प्रधानमन्त्री ओलीले सुशासनको थालनी गरे

154

सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीबाट निर्देशन– अब असफल हुने छुट छैन

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकाल प्रारम्भ भएको एक महिना बितेपछि बल्ल मन्त्रिपरिषद् अलि चुस्त बनाउन सफल भएको देखिन्छ । आफ्नो पार्टीभित्रको कचिंगल र सत्ता सहभागी दलको बार्गेनिङलगायत अन्य दलहरूलाई पनि सहभागी गराएर सरकार सञ्चालनलाई प्रभावकारी बनाउन खोज्दा मन्त्रिपरिषद् विस्तार कार्य नै विलम्ब हुन पुगेको देखियो । मन्त्रिपरिषद् विस्तार गरेलगत्तै प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरू र सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर ‘कडा’ निर्देशन दिएका थिए ।
ओलीले यो सरकारलाई असफल हुने छुट नभएको भन्दै मन्त्री, कर्मचारी र सुरक्षा निकायका अधिकारीहरूलाई एकै ठाउँमा राखेर सुझाव दिएका थिए । सामान्य दैनिक प्रशासन चलाएजस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गत आइतबार मन्त्रिपरिषद्का सबै सदस्यलाई साथै राखेर प्रधानमन्त्रीले अब सामान्य तरिकाले सरकारी प्रशासन नचल्ने भएकाले विशेष भूमिकाका साथ जनताको सेवामा लाग्न सबैलाई निर्देशन दिएका थिए । सरकारको काम कारबाहीमा गति देखिनु पर्दछ, जनताप्रतिको प्रतिबद्धता देखिनु पर्दछ, समृद्ध नेपाल र सुखी नेपालीको सपना देखिनु पर्दछ, घिसिपिटी तरिकाले हुँदैन र हुन सक्दैन भन्दै प्रधानमन्त्री ओलीले यो सामान्य सरकार होइन, असामान्य सरकार हो, हामीले जिम्मेवारी पनि असामान्य तरिकाले नै निर्वाह गर्नुपर्दछ भनी कडा निर्देशन दिएका थिए । ओलीले सामान्य समय ठानेर दैनिक कार्य सञ्चालन गर्ने तरिकाले मात्रै सरकार र सरकारी निकाय चल्न नसक्ने पनि सो अवसरमा स्पष्ट पारेका थिए ।
सेवाग्राहीसँग आँखा जुधाएर घुस नखाने शपथ खान निर्देशन दिएका छन् । ‘ठेक्कापट्टा र कमाइ धमाइका काममा मन्त्री र परिवार सक्रिय हुने गरेका छन् । तर अब तपाईहरू बुझ्नुस्, त्यो युग सकियो । सबैजना निगरानीमा हुनुहुन्छ । मरेर जाँदा केही लान पाइन्न । यति कुरा ख्याल गर्नुस्’ भन्दै प्रधानमन्त्री ओलीले सन् २०३० सम्म नेपालले दिगो विकास लक्ष्य पूरा गर्नुपर्ने भएकाले सोहीअनुसार अगाडि बढ्न निर्देशन दिनु भएको थियो । सरकारको बृहत् दायित्वलाई पूरा गर्नसमेत साझा प्रयास र साझा संकल्पको जरुरी रहेको स्पष्ट पार्दै ओलीले शान्तिसुरक्षामा खलल पु¥याउने, मुलुकको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने तथा सामाजिक अमनचैन खल्बलाउन खोज्ने जोसुकैलाई पनि पूर्णरूपमा नियन्त्रण गरिने चेतावनी पनि दिएका थिए ।
वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्न गठन भएकाले सोहीअनुसार काम गर्न तथा जनतालाई केन्द्रमा राखेर परिणाम निस्कने गरी काम गर्न ओलीले निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि बैठकमा उपस्थितहरूबीच आपसमा अब केही हुन्छ कि देशमा भनेर खासखुस चर्चासमेत थालेको सहभागी एक मन्त्रीले जनधारणालाई जानकारी गराएका छन् ।
यसैबीच केन्द्रमा मन्त्रिपरिषद् विस्तार र मन्त्रिपरिषद्लाई निर्देशन दिएलगत्तै प्रधानमन्त्री केपी ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई अब प्रदेशका बीचमै प्रतिस्पर्धा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले हिजो बुधबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौंमा भेला गराएर यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले ‘प्रदेशहरूका बीच प्रतिस्पर्धा हुने गरी काम गर्नुस्, अब असफल हुने छुट छैन, विकास र समृद्धि प्रमुख कार्यभार हो, दिगो विकासको लक्ष्य पूरा हुनेगरी काम गर्नुस् ।’ भनेर स्पष्ट निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीहरूले नयाँ परिवेशमा आपूmहरूको जिम्मेवारीमा चुनौती नै चुनौती देखा परेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । मुख्यमन्त्रीहरूसँगको प्रधानमन्त्रीको बैठकमा सरकारका सबै मन्त्रीहरू र मुख्यसचिवको पनि उपस्थिति थियो । मुलुक संघीयतामा गएको अभ्यास गर्दा सातवटै प्रदेशमा एकरूपता ल्याउन र शासन व्यवस्थालाई चुस्त बनाउन प्रधानमन्त्री ओलीले प्रदेशका पदाधिकारीहरूसँग छलफल गर्ने राम्रो सुरुआत गरेको टिप्पणी बैठकमा सहभागीहरू सबैले गरेका थिए ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here