महिला हिंसाविरुद्धको अभियान र पुरुष सहभागिता

247

राज्यलक्ष्मी शाक्य
विश्वभर नै मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अहिले चलिरहेको छ । महिलामाथि हुने हिंसा, अन्याय, अत्याचारविरुद्धको यो अभियान चलाइने गरिन्छ । यस वर्ष ‘लिभ नो वान विहान्ड ः इन्ड भ्याइलेन्स अगेन्स ओमन एण्ड गल्र्स’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौं ः कोही नछुटौं’ भन्ने राष्ट्रिय नाराका साथ मंसिर ९ गतेदेखि २४ गते २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म महिला हिंसाविरुद्ध १६ दिवसीय अभियान सञ्चालन भइरहेको छ । महिला भएकै कारण महिलामाथि हुने हिंसा नै महिला हिंसा हो । समाजमा महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पु¥याउने कुनै पनि कार्य हिंसा हो । सन् १९९४ मा संयुक्त राष्ट्रसंघले महिलामाथि हुने हिंसाका बारेमा परिभाषित गर्दै महिलालाई लैंगिक, शारीरिक र मनोवैज्ञानिक रूपमा गरिने शोषण नै महिला हिंसा हो भनेको छ ।
नेपालको संविधानको धारा ३८ को उपधारा ३ मा महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनिएको छ । महिलामाथि घरेलु हिंसा भएमा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ को दफा १७ अनुसार ३ हजार रूपैयाँदेखि २५ हजार रूपैँयासम्म जरिवानाको व्यवस्था रहेको छ ।
हरेक वर्षजसो महिला हिंसाविरुद्धको यो अभियान मनाइँदै आए पनि नेपालमा भने महिला हिंसामा कमी आउन सकेको छैन । नेपाल प्रहरीकै तथ्यांकलाई हेर्ने हो भने पनि नेपालमा पछिल्लो एक वर्षको अवधिमा ११ हजार ६ सय २९ वटा घरेलु हिंसाका घटना घटेका छन् । जुन आव २०७२/७३ ले भन्दा २ हजार २ सय ३१ ले बढी हो । आव २०७२/७३ मा ९ हजार ३ सय ९८ वटा घरेलु हिंसाका घटना घटेका थिए । यस्तै आव २०७१/७२ मा ८ हजार २ सय ६८ वटा घरेलु हिंसाका घटना घटेका थिए ।
प्रहरीको तथ्याङ्कअनुसार आव २०७३/७४ मा १ हजार १ सय ३१ वटा बलात्कारका घटना घटेका छन् । आव २०७२/७३ मा १ हजार ८९ वटा र आव २०७१/७२ मा ९ सय ८१ वटा घटना घटेका थिए । यस्तै जबर्जस्ती करणी उद्योगमा आव २०७३/७४ मा ५ सय ३६, आव २०७२/७३ मा ४ सय ५२ र २०७१/७२ मा ५ सय ६२ वटा घटना घटेका छन् । आव २०७३/७४ मा मानव बेचबिखनमा २ सय २७, आव २०७२/७३ मा २ सय १२ र २०७१/७२ मा १ सय ८१ वटा उजुरी परेको नेपाल प्रहरीले जनाएको छ ।
यस्तै आ.व २०७३/७४, २०७२/७३ र २०७१/७२ मा क्रमशः २४, २८ र ४३ वटा बोक्सीको आरोपका घटनाहरू दर्ता भएका छन् । यस्तै आव २०७३/७४ मा बहुविवाहमा ४ सय ६४, आव २०७२/७३ मा ४ सय ६३ र २०७१/७२ मा ५ सय १८ वटा उजुरी परेको छ । यस्तै आव २०७३/७४ मा २६ वटा बालविवाहका घटना घटेका दर्ता भएको छ भने २०७२/७३ र २०७१/७२ मा क्रमश २० र २३ वटा घटना दर्ता भएको छन् । यस्तै २०७३/७४, २०७२/७३ र २०७१/७२ मा क्रमशः २१, २२ र १७ वटा गर्भपतनका घटनाहरू दर्ता भएका छन् ।
यी तथ्यांकहरूलाई हेर्दै गर्दा नेपालमा वर्षेनि महिला हिंसाका घटनाहरूमा बढोत्तरी मात्र भएका छन् । यद्यपि, सरकारले महिला हिंसा कम गर्नका लागि केही नयाँ योजनाहरू पनि ल्याएको छ । जस्तै, प्रहरीले महिलामाथि हुने दुव्र्यवहार रोक्न ‘सेफ्टी पिन’ नामको कार्यक्रम सञ्चालन गरेको छ । यो अभियानअन्तर्गत सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न जनचेतनामूलक कार्यक्रमसँगै ‘स्टिङ अप्रेसन’ गरिने र यो कार्यक्रमअन्तर्गत जनचेतनामूलक प्रचारप्रसार कार्यक्रम गर्ने जनाइएको छ । तर, यो कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन भयो त ? यस सम्बन्धमा विचारविमर्श भएको पाइँदैन । जसले गर्दा कुनै कार्यक्रम सुरु गर्ने र त्यसको इमानदारपूर्वक कार्यान्वयन र प्रभावकारिता छ कि छैन भन्नेमा छलफल हुन सकेको छैन ।
महिला हिंसा रोक्नका लागि अभियान सञ्चालन गरेर मात्र हुँदैन । त्यसको प्रभावकारितामाथि पनि विचार गर्न आवश्यक छ । अर्को पक्ष, महिला हिंसा रोक्न पुरुष सहभागितालाई पनि अनिवार्य मान्नुपर्छ । किनकि जबसम्म पुरुषहरूले नै महिला हिंसा रोक्नका लागि पहल गर्दैनन् तबसम्म महिला हिंसाको घटनामा कमी आउन सक्दैन । नेपालको सन्दर्भमा एउटा परिवारभित्र पुरुष र महिला दुवै पक्षबाट महिलाहरू हिंसाको चपेटामा परेका हुन्छन् । सासु, नन्दलगायतले नै बुहारीमाथि हिंसा गरेको उदारहणहरू छन् । त्यस्तै, कतिपय महिलाको मानसिकता नै पितृसत्तात्मक सोचले गाँजेको देखिन्छ । महिलालाई दुई÷चार थप्पड नलगाउने पुरुष के पुरुष ? भन्ने मानसिकता पनि केही महिलामा देखिन्छ । यो पितृसत्तामक सोचको नै उपज हो । यस्तो सोचकै कारण महिलामाथि हिंसा, अन्याय र अत्याचार बढिरहेको पाइन्छ । अर्को पक्षमा हेर्दा महिलामाथि हिंसा गर्नेमा पुरुष अगाडि छन् । त्यसकारण सचेत पुरुषले महिला हिंसाविरुद्धको अभियानलाई सहयोग गर्न आवश्यक छ । त्यसले अन्य पुरुषलाई पनि सकारात्मक सन्देश दिनेमा आशावादी हुन सकिन्छ । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here