काठमाडौँ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्नेक्रममा बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा सोमबार अचानक आगलागी हुँदा ४० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटनामा २२ जना घाइतेको उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।
कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ३१ जनाको शव फेला परेको छ भने केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जना र शिक्षण अस्पतालमा उपचारको क्रममा १ जनाको मृत्यु भएको हो ।
घाइतेमध्ये १६ जनाको केएमसी अस्पताल सिनामंगलमा, ५ जनाको नर्भिक अस्पतालमा र १ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली खटिई गई दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुको साथै थप उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।