एमाले र माकेबारे यस्तो भन्छ मसाल

119

काठमाडौं / निर्वाचनमा वाम गठबन्धनसँग तालमेल गरेको, प्रतिनिधिसभामा एक सिट जितेको नेकपा मसालले नेकपा एमाले र माओवादी केन्द्र भारत परस्त भएको आरोप लगाएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमा विचलन आएको दाबीसमेत मसालले गरेको छ ।
मसालको छैटौं राष्ट्रिय भेला फागुन पहिलो साता सम्पन्न भएको थियो । भेलाले आगामी एक वर्षभित्र पार्टीको आठौं महाधिवेशन गर्ने निर्णय गरेको छ । मसालको वैधानिक मोर्चाको रूपमा राष्ट्रिय जनमोर्चाको नेतृत्व चित्रबहादुर केसीले गर्दै आएका छन् ।

 
भेलाबाट पारित मसालको राजनीतिक प्रतिवेदनमा एमाले र माओवादीले भारत परस्त नीति अपनाएको उल्लेख गरिएको छ । राजनीतिक प्रतिवेदनमा ‘दोस्रो संविधान संशोधन विधेयक, चीनसितका सन्धिहरू, भारतका विरुद्ध कतिपय अडान आदिका प्रसङ्गहरूमा ओली वा एमालेले लिएका अडानहरूलाई हामीले समर्थन गरेका थियौं । त्यस सन्दर्भमा कतिपय प्रश्नहरूमा हामीले उनीहरूसित कार्यगत एकता वा काममा कोअर्डिनेसन गरेर संसदभित्र वा बाहिर संयुक्त रूपले संघर्ष गरेका थियौं । तर त्यसो गर्ने बेलामा कतिपय प्रसंगहरूमा उसले भारतपरस्त नीति अपनाएको कुरा पनि लुकेको छैन’ उल्लेख छ ।
प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘संविधान निर्माणको क्रममा पहाडी भागहरूबाट अलग गरेर दुई नं. प्रदेशको निर्माण, नागरिकताबारे कतिपय उदार नीतिहरू आदिबारे उनीहरूले अपनाएका नीतिहरू वा संविधान संशोधन विधेयकलाई पारित गराउन ओलीले खेलेको भूमिकाप्रति पनि हाम्रो ध्यान छ । महाकाली सन्धिलाई पारित गराउन ओलीले खेलेको भूमिका पनि कुनै लुकेको कुरा होइन । भारतीय विदेश मन्त्री सुष्मा स्वराजसितको उनको भेटघाटपछि उनको पहिलेको अडानबाट विचलन आउने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न ।’
माओवादी केन्द्रले पनि विगतमा बारम्बार भारतपरस्त नीति अपनाउने गरेका कैयौं उदाहरणहरू रहेको मसालको दाबी छ । ओली सरकारबाट अलग भएर नेपाली कांग्रेससँग गठबन्धन गरेको र संविधान संशोधन विधेयकलाई पारित गराउन केन्द्रले पहल गरेको विषयलाई मसालले प्रतिवेदनमा उल्लेख गरेको छ ।
एमाले र माओवादीलाई ‘सम्झौतापरस्त मित्र शक्ति’ र कांग्रेसलाई ‘दुश्मन शक्ति’को रूपमा मसालले चित्रित गरेको छ । उनीहरूसित आवश्यकताअनुसार एकता वा संघर्षको नीति अपनाउने मसालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here