जातीय तथा धार्मिक सहिष्णुता नै हाम्रो पहिचान

1261

राज्यलक्ष्मी शाक्य
पछिल्लो समय विभिन्न कारणले नेपालका जातजातिहरूबीच नै तिक्ततापूर्ण सम्बन्ध विकास हुन थालेको छ । पृथ्वीनारायण शाहले भनेजस्तो चार वर्ण छत्तीस जातको फूलबारी नेपालमा अब तिनै जातजातिहरूमा एकअर्काप्रति नकारात्मक धारणा र सोचाइ बढ्न थालेको छ । अहिले त्यस्तो तिक्तता पोख्ने ठाउँ सामाजिक सञ्जाल भएको छ । सामाजिक सञ्जालमा आउने विभिन्न गलत समाचार तथा तस्वीरहरूका कारण पनि पनि नेपाली दाजुभाइहरू जात, धर्म, भूगोललगायतका विषयलाई लिएर विभाजित हुन थालेका हुन् ।

 
जब कुनै राष्ट्र कमजोर हुन्छ, त्यहाँ विभिन्न बहाना बनाउँदै अन्य मुलुकहरू आफ्नो स्वार्थ लिएर प्रवेश गर्दछन् । विश्वका यस्ता थुप्रै देशहरू छन्, जहाँ राष्ट्रियता कमजोर हुनेबित्तिकै विदेशी प्रभाव पनि ह्वात्तै बढेको पाइन्छ । विदेशी चलखेलकै कारण कतिपय राष्ट्र ध्वस्त भएको हामीले देखिआएकै विषय पनि हो । वर्तमान समयमा सिरिया त्यसको ज्वलन्त उदाहरण हो । सिरियाभित्रको विवादमा विश्वका ठूला मुलुकहरूको प्रवेशले आज त्यो देशलाई नर्कको हालतमा पु¥याइदिएको छ । त्यस्ता कमजोर मुलुकहरूमा नेपालमा पनि एक हो । नेपालमा पनि वर्षौंदेखि विदेशी संस्थाहरूले विभिन्न बहानामा चलखेल गर्दै आएका छन् । सबै विदेशी संस्था त्यस्तो नभए पनि धेरैजसो संस्थाहरूले विभिन्न स्वार्थका साथ नेपालमा काम गर्दै आएका छन् । उनीहरूको स्वार्थपूर्तिका लागि अपनाउने शैलीले नेपाललाई भने हानि पु¥याइरहेको छ ।

 
यही क्रममा हालै मात्र गत मंसिरमा सम्पन्न संघ र प्रदेश निर्वाचन पर्यवेक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको युरोपेली युनियन (ईयू)को एउटा सुझाव विवादमा परेको थियो । ‘संघीय संसद् र प्रदेशसभामामा खस आर्यलाई समावेश गर्न नहुने’ ईयूले दिएको सुझावलाई लिएर चौतर्फी आलोचना भएको हो । ईयूले नेपालमा जातीय र साम्प्रदायिक द्वन्द्व फैलाउन खोजेको दाबी विभिन्न दलका नेताहरूको छ भने सरकारले पनि ईयूको प्रतिवेदनप्रति कडा आपत्ति जनाएका थिए । निर्वाचन आयोगले पनि ईयूको प्रतिवेदन आयोगसँग भएको समझदारीपत्र विपरीत भएको भन्दै प्रतिवेदन अस्वीकार्य गर्ने जनाएको थियो । त्यसबेला ईयू प्रतिवेदन आफूसँग भएको समझदारीविपरीत भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत भएको आयोगले प्रस्ट्याएको थियो । यो त भयो ईयूको प्रतिवेदनको चर्चा । तर, अहिले धर्मका नाममा पनि विवाद देखिन थालेको छ । सदियौं विभिन्न धर्मावलम्बी शान्तिपूर्वक बसोबास गरिरहेको यो मुलुकमा अहिले धार्मिक सहिष्णुता भड्काउने प्रयास हुँदै आएको छ । विभिन्न संस्था, पार्टी, संगठन तथा समूहका नाममा भइरहेको यस्तो प्रयासलाई नेपालीहरूले समयमा नै बुझी सचेतता अपनाउन जरुरी छ ।

 
नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुक हो । विगतदेखि नै जातीय सहिष्णुता रहेको यस मुलुकमा पछिल्लो समय पनि जातीय विभाजन ल्याउने र यहाँको एकता खल्बल्याउने प्रयासहरू नभएका होइनन् । तर, पनि त्यस्तो षड्यन्त्र सफल भएको थिएन । अहिले सोही विषयलाई पुनः उठाउने काम भइरहेको छ । जातीय रूपमा हिंसा भड्केर ध्वस्त भएका मुलुकहरूको उदाहरण कैयौं छ । ती देशको जस्तै हालतमा पु¥याउनका लागि पुनः नेपालमा चलखेल र षड्यन्त्र भइरहेको अनुमान लगाउन सकिन्छ । मुलुक राजनीतिक संक्रमणबाट मुक्त भई विकासको बाटोमा अग्रसर हुन लागेको अवस्थामा यस किसिमका तथ्यहरूले नेपालमा पुनः जातीय हिंसा मच्चाउन चाहेको आशय बुझ्न सकिन्छ । यसमा सरकारले प्रभावकारी कदम चाल्न आवश्यक छ ।

 
हाम्रो सबल पक्ष जातीय तथा धार्मिक एकता नै हो । त्यही हाम्रो सबल पक्षलाई नै अहिले विभिन्न देशीविदेशी तत्वहरूले कमजोरी बनाउने प्रयास गर्न थालेका छन् । राजनीतिक संक्रमणमुक्त भएको मुलुकलाई फेरि अर्को द्वन्द्वमा घचेट्ने प्रयास हुन थालेको छ । यस्तो षड्यन्त्रलाई हामी नेपालीले नै नबुझ्ने मुलुक पुनः गृहयुद्धतर्फ धकिलिनेछ । विश्वमा विभिन्न मुलुकहरूलाई गृहयुद्धमा धकेलेर ठूला देशहरूले आफ्नो अभीष्ट सिद्ध गर्दै आएका छन् । नेपालमा पनि त्यही डिजाइनअनुसार काम भएको नहोला भन्न सकिन्छ । अब हामी नेपालीले नै निर्णय गर्नुपर्ने बेला आएको छ, एकअर्कासँग मिलेर देश र समाजलाई उन्नत बनाई स्वाभिमानी नागरिक बन्ने कि आन्तरिक कलहमा फसेर असफल राष्ट्रका असफल नागरिक बन्ने ? [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here