विमान दुर्घटनामा मृतकका सम्झनामा दीप प्रज्ज्वलनको महत्व

276

राज्यलक्ष्मी शाक्य
केही हप्ताअगाडि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको यूएस बंगला विमान दुर्घटना भयो । विमानको दुर्घटनामा ५० भन्दा बढीको मृत्यु भएको थियो । जसमा धेरै बंगलादेशी र नेपालीले ज्यान गुमाएका थिए । कुनै पनि दुर्घटनाबाट निम्तने पीडा र क्षति अकल्पनीय हुन्छ । दुर्घटनामा धेरैको सपना, इच्छा, चाहना र भविष्यको पनि अन्त्य हुन्छ । त्यसकारण दुर्घटना यस्तो एउटा नमीठो पीडा हो, जो कहिले पनि कसैको जीवन नघटोस् भनेर कामना मात्र गर्न सकिन्छ । यस्तै दुर्घटना केही हप्ताअगाडि यूएस बंगला विमानको भएको थियो ।
यही क्रममा नै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ महिला समितिका सदस्य राज्यलक्ष्मी शाक्यको संयोजनमा युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली तथा विदेशीहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ । चारुमती बुद्धिष्ट मिसन नेपाल तथा सम्पूर्ण परिवारको आयोजना एवं सिजी होल्डिङ्स र अरुण चौधरीको सहयोगमा भएको कार्यक्रममा विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि एवं घाइतेको स्वास्थ लाभको कामना गर्दै पुष्प अर्पण तथा दीप प्रज्वलन गरिएको थियो ।
भिक्षु तपसु धम्मको अध्यक्षता तथा पर्यटन तथा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माइतीघर मण्डलाको वरिपरि उभिएर दीप प्रज्ज्वलन गरिएको हो । हिन्दू, बौद्ध, किरात, शिखलगायतका धर्मावलम्बीले आआफ्नो धर्मअनुसारको स्वस्तिवाचन तथा मौनधारण गरेर मृतकहरूको आत्माको चीरशान्तिको कामना गरेका थिए । कार्यक्रममा संस्थाका सदस्य विश्व उलकले वैशाख १ गते पदयात्रा आयोजना गरिने जानकारी दिए । संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सरकारका तर्फबाट युएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना एवं घाइतेहरूको स्वास्थलाभको कामना गरे । विमान दुर्घटनामा मेधावी छात्रछात्राले ज्यान गुमाएको भन्दै मन्त्री अधिकारीले हवाई सुरक्षाका लागि ध्यान दिइने बताए ।
‘हवाई सुरक्षा सरकारको मुख्य विषय हुनेछ । दुर्घटनापिच्छे आयोग बन्ने र प्रतिवेदन आउने कुराभन्दा निरन्तर सुधारका लागि ध्यान दिइनेछ’, मन्त्री अधिकारीले भने, ‘संसारले अपनाइसकेको प्रविधि हामी आत्मसात गर्नेछौं । हवाई सुरक्षामा गर्नेछौं ।’ उनले छानबिन समितिले काम गरिरहेको जनाउँदै यो र अन्य सबै प्रतिवेदन हेरेर हवाई सुरक्षामा विशेष ध्यान दिइने जानकारी दिए । थाहा मिडिया प्रालिका अध्यक्ष अस्मिता सुमार्गीले मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै हवाई दुर्घटना न्यूनीकरणका लागि राज्यले ध्यान दिनुपर्ने जनाइन् । दुर्घटनामा ज्यान गुमाउने मृतक एल्जिना बरालका बुबा गणेशप्रसाद बरालले यस्तो कार्यक्रमले केही राहत मिल्ने जनाए । घाइतेहरूको स्वास्थलाभको कामना गर्दै पीडित पक्षको आवाज नसमेटिएको उनको गुनासो थियो । क्षतिपूर्तिलगायत अन्य कार्यक्रममा बंगलादेश सरकारले पीडितहरूप्रति गरेको विभेदप्रति सरकारले बेवास्ता गरेको उनको आरोप थियो ।
सरकारको तर्फबाट अहिले विमान दुर्घटना हुनुको कारण पत्ता लगाउन छानबिन समितिसमेत गठन गरिएको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ । त्यस समितिका सदस्यहरूमा नेपाली सेनाका प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन के.के शर्मा, क्याप्टेन सुनील प्रधान, इञ्जिनियर उद्धव प्रसाद सुवेदी र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहेका छन् । उक्त समितिले ५ महीनाभित्र प्रतिवेदन बुझाउने जनाएको छ । तर, दुर्घटना भएको यति दिन बित्दा पनि पीडितले भने क्षतिपूर्तिलगायत अन्य कार्यक्रममा बंगलादेश सरकारले पीडितहरूप्रति विभेद गरेको जनाएका छन् । यसतर्फ सरकारले ध्यान दिन आवश्यक छ । सरकारले छानबिन समिति गठन गरेर मात्र आफ्नो दायित्व पूरा हुँदैन । दुर्घटनाबाट पीडित बनेकाहरूको समस्या बुझ्न जरुरी छ ।
[email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here