चुनावमा सुरक्षा खतरा, सेनाको भरोसामा दलहरू

138

काठमाडौं / आसन्न चुनावलाई लक्षित गरी बम विस्फोटका घटनाहरू बढेपछि सरकारले नेपाली सेनालाई विशेष सक्रिय बनाउने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न सरकारलाई सुझाएका छन् । निर्वाचन आयोगमा मङ्गलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा प्रमुख आयुक्त यादवले निर्वाचनको मौन अवधि सुरु भएपछि थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिए ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले सु्रक्षा निकायले तयार गरेको सुरक्षा योजनालाई थप सक्रियताका साथ कार्यान्वयन गर्न सुझाव दिए । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सुधीरकुमार शाहले सुरक्षा खलबल्याउन प्रयत्न गर्नेलाई कानुनअनुसार कारबाही गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने र राजनीतिक दलले समेत सुरक्षा कार्यमा सहयोग पु¥याउनुपर्ने धारणा राखेका थिए ।
अहिलेको सुरक्षा प्रबन्ध र कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको भए पनि सुरक्षा निकायहरू थप चनाखो भई कार्यक्षेत्रमा खटिनुपर्नेमा उनको जोड थियो । आयुक्त शाहले बैठकमा सुरक्षा प्रबन्धको समीक्षा गरिएको र निर्वाचन बिथोल्न खोज्ने कुनै पनि व्यक्ति, शक्ति र समूहलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न निर्देशन दिइएको जानकारी गराए ।
आयुक्त शाहले राज्यको उपस्थिति देशभर प्रत्येक स्थानमा रहेको जानकारी दिँदै बिनाडरत्रास, भयरहित वातावरणमा मतदान केन्द्रमा मतदाता पुग्ने र सकुशल फर्कने जनाए । सरकारले आगामी निर्वाचनका लागि सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीसमेत गरी दुई लाख ७२ हजार जनशक्ति परिचालन भइसकेको जानकारी गराएको छ । त्यसैगरी प्रमुख निर्वाचन आयुक्त यादवले ४५ जिल्लामा अनुगमनमा खटिएका सहसचिवलाई घटनास्थलमै समस्याको समाधान गर्न निर्देशन दिए । निर्वाचन आयोगलाई भन्दा अनुगमनकर्तालाई बढी अधिकार प्रदान गरेर शक्तिशाली बनाएर पठाइएकाले आफ्नो कार्यक्षेत्रमा गएर समस्याको समाधान निर्वाचन कसुर सजाय ऐनअनुसार गर्न पनि यादवले सुझाए ।
दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुखका लागि आयोगमा एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आयोगले जनाएको छ । आयोगले सरकारका सहसचिवस्तरका ७५ जना मुख्य अनुगमनकर्तालाई आजदेखि यही मंसिर २३ सम्म विभिन्न जिल्लामा अनुगमनका लागि खटाइएको जनाइएको छ । निर्वाचन आचारसंहिता पालना गराउन जोड दिंदै प्रमुख आयुक्त डा.यादवले सरकारी सम्पत्तिको दुरूपयोग नहोस् र आयोगले तोकेको सीमाभन्दा बढी खर्च गर्ने उम्मेदवारको निगरानी राख्न पनि निर्देशन दिए ।

 

यसैबीच राष्ट्रिय सुरक्षा परिषद्को बैठकले बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी करबाहीको प्रक्रियामा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिंदै जाँदा सार्वजनिक तथा उम्मेदवारका घरमा बम विस्फोटका घटना बढेपछि परिषद् बैठक बसेको जनाइएको छ ।
बैठकले शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाउन चारवटै सुरक्षा निकायलाई र्दिेशन दिएको छ । बैठकमा रक्षामन्त्री भीमसेनदास प्रधान, मुख्य सचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, रक्षासचिव विनोद केसी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीको उपस्थिति रहेको थियो ।                       (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here