यति चाँडै ठण्डाराम हुनुपुगेकै हो त ‘ओली राष्ट्रवाद’ ?

187

चन्द्रप्रकाश बानियाँ
यद्यपि विस्तारै विस्तारै ‘पुन मुषिको भवः’को नीतिकथा दोहोरिने लक्षण देखिएको भए पनि वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई घनघोर राष्ट्रवादी नेताको रूपमा नेपाली समाजले मान्दै आएको छ । उनको त्यो चरित्र निर्माणका आधार तीनवटा थिए । माओवादीको रुखो विरोध, मधेशप्रतिको दुर्भावना र भारतीय नाकाबन्दीको समयमा प्रदर्शन गरेको अडान ! यी तीनवटा कुरालाई अलग गर्ने हो भने उनमा थप कुनै विशिष्टता थियो भन्ने ठाउँ रहन्छजस्तो लाग्दैन । दोस्रो पटक प्रधानमन्त्रीको गद्दी सम्हालेपछि खास गरेर भारतको भ्रमणपछि उनको त्यो चुलिएको व्यक्तित्व विनिर्माणको चरणमा छ । त्यसको गति निकै तीव्र देखिन थालेको छ भन्दा फरक पर्दैन ! माओवादीसँगको पार्टी एकीकरणको पहल र मधेशसँग सम्बन्ध सुधारको प्रयत्नले ओलीलाई पुरानै ठाउँमा थचार्ने सम्भावनाको ढोका खोलिदिएको थियो । ‘सबै कुरा छोडेर पुच्छरमा हात’ भनेजस्तो भारतसँगको व्यक्तिगत सम्बन्धलाई फेरि पुरानै ठाउँमा फर्काउने उनको पछिल्लो कोसिसले पतनको ढोका बन्द हुने आशामा तुषारापात गरिदिएको छ भन्नु बढी हुनेछैन ।
सरलतापूर्वक प्रधानमन्त्री बन्ने बाटोमा सुशील कोइरालारूपी तारबार लगाउन खोज्ने भारतीय सत्ताप्रतिको क्षणिक आक्रोश र आगेबाट उत्पन्न अविचारित प्रतिक्रियाको परिणाम भारतको इच्छाविपरीत उभिने ओलीको चेष्टा थियो । पाल्तु डिङ्गो मात्तिएर पुच्छरले हान्यो भने गोसाईलाई रिस उठ्नु स्वाभाविक हुन्छ । त्यही सन्दर्भमा ओलीको नादान चेष्टालाई दिन खोजिएको दण्डको भुक्तमान निर्दोष र निरपराध तीन कोटी नेपालीहरूलाई खेप्नुपर्ने अवस्थामा पु¥याउने मूर्खता मोदीसरकारले गरेको थियो । ओली–मोदीको क्रियाप्रतिक्रियाको शिकार नेपाली जनता र नेपालको अर्थतन्त्र बन्न पुग्यो । अवश्य, त्यो दुर्भाग्यपूर्ण घटना थियो । तर ओलीमोदी सम्बन्धको सापेक्षतामा हेर्ने हो भने दुवैथरीबाट प्रदर्शित क्रियाप्रतिक्रिया विल्कुल स्वाभाविक लाग्दछन् । आजीवन गुलामी गर्दै आएको एउटा नादान सेवकलाई प्राप्त भएको प्रधानमन्त्री बन्ने अवसरमा भारतले अकारण बाधा उत्पन्न गर्दा रिस उठ्नु स्वाभाविक थियो । आफूलाई भारतको विश्वासिलो सेवकको रूपमा प्रस्तुत गर्दै आएको मानिसलाई आफू दण्डित हुनुपर्ने कारण बुझ्न कठिन भयो होला । अस्वीकृत हुनुपर्दा दुःख लाग्यो होला । पुरस्कारको सट्टा दण्डित हुनुपर्ने भीम मल्लनियति कसलाई रुचिकर लाग्छ र ? उताको अप्रत्याशित व्यवहारले स्वभावतः क्षुब्ध बनायो, दुःखी बनायो । भारतीय नाकाबन्दीविरुद्धको कथित चट्टानी अडान त्यही मर्माहत मानसिकताको अभिव्यक्ति थियो ! त्यसमा न देशभक्तिको भावना थियो न देश कल्याणको मानसिकताले काम गरेको थियो । देशवासीले दुःख हण्डर पाउने चिन्ता पनि थिएन । त्यो त मात्र ‘देखाइदिने’ बाल मनोविज्ञानको तुजुकको प्रतिविम्बन थियो । उता भारतीय सत्ता पनि अचम्भित आश्चर्यचकित थियो । आफैले पालेको भुसुनाले आफ्नो इच्छाविपरीत उभिने हिम्मत गर्ने कुराको कल्पना गरिएको थिएन । आफूले अविरामरूपमा चटाउँदै आएको गुलियो चटनीप्रति कसैबाट त्यो हदसम्मको कृतघ्नताको प्रदर्शन हुनसक्ने कुराको कल्पना गरिएको थिएन होला ! दासानुदास भनी ठानिएको मानिसबाट चुनौती आउने कुराले मस्तिष्क चकराउने परिस्थिति निर्माण गर्ने नै भो । त्यही अप्रत्याशित घटनाले विवेक र धैर्य गुमाउने अवस्थामा भारत पुगेका थियो । अमानवीय नाकाबन्दीको कारण त्यही थियो ।

 
आफ्नो रुखो अभिव्यक्तिले जनताबाट कल्पनातित प्रशंसा बटुल्न थालेपछि ओलीमा उत्साह थपिँदै गयो । उनको दम्भ चुलिँदै गयो, मुलुकले पनि अपूरणीय क्षति व्यहोर्न अभिशप्त बन्दै गयो । जतिबेला होस खुल्यो, त्यतिबेलासम्म समय निकै घर्किसकेको थियो । त्यसैको परिणाम थियो, ‘कमल थापा कूटनीति’को असफल प्रयोग ! हिन्दूत्वको नाराले थापा र मोदीबीचको रसायन मिल्छ भन्ने अनुमान गलत सावित भयो । भारतको सम्पूर्ण विकल्प चीन हुन सक्तैन भन्ने सामान्यज्ञान थिएन भन्न मिल्दैन । जुनसुकै मूल्य चुकाएरै पनि किन नहोस् भारतसँगको सम्बन्ध सुधार गर्नैपर्छ भन्ने मान्यताले नै पहिलोभ्रमण चीनको गर्ने हिम्मत नगरिएको हो । त्यसैले ‘मलाई त्यही केटी चाहिन्छ’ को शैलीमा नाकाबन्दी उठाउने शर्तमा भारतभ्रमणको निम्तो मागिएको थियो । हिन्दूत्वको कूटनीति असफल भए पनि सैनिक कूटनीतिले काम ग¥यो, ओलीको जुङ्गो रह्यो, हामी मूर्ख नेपालीहरूमा ओली अडानसमक्ष भारत झुक्न बाध्य भएको भ्रम पर्न गयो । हाम्रो अल्पदृष्टिमा ओलीको नौटङ्की अब्बल दर्जाको राष्ट्रवादी अडान ठहरियो । सारा देश ओलीको समर्थन र प्रशंसामा लामबद्ध भयो ।

 
नाकाबन्दीको बेला प्रदर्शन गरिएको सरकारी अडान भावनालाई एकछिन पर राखेर व्यावहारिकताको कसौटीमा पर्गेल्ने हो भने राष्ट्रको पक्षमा थिएन भन्नैपर्छ । त्यो त नितान्त निजी कुण्ठाको अभिव्यक्ति थियो । हीनग्रन्थीको विद्रूप नमूना प्रदर्शन थियो । एउटा दासानुसासको बन्दर घुर्की थियो । तैपनि भारतीय सत्ताबाट दशकौंदेखि हेपिँदै, चेपिँदै, अपहेलित हुँदै आएको नेपाली मानसिकताले आफ्नो वर्षौंदेखिको कुण्ठित भावनाको प्रतिविम्ब त्यो कथित अडानमा देख्यो । ‘डुबतेका सहारा तिनके’ भनेजस्तो आजित भएको नेपाली मानसिकताले आफ्नो अन्तरहृदयको भावनाले ओलीमार्फत वाणी पाएको अनुभूति गरेको थियो । यहिनेर स्मरण गर्नुपर्ने कुरा के पनि देखिन्छ भन्ने तिनताका ओलीको स्वाथ्यस्थिति उति राम्रो थिएन । सायद स्वयम् उनैलाई आफ्नो आयुमाथि भरोसा थिएन । त्यसको सार्वजनिक स्वीकारोक्ति उनकै मुखबाट अनेकौंपटक निस्रित भएका उदाहरणहरू छन् । सम्भवतः ‘मरीचमानग्रन्थी’को संक्रमणबाट प्रभावित हुने अवस्था थियो त्यो । कमसेकम शेषपछि मरिचमानलाई झैं किन नहोस् आफूलाई समाजले सम्झियोस् भन्ने चाहना बलवती बनेको थियो होला ।
समयले नयाँ काँचुली फे¥यो । आधुनिक औषधीविज्ञानले चमत्कार देखायो । स्वास्थ्यमा अपेक्षाकृत निकै राम्रो सुधार भयो । आम निर्वाचनले वाम गठबन्धनलाई बलियो बहुमत दियो । यसपटक मात्र होइन, अर्को एकपटक पनि सत्ता वाम गठबन्धनको हातमा रहने सम्भावनाको संकेत देखायो । आफ्नो नाङ्गो आँखा अगाडि उपस्थित भएको सत्तारोहणको लम्बे अवधिको सम्भावनाले एकपटक यथार्थ धारातलमा टेकेर व्यावहारिक कूटनीतिको अभ्यास गर्नुपर्ने आवश्यकताबोध गरायो । मानसिक परिवर्तनको त्यो झलक पछिल्लो भारत भ्रमण र त्यहाँ भएका द्विपक्षीय समझदारी सम्झौताहरूले देखाएका छन् । रूपान्तरणको आकस्मिकताको कारण त्यही थियो ।

 
बिहानले दिनको संकेत गर्छ । आफ्ना नयाँ नेतामा महेन्द्रको आत्मा जागेको कल्पनामा रमाउनेहरू, भीमसेन थापाको देशभक्तिको झलक देख्नेहरू र जङ्गबहादुरको चातुर्यको कल्पना गर्नेहरू यतिखेर छाँगाबाट खसेजस्ता हुन थालेका होलान्् । कैयौंलाई ओलीको परिवर्तित चरित्रमा विश्वास गरिहाल्न गाह्रो परिरहेको होला । भारत भ्रमणको बेला गरिएका गम्भीर त्रुटि (राष्ट्रघात)हरू मोदीको नेपाल भ्रमणको समयमा सच्चिने व्यर्थ आशा पाल्नेहरू पनि होलान् । उताको भ्रमणको बेला गरिएका लिखित अलिखित समझदारीहरूको कार्यान्वयनका लागि यतातिर मोदीको भ्रमण हुन लागेको हो । भूलसुधारका लागि होइन रहेछ भन्ने तथ्यबोध हुँदाको दिन उनीहरूले ओलीको राष्ट्रवादसँगै आफू पनि ठण्डराम भैसकेको अनुभूति गर्नेछन् । आफू झुक्किएको अनुभूति गर्नेछन् । स्तम्भित हुनेछन् । किम्कर्तव्यविमूढताको स्थितिमा पुग्नेछन् । पश्चातापको अग्निज्वालामा पिल्सने छन् र लाजले पानी पानी हुनेछन् । किनकि त्यतिखेर अन्ध समर्थक, प्रशंसक, शुभचिन्तक र आशामुखीहरूलाई ‘निलो स्याल’ को लोककथाको झलझली स्मरण हुनेछ । कर्कलाको पातमा जमेको शितको थोपा सूर्यको किरणको सम्पर्कमा आउँदा चम्क्यो भन्दैमा त्यो मोती बन्दैन । ‘सबै चम्कने वस्तुहरू सुन हुदैनन्’ भन्ने लोकोक्ति नै छ । माछा चिसो पानीमा हुर्केको हो कि तातो पोखरीमा भन्ने कुरा उसको स्वादबाट पत्तो लाग्छ । अग्निपरीक्षाबाट कुन्दन ठहरिने त असली सुन मात्रै हो ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here