एक अवधि पूर्ण बहुमतको सरकार सुमर्ने नेपाली चाहना पूरा होला त ?

134

चन्द्रप्रकाश बानियाँ

पहिलो चरणको संसदीय निर्वाचन सम्पन्न भएको छ । झण्डै आधा भन्न मिल्ने जिल्लाहरूमा निर्वाचन सम्पन्न भैसकेको भए पनि संघीय संसदका ३७ र प्रदेशसभाका जम्मा ७४ सिटको लागि मात्र निर्वाचन भएको हो । परिमाणका दृष्टिले यो संख्या कुल सिटसंख्याको एक चौथाइभन्दा पनि कम हो । ठूलो संख्याको संसदीय सिटको लागि निर्वाचन हुन बाँकी रहेको हुनाले निर्वाचन परिणाम कुन पार्टी वा गठबन्धनको पक्षमा जान्छ भनेर अनुमान गर्नु हतारो हुन्छ । यद्यपि हिमाली र उच्च पहाडी जिल्लामा भएको निर्वाचनमा देखिएको मतदाताको पक्षधरता र बाँकी रहेका शहरी तथा मधेसी मतदाताहरूको पक्षधरताको प्रवृत्ति एकै खालको रहन्छ भन्न मिल्दैन । पहाडी जिल्लामा बसोबास गर्ने मतदाताहरूको अधिमत बाकसमा सुरक्षित भइसकेको छ । खसेको मतको आधारमा कुनै खालको मत सर्वेक्षण गर्नु आचारसंहिता विरुद्ध हुन्छ भनेर निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेको छ । तैपनि घरआँगन, चोकचौतारीतिर जनताको मतरुझानको अनुमान आँकलन हुन थालेको छ । त्यस्ता अनुमानहरूमा सत्यताको प्रतिशत कति होला भनेर किटान गर्न नसकिए पनि कममसेकम मतदाताका रोजाइ र पक्षधरताको आधारमा मतपरिणामको अनुमान हुने नै भो । दुई गठबन्धनबाहेक अन्य दलहरूको प्रभाव पहाडी क्षेत्रमा नगण्य रहेको हुनाले यी जिल्लाहरूमा प्रतिस्पर्धा स्वभावतः दुई गठबन्धनबीच नै थियो । वाम गठबन्धनमा सम्मिलित दलहरूले एक्लाएक्लै प्राप्त गरेको मतको कुलयोगको आधारमा लोकतान्त्रिक गठबन्धनभन्दा त्यो पक्ष निकै बलियो हुनुपर्छ भन्ने अनुमान गर्ने गरिन्थ्यो । तर त्यो अनुमान विश्लेषण उति भरपर्दो रहेनछ भन्ने कुरा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले अनुमान र अपेक्षा गरेभन्दा राम्रो मत प्राप्त गरेको विश्लेषण समाजमा हुन थालेबाट स्पष्ट हुन्छ । हुन पनि त्यस्तो गणना भरपर्दो त थिएन नै । किनकि एमाले, काँग्रेस र माओवादीले स्थानीय निर्वाचनमा प्राप्त गरेको मत एकलौटी थिएन । त्यो मतसंख्यामा धेरथोर अरुको समर्थन थपिएको थियो । अधिकांश पहाडी जिल्लाहरूमा त्रिपक्षीय भीडन्त भएकै थिएन । माओवादीको मतमा काँग्रेस मिसिएको थियो । एमालेको मतमा राप्रपा मिसिएको थियो । काँग्रेसको मतमा माके समर्थनको मिसावट थियो । अर्थात् स्थानीय निर्वाचनमा पार्टीहरूको खातामा परेको मत एकलौटी समर्थनको थिएन ।

 
निर्वाचनपूर्व प्रथम चरणमा हुने ३२ पहाडी जिल्लाको निर्वाचनमा वाम गठबन्धनले सिनित्त बढार्छ भन्ने अनुमान गरिन्थ्यो । निर्वाचनपछि भने परिस्थिति फरक रहेको अनुमान गर्न थालिएको छ । निर्वाचनपूर्व नेपाली काँग्रेसको जसरी सातो हराएको हतास मनस्थिति देखिन्थ्योे मतपरिणाम भने त्यस्तो नआउने अनुमान र चर्चा गाउँँठाउँतिर हुन थालेको छ । मतपरिणाम राजनीतिक दलहरूले अनुमान गरेभन्दा फरक रहेको र काँग्रेसलेको अपेक्षा गरेभन्दा निकै राम्रो हुने चर्चा चोकतौचारी गफको विषय हुन थालेको छ । त्यसैले पहाडमा देखापरेको अनपेक्षित परिस्थिति दोस्रो चरणको निर्वाचनमा पनि यथावत् रहने हो भने वामगठबन्धनले सुविधाजनक बहुमत प्राप्त गर्नेछ भन्ने अनुमान गलत सावित नहोला भन्न सकिने अवस्था देखिदैन । कथम् कदाचित् बहुमत हासिल भैहाल्यो भने पनि त्यो निकै साँघुरो हुनेछ । तत्काल त्यस्तो सम्भावनाका लक्षणहरू नदेखिएका भए पनि मधेसमा अझै पनि नेपाली काँग्रेस र मधेसी दलहरूबीच तालमेल भयो भने वामपन्थी गठबन्धनको एकलौटी सरकार बन्ने सपना नतुहिएला भन्न सकिन्न ।
वाम गठबन्धनभन्दा निकै पछाडि रहे पनि पहाडी जिल्लाहरूमा लोकतान्त्रिक गठबन्धनले अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्नुको कारण के होला भन्ने विषयमा कोठे अनुमानहरू हुन थालेका छन । त्यसको एकमात्र कारण माके एमालेको एकता हो भन्ने मानिसहरूको भनाइ रहेको देखिन्छ । ती दुई पार्टीबीचको चुनावी एकतालाई नरुचाउने पक्ष दुवै पार्टीहरूमा थियो र त्यो बिच्कियो भन्ने कुरामा विश्लेषक पर्यवेक्षकहरूको मतैक्यता रहेको देखिन्छ । स्थानीय निर्वाचन अघिसम्म नेपाली काँग्रेसलाई समर्थन गर्दै आएको एउटा विशेष वर्गले पछिल्लो निर्वाचनमा एमालेलाई मत दिएको थियो । त्यो वर्ग यसपटक फेरि काँग्रेसतिर फर्किएको अनुमान गरिएको छ । राणाकालदेखि सत्ताको वरिपरि घुम्ने र राज्यबाट लाभ लिँदै आएको सभ्रान्त वर्ग अर्थात् सेना, प्रहरी र कर्मचारीतन्त्र मधेशविरोधी अडानका कारणले एमालेलाई आफ्नो वर्गस्वार्थको रक्षक ठानेको थियो । त्यो वर्गले स्थानीय निर्वाचनमा समर्थन गरिदिएको हुनाले पहिलो र दोस्रोचरणको निर्वाचनमा एमालेको स्थिति राम्रो देखिएको थियो । यसपटक माओवादी केन्द्रसँगको गठबन्धनपछि त्यो वर्ग सशंकित हुन गयो । बर्खायामको सानो खहरेलेले ठूलो नदीलाई धमिलो बनाएजस्तै जनजाति र मधेसमैत्री छवि बनाएको माकेको संगतले एमाले पनि रंगियो भने आफ्नो स्वार्थमा धक्का लाग्ने अनुमान त्यो वर्गले गरेको हुनाले यसपटक मतपरिवर्तन ग¥यो भन्ने अनुमान गर्न थालिएको छ । दुरुस्त उही कारणले अर्को पक्ष माओवादी केन्द्रबाट बिच्कियो । अपेक्षाकृत ठूलो पर्टी एमालेमा विलय हुन गएपछि माके पुरानो मान्यताबाट पलायन भएको अनुमानले माकेप्रतिको विश्वास र सहानुभूति टुटयो । ‘एउटा ढुंगाले दुईवटा चरा मार्ने’ भनेजस्तो एउटै विषयले माके एमाले दुवै पार्टीप्रतिको समर्थन घटायो । त्यही कारणले नेपाली काँग्रेसलाई लाभ मिल्यो भनेर अनुमान गर्न थालिएको छ ।
जुन कारणले पहाडी जिल्लाहरूमा माके एमालेको मत कटौती हुने परिस्थिति निर्माण भयो त्यही कारण मधेशमा पनि उत्तिकै प्रभावकारी हुनसक्ने सम्भावना प्रबल बन्दै गएको छ । उदाहरणको निमित्त नेपालका एकमात्र अर्बपति चौधरीको पक्षपरिवर्तनलाई लिन सकिन्छ । उद्योगपति, व्यापारी कर्मचारीहरूको नितान्त निजी स्वार्थरक्षाको स्वाभाविक अपेक्षाका कारणले एमालेलाई ठूलो घाटा पु¥याउन सक्ने सम्भावना इन्कार गर्न मिल्दैन । अर्कोतिर पछिल्लो समय माओवादी केन्द्रमा विकसित हुनथालेको सम्भावित मधेशविरोधी मान्यताले नेपाली काँग्रेस र मधेशवादी दलहरूलाई फाइदा पु¥याउने छ । अर्को स्मरणीय पक्ष के पनि रहेको छ भने खासगरेर, मधेसमा बिकाउ मतको संख्या पनि ठूलो रहने गरेको छ । स्वभावतः त्यो मत खरीदविक्री हुन्छ र काँग्रेसको हातमा विक्री हुदै आएको परम्परा छ भन्न धक मान्नु पर्दैन । मतको खरीदविक्री धन्दाबाट वाम गठबन्धन पनि अछुतो रहला भन्न त सकिन्न तर दुई चार पैसा महङ्गो सहङ्गो जे भए पनि सधैं हातेउधारो गर्दै आएको साहुलाई ग्राहकहरूले नछोडेजस्तै त्यो मतले काँग्रेकै हातमा विक्री हुन रुचाउँनु स्वाभाविक हो । अर्कोथरि मत सीमापारिबाट निर्देशित हुने गरेको कुरा पनि तीतो यथार्थ हो । उताको इशारा यसपटक एमालेको पक्षमा नरहने कुरा निश्चितजस्तै देखिन्छ । त्यसले पनि वाम गठबन्धनको मत प्रभावित हुनेछ । त्यसैले सम्भावित निर्वाचन परिणामलाई लिएर वाम गठबन्धनमा देखिएको अति उत्साह र नेकामा विकसित भएको हतोत्साह दुवै धरातलीय यथार्थमा आधारित छन् भन्न सकिन्न ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here