नाकाबन्दी र कांग्रेसको राजनीति

223

राज्यलक्ष्मी शाक्य
लोकतान्त्रिक पद्धतिको शासन व्यवस्था रहेको कुनै पनि मुलुकमा जनताको मतको महत्वपूर्ण भूमिका हुन्छ । बहुदलीय शासन व्यवस्थामा जनताले आफ्नो मतको माध्यमबाट जनप्रतिनिधि चयन गर्छन् र आफूले रुचाएको व्यक्ति र दललाई शासनसत्ताको बागडोर हस्तान्तरण गर्दछ । त्यसकारण पनि हरेक निर्वाचनपिच्छे नै दलहरूको स्थान फरक पर्दछ । अमेरिकाको उदाहरण हेर्ने हो भने त्यहाँ कहिले डेमोक्रेटिक र कहिले रिपब्लिकन पार्टीका उम्मेदवारहरूले राष्ट्रपति बन्ने मौका पाउँदै आएका छन् । नेपालमा पनि पछिल्ला चुनावहरूमा दलहरूको स्थान फरक पर्दै आएको छ । नेपालमा प्रजातन्त्र स्थापनापश्चात् पहिलो स्थानमा रहँदै आएको नेपाली कांग्रेसले पनि पछिल्लो समय उतारचढाव बेहोर्नुपरेको छ । गणतन्त्र स्थापनापश्चात्् वि.सं. २०६४ मा भएको पहिलो जननिर्वाचनमा तत्कालीन एकीकृत माओवादी पार्टी पहिलो स्थानमा थियो । नेपाली कांग्रेस र नेकपा एमाले क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए । तत्पश्चात्को चुनावमा कांग्रेस पहिलो भएको थियो भने हालैको चुनावमा तेस्रो स्थानमा खुम्चिएको छ । त्यस्तै विगतका चुनावमा त्यति धेरै मत ल्याउन नसकेको एमाले हालै भएको चुनावमा पहिलो पार्टी बन्न सफल भयो । माओवादी एमालेको सहायताले दोस्रो स्थानसम्म आइपुग्यो ।

 
नेपालमा हालै भएको स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेसले नराम्ररी हार व्यहोरेपछि अहिले उक्त पार्टीको बैठकमा हारको समीक्षा र जिम्मेवारीबारे छलफल भइरहेको छ । पटकपटक शासनव्यवस्थामा रहे पनि र मुलुकका हरेक परिवर्तन र विकासमा उत्तिकै भूमिका निर्वाह गरेको कांग्रेसलाई आखिर जनताले किन हारको स्वाद चखाए त ? यही प्रश्नको उत्तर खोज्न कांग्रेसका नेताहरूले माथापच्चिसी गरिरहेका छन् । कांग्रेसको बैठकपश्चात् हारको समीक्षा गर्ने क्रममा सभापति शेरबहादुर देउवाले विगतमा भारतले नेपालमा लगाएको नाकाबन्दीको ठूलो स्वरमा विरोध नगर्नु नै कांग्रेस हार्नुको कारण रहेको जनाएको तथ्य सार्वजनिक भएको छ । सभापति देउवाले मात्रै नभएर कांग्रेसका युवा नेता गगन थापाले पनि निर्वाचनको परिणामबारे बोल्दै कांग्रेस हार्नुको कारणमध्ये एक नाकाबन्दीको अत्यधिक विरोध नगर्नु जनाएका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको विरोध गर्नु र राष्ट्रवादी नारा लिएका कारण पनि एमालेलाई जनताले भोट दिएको कांग्रेसको ठम्याइ छ । यो कांग्रेसको मात्र नभएर धेरै बुद्धिजीवी, राजनीतिक विश्लेषकहरूले पनि ठम्याइ हो ।
यदि यो ठम्याइ सही हो भने यसले हाम्रो राजनीतिक दल र हामी जनताकै सोच पनि कति कमजोर धरातलको रहेछ भन्ने स्पष्ट पारेको छ । किनभने नाकाबन्दीको विरोध एउटा स्वाभिमानी नेपाली भएका कारण जुनसुकै हालतमा पनि गर्नुपथ्र्यो र त्यही आधारमा भारतले गरेको ज्यादतीको सबै पक्षबाट विरोध भयो । कसैले कम त कसैले धेरै विरोध गरे । अवश्य नै भारतले लगाएको नाकाबन्दीलाई जति विरोध गर्नुपथ्र्यो त्यति गर्न सकेनौं भनेर कांग्रेसले आत्मलोचना गर्नु पनि ठीक नै छ । तर, त्यही भावनात्मक पक्षलाई लिएर जनताले भोट दिएनन् भनेर एउटा जिम्मेवार पार्टीले सोच्नु कत्तिसम्म जायज कुरा हो ? कांग्रेसले निकालेको यो तथ्यले जनतालाई इमोसनल ब्लाकमेलिङ गर्न नसकेकाले भोट पाएनौं भन्ने निष्कर्ष निकालेको छ । आजको २१औं शताब्दीमा कुनै पार्टीले जनतालाई इमोसनल ब्लाकमेलिङ गरेर भोट जम्मा गर्ने हो ? के कांग्रेसले जनतालाई वाचा गरेका विकास र समृद्धि दिन सक्यो ? भ्रष्टाचार नियन्त्रण र सुशासन दिन सक्यो ? आफूले गर्न सकेको र गर्न नसकेको कुराको किन आत्मलोचना गर्दैन कांग्रेस ? र, अहिले जनतालाई इमोसनल ब्लाकमेलिङ गर्न नसकेकोमा पछुताइरहेको छ ?

 
यद्यपि, अन्य पार्टीबाट पनि नेपाली जनताले आशा गरेअनुरूपको काम हुन सकेको छैन । तर, एउटा प्रमुख पार्टीले आफूले विकास र समृद्धि ल्याउन नसक्ने, भ्रष्टाचार, दण्डहीनता, अनियमितता हटाउन नसक्ने र जनतालाई मूर्ख ठानेर इमोसनल ब्लाकमेलिङ गर्न नसकेको निष्कर्ष निकाल्नु जस्तो दुर्भाग्य अरु के होला र ? जनताले पक्कै पनि नाकाबन्दी विरोधकै कारण वाम गठबन्धनलाई भोट हालेको होइन । यदि कसैले त्यसो गरेको छ भने त्यो मूर्खतासिवाय केही होइन र यसले सचेत नागरिकको परिचय दिँदैन । राजनीतिक दलहरूले अब विकास र समृद्धिको प्रतिस्पर्धामा खरो उत्रिएर जनताको मन र मत जित्न आवश्यक छ, न कि कुनै प्रोपोगाण्डा र इमोसनल ब्लाकमेलिङबाट ।
[email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here