डा. दीपेन्द्र रोकाया
एक जना सिद्धान्तकारले एउटा क्रान्ति पूरा गर्न करिब २४ राउण्ड लाग्ने तर्क गरेका थिए । त्यसलाई आधार मान्ने हो भने नेपालमा लोकतान्त्रिक क्रान्ति पूरा हुन लाग्दै छ । त्यसले आउँदो संघ र प्रदेश निर्वाचनमार्फत बनाउने सरकारबाट कार्यान्वयन गरेको देख्नपर्ने अवस्था आएको छ । यसै निर्वाचनको मुखमा एकातिर नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिको वाम एकता तथा नेपाली काँग्रेसलगायतको लोकतान्त्रिक मोर्चाबन्दीले समाजवादी क्रान्तिको आधार तयार गर्दै छन् । यो समाज विज्ञानमा परिवर्तनको सूचना हो । यसैले नयाँ परिस्थितिको स्वागत गर्ने बेला आएको छ ।
नेपालको विकास र स्थायित्वको लागि विज्ञहरूले नेपाली समाजमा जति धेरै विविधता देखेका छन्, त्यति धेरै संघीयताको आधार बनाउँदै आएका थिए र छन् । विश्वमा २९ वटा संघीयता अवलम्बन गर्ने देशहरूमध्ये २१ वटा मुलुक शक्ति राष्ट्रहरूका उपनिवेश खेपेका मुलुक हुन् । बाँकी आठवटा देश स्थापनाकालदेखि नै स्वतन्त्र थिए । हामी यो वा त्यो रूपमा संघीयतामा गइसकेका छौं । यसले राजनीतिक रूपमा नेपाली समाजमा जागरण ल्याएको छ । मानौं, राजनीतिक रूपमा क्रान्तिकारी मोडहरू नयाँनयाँ तरिकाले देखापर्न थालेको छ ।
भदौ अंकमा यस पंक्तिकारले स्वाभिमान राष्ट्रिय मासिकमा किन अगाडि बढ्न सकेन कम्युनिष्ट आन्दोलन ? भनी लेख्दा नेपालमा ७० प्रतिशत कम्युनिष्ट छन्, तर उनीहरूको नेतृत्व गर्छु भन्ने ठुला नेताहरू एक भई जनताको सपना पूरा गर्ने दिशामा लागेका छैनन्, यो भन्दा ठूलो विडम्बना के हुन सक्छ ? भनेको थिएँ । यसो त शीर्ष नेतृत्वमा इमान्दारी भएको भए यतिबेला वामदेव गौतमको नेतृत्वमा सरकार सञ्चालन भइरहेको हुँदो हो भन्ने कथनीसहित कम्युनिष्ट आन्दोलनको उतारचढावको कथा कोरिएको थियो । यो कुरा सिंगो कम्युनिष्ट आन्दोलनको एकता होस् भन्ने उद्देश्यबाट अभिप्रेरित भई लेखिएको थियो ।
असोज १७ गते आइपुग्दा यो कथाले मूर्तरूप लियो । म हुम्लामा थिएँ । खुशी लाग्नु स्वाभाविकै थियो । अब यसले राजनीतिक स्थिरताका लागि पनि निर्णायक काम गर्नेछ । नेपाली जनताले दुःख गरी आज्र्याको अन्नलाई मुसाबाट (श्रमचोर वर्ग) बचाउन आवश्यक छ, त्यसका लागि नेपाली जनतालाई अहिले बिरालो सेतो होस् वा कालो मतलब छैन, मुसा मरे भयो । यो स्थितिमा पुग्नका लागि प्रचण्ड र केपी ओलीले आफ्नो पार्टी विघटन गरी नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्न तयार हुनु पनि राजनीतिक क्रान्ति हो । यसले सैद्धान्तिक बहस नयाँ धरातलमा उभिएर गर्नपर्ने बनाएको छ । यसको परिणाम अर्को धु्रव पनि खडा भइरहेको छ । यसले राजनैतिक तरलतालाई सङ्ल्याउन सघाउने देखिएको छ ।
अहिले जे जस्तो परिवेश तथा परिस्थिति निर्माण भएको छ, त्यसको जिम्मेवार राजनीतिज्ञहरू हुन् र उनीहरूकै कारण देश लथालिङ्ग छ भन्ने धारणा सबैसँग रहेको पाइन्छ । यसैले जहाँ जाँदा पनि, जस्तोसुकै स्थानमा पनि राजनीतिक प्रसंग चल्दछ । दलहरू र तिनका नेता कार्यकर्ताहरूलाई अचानोमा राखेर आलोचना हुने गर्दछ । ती आलोचनालाई गम्भीर रूपमा लिने हो भने नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भनेझैं आत्महत्या गरुँजस्तो स्थितिमा पु¥याएको पाइन्छ । धन्न हाम्रा नेताहरू विना हजमोला हरेक खालका आलोचना पचाइरहेका छन् । त्यसको मार राजनीतिक आस्थाका आधारमा भूईस्तरका कार्यकर्ताहरूले खेपिरहेका छन् ।
हाम्रा शीर्ष नेताहरू कालो सिसा हालेको पजेरोमा सुरक्षा गार्डसहित हिँडडुल गर्नाले त्यस्ता आलुपाँडे गाली सुन्न पाउँदैनन्, तिनका सचिवालयमा कतिपय आलोचना नपुग्ने होइन, तर आफ्नो नेताले आलोचना सुन्नुभन्दा प्रशंसा सुन्न रुचाउने प्रवृत्ति बढेको अवस्थामा यस्ता खबर सुनाएर फाइदा नहुनेदेखि सही सूचना सही ठाउँमा पुग्नै पाउँदैन । परिणामस्वरूप एकातिर सही सूचना नेतृत्व तहमा पुग्न पाउँदैन, अर्कोतिर बादशाह नाङ्गो देख्ने अबोध बालक मात्र हुने स्थिति आउँछ । सबै विषयमा आफैँ जान्ने देखिन पुगेका छन् । उनीहरूलाई विषयविज्ञको खाँचो पर्दैन । यो देशमा यस्तै हुनाले बुद्धत्वभन्दा मूर्खतामा विश्वास गर्ने कार्य हुन थालेको छ । यिनै नेताहरूको कारण देश बिग्रियो भनेर हरेक जनताले भन्न पुग्दा कोही कसैले पनि सम्माननीय होस् या माननीय, उनीहरूलाई आम रूपमा घृणा पैदा गराउने संस्कृति निर्माण हुँदै छ ।
यो पृष्ठभूमिमा संघ र प्रदेशको निर्वाचनका लागि टिकट लिन चाहनेहरूको दौडधूप बढिरहेको छ । कार्यकर्ताहरूको चासो पनि त्यही रूपमा बढ्दो छ । जनताले पनि चाहेको नेताले टिकट पाउँछ कि पाउँदैन हेरिरहेका छन् । यो चासो हरेक मतदाताले गर्न थालेका छन् । मैले गाउँघरमा पुगेर हेर्दा के देखेँ भने उनीहरू विगतको समीक्षा गरिरहेका छन् । वर्तमानको लेखाजोखा गरिरहेका छन् । भविष्यको आँकलन गर्दै छन् । यसमा भन्नैपर्ने कुरा के छ भने राजनीति कमाउने पेशा होइन, आएका चुनौतीको व्यवस्थापन गर्ने हो । नयाँ नयाँ सम्भावना देखाउने हो । राजनीति गर्ने भनेको हरेक तहको कुशलतापूर्वक व्यवस्थापन गर्ने हो । तर त्यस पवित्र विषयलाई एक गिलास रक्सी, एक दुई छाक मासुभात तथा केही हजारका नोटमा विक्री गर्ने विषय बनाउनेहरूलाई नाङ्गेझार पार्नै पर्छ । यसका लागि अबको डेढ महिना आम कार्यकर्ता, एकदिन आम जनसमुदाय र पाँच वर्ष स्वयं उम्मेदवारको परीक्षा लिन आवश्यक छ । –जनधारणा साप्ताहिकबाट