यस पटकको निर्वाचन र अनुमान

149

 डा. दीपेन्द्र रोकाया

यतिबेला सबैको ध्यान राजनीतिमा छ, कस्ले जित्ला र को पार्टीले बाजी मार्ला ? गठबन्धनमा के कति धोका हुन्छ ? नेताहरू कति इमान्दार छन् ? पहिलो चरणको निर्वाचन भइसकेको र दोस्रो चरणको निर्वाचन आज हुँदैछ । बजार हल्ला अनेक छन् । हल्ला जे जति होलान्, निर्वाचनको परिणामले अबको पाँच वर्षका लागि एक सेट तय गर्नेछ । त्यसपछि अहिलेका हल्लाहरूको निराकरण हुनेछ ।
नेताहरू जनताको घरमा जसरी पुगे, जे भने, तिनको परिक्षा लिने बेला आउने नै छ । तर अहिले जे जस्तो परिवेश तथा परिस्थिति निर्माण हुनुमा राजनीतिक नेताहरूको गैर जिम्मेवार ब्यवहार मुख्य कारण हो भन्ने अनुभूति जनजनलाई भइसकेको छ । यसैले जनताले आ–आफ्नै शैलीमा अभिब्यक्त गरेको पनि पाइयो । जेहोस् जनता जागेका छन् । जनताले चाह्यो भने परिस्थिति उल्ट्याउन सक्तछन् । तर जनताले यस पटक पनि पैसा र दलवल हेरी भोटिङ गर्ने मानसिकता देखाइरहेको पाइन्छ । यसमा शक्तिकेन्द्र र प्रशासनको प्रभावबाट फाइदा लिनेहरूको चलखेल त छँदैछ ।
राजनीति समग्र शासन प्रणालीको कमाण्डर तथा अभिभावक हो । त्यसमा मनपरीतन्त्र भयो भने नाम मात्रको लोकतन्त्रले केही पनि अर्थ दिदैन । यसैले पहिलो चरणमा भोट हालेकाले त हाली सके, अब दोस्रो चरणमा मतदान गर्नेहरूले विचार गर्नपर्ने पक्ष यो छ कि हामीले हाल्ने एक मतबाट के कस्तो शासन भोग्ने छौ ? को नेता आउँदा जनताको भलो हुन्छ ? यताबाट नाप्न जरुरी छ । हुन त हाम्रा नेताहरू सबै क्षेत्रका विज्ञ जस्ता देखिन्छन्, तर छेउ न टुप्पाको जस्तो भई प्रस्तुत हुने गर्दछन् । यस्तो परिवेशमा जनतामा प्रस्तुत भएका र गरिएका नेताहरूको अनुहारबाट स्पष्ट भयो कि नेपालका पार्टीहरू पुरानै शैलीमा छन् ।
यद्यपि परिस्थिति परिवर्तनशील छ । उनीहरूले नयाँ सोच राख्नै पर्ने हुन्छ । नागरिकका स्वार्थमा केन्द्रित हुनै पर्दछ । विकासका नयाँ नयाँ मोडेलको अध्ययन र बहस अगाडि ल्याउन पर्नेछ । विकास किन र कस्का लागि ? भने झै राजनीति जनताको लागि हो भने यसो गर्नु नै पर्दछ । अब कस्ता नेताहरू जनताबाट अनुमोदित हुनेछन् ? त्यसबाट अनुमान लगाउन सकिने छ । निर्वाचन कार्यालयका अनुसार, निर्वाचन भई सकेका जिल्लाको परिणाम पर्सीसम्ममा आइसक्ने छ भने आज भएको निर्वाचनको मत गणना पनि चार दिनभित्रै परिणाम सार्वजनिक भइसक्नेछ ।
जनताको चाहना विकास हो, समग्र क्षेत्रको प्रगति हो । तर यहाँ सपना देख्ने र इच्छाशक्ति नभएका नेताहरूका कारण देश अलमलमा छ । यहाँका राजनीतिक, प्रशासनिक तथा सुरक्षा नेतृत्व देश विदेश घुमिरहेका हुन्छन्, त्यहाँ देखेका र सिकेका कुराबाट आफ्नो मोडेल निर्माण गर्न सक्तैनन् । यो यहाँको दुभाग्र्य हो । हो, सरकार एक वर्षको पाहुना छाक खान पनि नपाउने जस्तो अवस्थाबाट गुज्रन्छ । तर यसो भए पनि जनपक्षीय कार्यक्रमलाई निरन्तरता दिन जो कोहीलाई कर लाग्ने आधार बनाउन सक्तैनन् । यसैकारण नेताहरूलाई ब्यक्तिवादी र स्वार्थी भनी पुष्टि गर्ने आधार मिलेको हो ।
घटनाक्रमले यो निर्वाचनमा करिब बाह्र सय जनलाई गिरफ्तार गरेको, पाँच सयलाई छानवीन भइरहेको र बाँकीलाई छाडि सकिएको, विशेष निगरानी विप्लव समुहको गरिरहेको समाचार सार्वजनिक भएका छन् । यसैमा डोल्पामा विप्लव समुहले दुई वटा गाउँपालिकाको कार्यालयको बोर्ड फालेर आफ्नो बोर्ड राखी कब्जा गरेको समाचार आइरहेको छ । यही समयमा भारतीय नागरिकहरू शंकास्पद गतिविधिमा पक्राउ पर्नुले देशको संवेदनशीलता थपिएको बोध हुन्छ । जेहोस् राज्य तदर्थवादी भएर होइन, दुरगामी सोचका साथ द्धन्द्ध जन्माउने होइन, द्धन्द्ध समाधान गर्ने बलियो र भरपर्दो संरचनात्मक आधार बनाउनतिर लाग्नु पर्दछ । मत परिणाम जस्तो आए पनि यसको लागि निर्वाचन हर तरहले सम्पन्न हुनै पर्दछ ।
सामाजिक सञ्जाल तथा मिडियामा नेताहरूको भन्नुभयो भन्ने समाचारलाई आधार बनाउने हो भने गठबन्धन केवल मुख्य नेताहरूलाई सुरक्षित पार्ने खेल मात्र हो कि जस्तो भान हुन थालेको छ । यसमा आफुलाई नामुद जोतिष भनी दावा गर्नेहरूको तर्क पनि कम उत्तेजक छैनन् । तर राजनीतिक विश्लेषकहरूले हेका राख्नपर्ने पक्ष भनेको जनताको चाहनालाई को कस्ले कति सम्बोधन गरेका थिए र छन् ? त्यस अनुसार जनमत छ कि छैन ? भनी हेर्ने हो । जनता इतिहासका निर्माता त हुन् तर उनीहरूलाई पैसा, मदिरा र वलमा प्रभाव पारियो भने इहितास उल्टो रूपमा निर्माण हुन्छ । एकपटक दिइएको केही हजार नोट, एकदुई छाक मासुभात र रक्सीमा नभुल्ने हो भने जनताले गोप्य मतदानबाट दिने वैधानिकताले कायापलटै त होइन तर सामान्यतया तुलनात्मक सुधार भने अवश्य आउँछ । (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here