, त्यही धर्मलाई अवलम्बन गर्ने हामी पूर्वीय सभ्यताका धनीहरू भने महिलालाई त्यतिधेरै सम्मान दिन जान्दैनौं । यद्यपि, इतिहासदेखि नै महिलाले कुनै अवसर नपाएको भन्ने होइन । तर, केही महिलाले पाएको अवसरलाई सबै महिलाले पाएको रूपमा तुलना गर्नुहुँदैन भन्ने पंक्तिकारको भनाइ हो । हाम्रो समाजको मनोविज्ञान बुझ्ने हो भने यहाँ पितृसत्तात्मक सोच हावी छ भन्ने कुरामा विद्वत्जनको पनि कुनै दुईमत नहोला । जबकि हामीले मान्ने धर्ममा भने त्यस्तो कुनै भेदभाव देखिँदैन । अझ नारी शक्तिलाई पुरुषशक्तिभन्दा पनि ठूलो मान्ने गरिन्छ । ब्रह्मा, विष्णु तथा महेश्वरजस्ता त्रिदेवले पनि देवीको ध्यान गर्ने गरेको र सहयोग मागेको प्रसंग दुर्गासप्तशतिमा उल्लेख भएको पाइन्छ । तर, त्यसलाई हामीले धर्म र शास्त्रमा नै सीमित राखेको हाम्रो समाजको अवस्था हेर्दा बुझ्न सकिन्छ ।
दशैंलाई रिस, राग, दम्भ, अहंकार जस्ता मानव विकारलाई बलि दिने र शान्ति, सत्य र दैवी शक्तिमा विश्वास गर्ने पर्वका रूपमा लिइन्छ । तर, हाम्रो समाजमा यी विकारहरू बढ्दै गएका छन् । चाडपर्वका वास्तविक सन्देश हामीले भुल्दै गएका छौं । बरु भौतिक सुखसुविधा र क्षतिका आनन्दको पछि दौडिरहेका छौं । खानपिन र रमाइलोलाई मात्र हामीले आफ्नो उद्देश्य बनाइरहेका छौं । चाडपर्वको आफ्नै सन्देश हुन्छ । त्यसलाई हामीले बुझ्न जरुरी छ । दशैं किन मनाइन्छ ? यसको महत्व के हो ? यस्ता चाडपर्वबाट हामीले के सिक्ने ? भन्ने प्रश्नहरू हामीले सोच्न नै छाडिदिएका छौं । त्यसकारण पछिल्लो पुस्ता हाम्रो चाडपर्वबाट विमुख हुँदै गएका छन् । त्यो पक्षलाई पनि ध्यान दिएर हाम्रा पुस्तालाई चाडपर्वबारे जानकारी दिनु आवश्यक देखिएको छ ।
अर्को कुरा, दशैंमा हामी देवीहरूको पूजा गर्छौं, तर व्यवहारमा भने महिलालाई जुन सम्मान दिनुपर्ने हो त्यो दिने गरेका छैनौं । हाम्रो गराइ र भनाइमा फरक हुँदै आएको छ । महिलालाई पुरुषभन्दा कमजोर सोच्ने वा उनीहरूलाई स्वतन्त्रता, सहयोग नदिने जस्ता व्यवहार अझै पनि हाम्रो समाजमा विद्यमान छ । हाम्रो देशका ग्रामीण भेगमा अझै पनि महिलाहरूको अवस्था दयनीय छ । उनीहरूलाई पुरुषको इच्छाअनुसार चल्नुपर्ने अवस्था छ ।
छोरा र छोरीमा पनि अझै भेदभावको दृष्टिकोण विद्यमान नै छ । महिलालाई अघि बढ्न खोजे सहयोग नगर्ने परिपाटीले थुप्रै महिलाले आत्मविकास गर्न सकेका छैनन् । उनीहरूलाई अझै पनि कमजोर र घर सम्हाल्ने पात्रको रूपमा सोचिन्छ । यस्ता खालका सोच र प्रवृत्ति निर्मूल नभएसम्म महिलाले चाहना गरेको समानता, स्वतन्त्रता र उन्नति सम्भव छैन । दशैंमा जसरी दैवी शक्तिको महत्वबोध गरिन्छ । देवीको पूजाआराधना गरिन्छ । त्यसरी नै महिलालाई पनि सम्मान र सहयोग गर्न आवश्यक छ । महिलालाई सम्मान व्यवहारबाटै देखिन जरुरी छ । यो किन पनि आवश्यक छ भने महिलाहरू हाम्रो समाजमा पछाडि परेका छन् । पछाडि परेका महिलाहरूलाई घरेलु हिंसाले थप पीडित बनाइरहेको छ । घरेलु हिंसाका कारणबाट महिलाहरू अगाडि बढ्न सकिरहेका छैनन् । चाडपर्वहरूले दिएको शिक्षा ग्रहण गर्न नसकेकै कारणबाट यो स्थिति आएकोे हो भन्ने कुरालाई मनन गरी सामाजिक संस्कारमा महिलाहरूको अग्रसरतालाई ध्यान दिनु जरुरी छ । [email protected]

जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here