प्रचण्ड कमरेडलाई सम्झना होला कि नहोला ?

261

डा. दीपेन्द्र रोकाया

तत्कालीन नेकपा (माओवादी)को राष्ट्रिय भेला २०६५ मंसिर १ देखि ११ गतेसम्म भक्तपुरको खरिपाटीमा सम्पन्न भएको थियो । भेलाकै पहिलो दिन केही समय पहिले रेडस्टारमा छापिएको नेत्रविक्रम चन्द ‘विप्लव’को लेख जनदिशामा छापिएको थियो । लेखले तहल्कै मच्चाएको थियो । भोलिपल्टको अंकमा असावधानीवश प्रकाशित भएकोमा क्षमायाचना गरेर सूचना प्रकाशित गर्नुपरेको थियो । मान्छेको मन विभाजित पारेकै थियो, त्यो लेखले । केही समयपछि एक बिहान महेश्वर दाहाल, गोविन्द आचार्य, चन्द्रमान श्रेष्ठ, चेतन कुँवर र म बालुवाटार गयौँ । गोविन्दले चेतनलाई सँगै ल्याएको विषयलाई लिएर बालुवाटार पुग्नेबित्तिकै मेरो स्पष्टीकरण लिनुभयो । वास्तवमा चेतन हाम्रो प्रबन्ध सम्पादक भएकाले मैले सँगै लगेको थिएँ । कुराकानीका क्रममा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई यही तालले चलाउने हो भने बन्द गरे हुन्छ भन्नेमा कुरा केन्द्रित हुन थाल्यो । मैले हामी रहौँ या नरहौँ, पत्रिका कुनै पनि हालतमा बन्द गर्न नहुने तर्क राखें । अध्यक्ष कमरेड प्रचण्डले महेश्वर दाइतर्फ केन्द्रित भएर पत्रिका कुनै पनि हालतमा बन्द गर्न नहुने र खास संघर्षका बेला आएको भन्दै कति रूपैयाँ भए अहिले चल्छ भन्नुभयो । चन्द्रमानजीले २५ लाख भए ६ महिना पुग्ने जानकारी गराउनुभयो । त्यहीअनुसार भरे, भोलि व्यवस्था गर्ने भनिएकाले तत्कालका लागि जनदिशा पत्रिका बन्द भएन । मैले यही भेटमा अध्यक्ष तथा त्यो बेलाका प्रधानमन्त्री प्रचण्डलाई खरिपाटी भेलामा ‘अध्यक्षको प्रतिवेदन सुविधामा द्विविधा व्यक्त भएको’ प्रसंग जोड्दै एउटा सुझाव दिएँ– हिजोआज तपाईं बरोबर ‘मैले’, ‘म’ र ‘मेरो’ भनेर भाषण गर्ने गर्नुहुन्छ । यी वाक्य पुँजीवादी प्रतिनिधिले बोलेजस्तो, एक्लो मान्छेले भनेजस्तो लाग्छ । तपाईं त हाम्रो पार्टीको अध्यक्ष, जनमुक्ति सेनाको सर्वोच्च कमान्डर र हाल गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री हुनुहुन्छ । तपार्इंले यस्तो वाक्य बोलेको सुहाएन । यसलाई सुधार्नुहोला । मेरो सुझाव सुनेर उहाँ गम्भीर देखिनुभयो तर कुनै प्रतिक्रिया दिनुभएन । साथीहरू मैले बडो सहजै पार्टी अध्यक्षलाई गम्भीर प्रकारको सुझाव दिएकोमा धेरै खुसी हुनुभयो ।
पार्टी अन्तर्विरोधले गर्दा पत्रिका बन्द हुने स्तरमा पुग्दा पनि बचायौँ । त्यतिबेलाको पैसाले करिब एक वर्ष चल्यो । चन्द्रमानजीको योजनामा आर्थिक आधार प्रकाशित भयो । मौखिक सहमतिमा परिवर्तन मिडिया प्रालि दर्ता भयो । यी दुईबाट भएको आम्दानीको मालिक चन्द्रमानजी हुनुभयो । सबैले विज्ञापन ल्याएर पत्रिका बचाएमात्र चल्छ होइन भने बन्द गरौँ भन्न थाल्नुभयो । उहाँलाई दैनिक पत्रिका सञ्चालन गर्नु झन्झट नै थियो । सम्पादन कार्यमा सिन्को योगदान थिएन । तीनजना सम्पादनमा रहेर पनि सम्पूर्ण जनशक्ति विज्ञापनमा पठाउन तयार भएँ तर यसो गर्दा पनि उहाँले भनेअनुसार प्रगति भएन । सम्पादक श्रेष्ठ बरोबर भन्नुहुन्थ्यो, ‘तपाईंले लेखेको समाचारले कति पैसा आयो ?’ उहाँ समाचारको मूल्य पैसामा नाप्ने गर्नुहुन्थ्यो । वास्तवमा समाचारको मूल्य पैसाभन्दा पनि समाज परिवर्तनका लागि कति उपयोगी भयो भनेर नाप्नुपर्छ । उहाँ आङ्खनो अनुकूल साथीहरूलाई आर्थिक सहयोग गर्ने गर्नुहुन्थ्यो । त्यसको असर सिंगो टोलीमा परिरहेको थियो ।
फेरि संकट आयो । पत्रिका बन्द हुने डेडलाइन तयार हुन थाल्यो । कार्यालयमा छलफल भयो । प्रकाशन अध्यक्ष, प्रधानसम्पादक, सम्पादकलाई पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न जानुप¥यो भन्यौँ । उहाँहरूले प्रकाशन विभाग प्रमुख दीनानाथ शर्मालाई जानकारी दिइसकेको जनाउँदै जाने भए तपाईंहरू जानुहोस् भन्न थाल्नुभयो । त्यसो भनेपछि मेरै नेतृत्वमा चेतन कुँवर, सन्तोष पौडेल, पुष्पराज आचार्य, दयानिधि भट्ट, ज्योति शर्मा, मनोज घर्तीमगर, अमृत उपाध्याय, दिनेश श्रेष्ठलगायत साथीहरू एकाबिहानै प्रचण्डनिवास नयाँबजारमा डेलिगेसन गयाँै । त्यतिबेला मैले टोली नेताका हिसाबले भनेँ– पत्रिका आर्थिक समस्याका कारण बन्द हुने भयो । पार्टीले प्रकाशनबारे सोच्दै सोचेको पाइएन । जसरी बाहिर लगानी भएको सुनिन्छ त्यस अनुपातमा पार्टीको केन्द्रीय सञ्चारमाध्यममा कुनै वास्ता नभएको अनुभव भइरहेको छ । यदि जनदिशाको टोलीमा पात्रहरूको समस्या लागेको छ भने टोली फेरेर भए पनि चलाउनुपर्छ । पत्रिका कुनै पनि हालतमा बन्द गर्नुहुँदैन । र, खरिपाटीमा मत राखेका आधारमा हेडक्वार्टरको तर्फबाट जनदिशालाई हेरिएको छ भने पनि छलफल हुनुपर्छ । साथीहरू जनदिशामा भविष्य छैन भन्न थालेका छन् । यदि पार्टीको भित्री मनसाय यही हो भने साथीहरूलाई कहाँ–कहाँ सेट गर्ने ? म जनदिशाको पार्टी सेक्रेटरी तथा कार्यकारी सम्पादक हुनुको नाताले मलाई यसको उत्तर चाहिएको छ । जनदिशामा खास काम गर्ने टोली यही हो । यो टोली पार्टी हेडक्वार्टरको मत, सुझाव र सल्लाह माग्न चाहन्छ ।
अरु थप छ कि ? भन्दै अध्यक्ष प्रचण्ड कमरेडले सबैतिर आँखा डुलाउनुभयो । सबैले काका (कार्यकारी)ले भन्नुभएको कुरा नै मुख्य भएको भनेपछि अध्यक्षको छोटो भनाइ आयो, ‘खरिपाटीको कुरा उतिबेलै सकिएको छ । हामी रूपान्तरण भएर यहाँ आइपुगेका छौँ । त्यस भ्रममा नपर्नुहोस् । जनदिशामा जति लगानी गरे पनि बालुवामा खन्याएजस्तो भएको छ । त्यसैले यो सहकारी मोडेलमा जाने कि ? अथवा के गर्ने भन्ने कुरा प्रकाशन विभागमा छलफल गरी टुंग्याउनुपर्छ । हामी छिट्टै बस्छौँ । दीनानाथजी र महेश्वरसँग आजै कुरा गर्छु । जनदिशा बन्द गर्नुहुन्न बरु यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ? विचार गर्नुपर्छ । तपाईंहरूले अरु नसोच्नुहोस् ।’ आज जनदिशा पनि हामीसँग छैन र त्यो शक्तिशाली माओवादी पार्टी पनि हामीसँग छैन । हामी कता जाँदैछौं ? आफैसँग यसको उत्तर पनि छैन । (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here