सबै छिमेकीलाई मित्र बनाउने हाम्रो चाहना हो : परराष्ट्रमन्त्री

92

काठमाडौँ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको परराष्ट्र नीतिमा समयानुकूल परिमार्जन तथा सुधारका लागि विशेष छलफल सुरु गरेको छ।

छलफलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपालमा ती मुलुकको स्वार्थ र नेपालको स्वार्थ विषयमा प्रष्ट पारेका थिए। सबै राजदूतले ती मुलुकले नेपालमा शान्ति र स्थायित्व होस् तथा नेपालका कारण आफूहरूलाई सुरक्षा धम्की नरहोस् भन्ने चाहेको जानकारी दिए।

छलफलमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल विगतमा भनिए जस्तो दुई ढुंगाको तरुल नभई अब दुई समृद्ध ठूला देशको बीचमा रहेको एउटा हीरा भएको विचार व्यक्त गर्दै आर्थिक समृद्धि नै अहिलेको मुख्य विषय भएको बताए। परराष्ट्रमन्त्री महराले भने, “हामी सबै छिमेकीलाई मित्र बनाउन चाहन्छौँ, कसैको दुश्मन बन्न चाहँदैनौँ, हामी राष्ट्रिय स्वार्थका लागि सबैसँग सहयोग लिएर समृद्ध मुलुक बनाउन चाहन्छौँ।”
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले राष्ट्रिय स्वार्थका लागि विश्वसनीय तरिकाले परराष्ट्र नीति अबलम्वन गर्नुपर्ने बताए। उनले सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को नीति अवलम्वन गर्न नहुने बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वार्थका हुनुपर्ने र दलीय स्वार्थका लागि हुन नहुने बताए। पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, डा रामशरण महत, सुजाता कोइराला र महेन्द्रबहादुर पाण्डेले मुलुकको आर्थिक समृद्धि नभएसम्म अन्तर्राष्ट्रिय रुपमा प्रभाव र विश्वास बढाउन नसकिने बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गरे। उनीहरुले दुवै छिमेकीलाई उत्तिकै महत्व दिएर राष्ट्रिय स्वार्थका साथ परराष्ट्र नीति अबलम्वन गर्नुपर्ने बताए।

भारतका लागि नेपाली राजदूत उपाध्यायले विभिन्न विषयमा नकारात्मक टिप्पणी गर्नुभन्दा पनि यथार्थ, वस्तुपरक र आपसी हितका विषयलाई प्राथमिकता दिएर दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन जरुरी रहेको उल्लेख गर्दै परराष्ट्र मामिलामा सबै राजनीतिक दल एकमत हुनुपर्ने बताए।

चीनका लागि नेपाली राजदूत पौड्यालले नेपालले चीनको प्रगतिबाट पाठ सिकेर आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउँदै आन्तरिक विषयलाई समाधान गर्दै चीनलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए।
अमेरिकाका लागि नेपाली राजदूत डा कार्कीले अमेरिका नेपालको प्रजातन्त्र र समृद्धिका पक्षमा निरन्तर सहयोग गर्न तयार रहेको आफूले पाएको बताए। समितिका सभापति जुठबहादुर खड्गीले चरणबद्ध छलफलपछि आएको निष्कर्षलाई सरकारसमक्ष पेश गरिने जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here