प्रदेश समृद्धिको एउटै आधार पर्यटन

136

राज्यलक्ष्मी शाक्य
स्थानीय तहको निर्वाचन भएको करिब १ वर्ष बितेको छ भने प्रदेश तथा केन्द्रको निर्वाचन भएको पनि करिब ६ महिना बितिसकेको छ । यो अवधिमा स्थानीय तह र प्रदेश सरकार आफ्नो कार्यक्षेत्र के हो ? कसरी काम गर्ने ? भन्ने विषयमा नै अलमलमा परेको देखिन्छ । मुलुक संघीयतामा गएको र यो व्यवस्था सबैका लागि सर्वथा नौलो भएका कारण पनि स्थानीय तह र प्रदेश सरकारलाई अलमल भएको हुनसक्छ । तर पनि स्थानीय तहले सोचेजति काम गर्न सकेको छैन । प्रदेश सरकारले पनि गठन भएको महिनौं बितिसक्दा एउटा प्रदेशबाहेक अन्यले स्थायी राजधान र प्रदेशको नाम तोक्न सकेका छैनन् ।

 
अहिले केन्द्र सरकार बजेट ल्याउने तयारी गरिरहँदा प्रदेश सरकारले कति बजेट पाउने विषयले चर्चा पाएको छ । केन्द्र सरकारले सबै प्रदेशलाई समान १५ अर्ब दिने तयारी थालेको छ । तर, प्रदेशका प्रमुखहरुले भने यो अति नै कम बजेट रहेको जनाइरहेका छन् । केन्द्रबाट बजेट कम आउने भएपछि अब प्रदेश सरकारलाई कसरी आन्तरिक रुपमा सबल र सक्षम बनाउने भन्ने विषयले प्रदेश सरकारलाई सताएको छ । मुलुकका सातवटै प्रदेशको आआफ्नै विशेषताहरू रहेका छन् । तर, पनि उनीहरूको एउटा साझा विशेषता हो, पर्यटकीय क्षेत्र हुनु । नेपाल प्राकृतिक दृष्टिले सुन्दर राष्ट्र हो । विश्वका अन्य मुलुकका नागरिकलाई यहाँ पर्यटनका लागि आह्वान गर्न हामीले कृत्रिम पर्यटकीय क्षेत्र बनाउनुपर्ने आवश्यकता छैन । प्राकृतिक सँगसँगै धार्मिक, सांस्कृतिक, विभिन्न जातजातिको विविधताका कारण पनि यहाँ थुप्रै पर्यटकीय क्षेत्र छन् । ती पर्यटकीय क्षेत्र नै वास्तवमा हरेक प्रदेशको असली सम्पत्ति हो । त्यसलाई सदुपयोग गर्न सके पनि प्रदेश विकासमा ठूलो टेवा पुग्न सक्छ ।

 
प्रदेश नं. १ भारतीय हिलस्टेसन तथा पहिलेको शिक्षाको केन्द्र दार्जि्लिङसँग जोडिएको छ । यहाँ धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण मानिने पाथिभरा माई, पवित्र वराह क्षेत्र, हलेसी महादेव, दन्तकाली र बुढासुब्बाको मन्दिर तथा प्रख्यात किरात धर्मगुरु सिरिजङ्गा तथा महागुरु फाल्गुनन्दको जन्मस्थल पर्छ । त्यस्तै, यहाँ नै सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कोशी टप्पुसंरक्षण क्षेत्र लगायत छन् । प्रदेश नम्बर २ मा पवित्र प्राचीन शहर जनकपुर हुनुका साथै सगरमाथा क्षेत्र जानुअघि रोकिने प्रमुख मुकाम पनि बन्न सक्छ । यहाँ धार्मिक र ऐतिहासिक पर्यटनका लागि जनकपुर, गढिमाई र सिमरौनगढ जस्ता स्थलहरू महत्वपूर्ण आकर्षण बन्न सक्छन् ।
प्रदेश नं. ३ मा अहिले नै पर्यटकहरू जाने प्रमुख दुई स्थल काठमाडौं र चितवन रहेको छ । यस प्रदेशमा चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज तथा गौरीशंकर संरक्षण क्षेत्रसमेत यो प्रदेशमा पर्छन्, जुन पर्यटकीय दृष्टिले धेरै महत्वपूर्ण छन् । प्रदेश नं. ४ मा पनि पर्यटनको प्रचुर सम्भावना छ । काठमाडौंपछिको दोस्रो पर्यटकीय क्षेत्र पोखरा यहीँ हुनुका साथै मुस्ताङ, बन्दिपुर, मनाङ जस्ता पर्यटकीय क्षेत्रहरू छन् । संसारको सबैभन्दा गहिरो गल्छी (कालीगण्डकी), धार्मिक पर्यटनका लागि प्रख्यात देवघाट, मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड जस्ता स्थानहरू यहीँ छन् । प्रदेश नं. ५ को प्रमुख सम्भावना पर्यटन नै हो । लुम्बिनीको आध्यात्मिक महत्व र भगवान् बुद्धको जीवनसँग जोडिएका अन्य स्थलहरूको उचित प्रचारप्रसार हुन सकेको स्थितिमा लुम्बिनी क्षेत्रले धेरै पर्यटकहरू आकर्षित गर्न सक्नेछ । त्यसबाहेक गैंडा, बाघजस्ता जनावरहरूको वासस्थल बन्दै गएको बर्दिया र बाँके निकुञ्ज क्षेत्रको अझै यथेष्ट प्रचार हुन सकेको छैन । नेपालगञ्ज हाल मानसरोवर यात्रा गर्नेहरूको लागि एक महत्वपूर्ण मुकाम भएको छ । त्यसबाहेक तानसेन जस्ता शहरहरू उष्ण छिमेकी भारतीय शहरका पर्यटकहरूलाई आकर्षण गर्न सक्ने क्षमता राख्छन् ।

 
प्रदेश नं. ६ मा सुर्खेतको कांक्रेविहार होस् अथवा मुगुको रारा तालको आकर्षण यस प्रदेशले आफ्ना संभावनाको तुलनामा कम पर्यटकीय लाभ उठाइरहेको वर्तमान स्थिति छ । यसबाहेक हिमाली भेगका डोल्पा र हुम्ला जिल्लाहरूले जडिबुटी र पर्यटनको अपार संभावना बोकेका छन् । प्रदेश नं. ७ मा यहाँका ऐतिहासिक मन्दिरहरू जस्तैः उग्रतारा मन्दिर, शैलेश्वरी मन्दिर, बडिमालिका मन्दिर, त्रिपुरासुन्दरी मन्दिर र सुन्दर खप्तड क्षेत्र आफैमा धार्मिक पर्यटकीय गन्तव्य हुन् भने यो प्रदेश प्रसिद्ध तीर्थस्थल मानसरोवर जानेबाटोमा पनि पर्छ ।
सातवटै प्रदेशमा यथेष्ट पर्यटकीय क्षेत्र भएता पनि तिनीहरूको अझै पर्याप्त प्रचारप्रसार हुन सकेको छैन । विगतमा केन्द्रीय सरकार भएकाले पनि प्रचार हुन नसकेका हुन् । तर, अब त्यस्ता क्षेत्रको प्रचारप्रसार गर्ने जिम्मा प्रदेश सरकारले लिनुपर्छ । हालै मात्र प्रदेश नं. ६ ले रारा पर्यटन वर्ष मनाउने भएको छ । वैशाख १ गते मुगुको रारा तालमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । यसले उक्त क्षेत्रलाई प्रचार गर्न थप सहयोग गर्नेछ । प्रदेश सरकारले नयाँ नयाँ पर्यटकीय क्षेत्रको पहिचान गरी, आवश्यक पूर्वाधार निर्माण तथा अन्तरर्राष्ट्रिय क्षेत्रमा समेत प्रचार गर्ने प्रयास गर्नुपर्छ । अनि मात्र समृद्ध प्रदेश बनाउने उनीहरूको सपना पूरा हुन सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here