सुन तस्करी: अपराधसँगै अर्थतन्त्रसमेत प्रभावित

158

उत्तम अर्याल
केही महिनायता ३३ किलो सुनकाण्डको अनुसन्धानका कारण वर्षौंदेखि संगठित रुपमा हुँदै आएको सुन तस्करीको पर्दाफास भएको छ । तस्करहरुले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै वर्षेनि सयौं टनको हाराहारीमा सुन तस्करी गर्दै आएको उक्त अनुसन्धानले खुलासा गरेको हो । सुन तस्करीमा राजनीतिक दलका नेता, व्यवसायी, प्रहरीका उच्च अधिकृतहरु र तस्करहरुको संलग्नता रहेको पनि पत्ता लागेको छ ।
गत चैतमा गृह मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल आफैले देशमा टनका टन सुन तस्करी भइरहेको खुलासा गरेका थिए । हवाई तथा स्थल मार्गबाट दशकौंदेखि संगठित रुपमा भइरहेको सुन तस्करीले मुलुकको अर्थतन्त्र धराशायी हुँदै गइरहेको परिप्रेक्ष्यमा गृहमन्त्री थापाको उक्त वक्तव्यले मुलुक माफिया, तस्कर र आपराधिक समूहको चंगुलमा फसेको सहजै अनुमान लगाउन सकिन्छ । तस्करीको सुनसम्बन्धी विवादमा तस्कर समूहकै एक व्यक्तिको हत्या भएको प्रकरणबाट विकसित घटनाक्रमले फागुन अन्तिम सातातिर आफूलाई उपलब्ध केही सबुद प्रमाणको आधारमा नै गृहमन्त्री थापाले उक्त विषय उठान गरेका थिए ।

 

के हो ३३ किलो सुनकाण्ड ?
गत फागुन १८ मा धरानमा भएको सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बद्नियतपूर्वक काम गरेको भन्दै फागुन अन्तिम साता गृह मन्त्रालयमा उजुरी प¥यो । महाशाखाको विशेष टोलीले गत १९ फागुनमा विराटनगर महानगर–३ स्थित पोखरिया कन्या मार्गमा सडकमा गुड्दै गरेको बा १२ च ५९६३ नम्बरको स्कर्पियोबाट मोरङ उर्लाबारी–७ निवासी सनम शाक्यको शव फेला परेको दाबी गरेर जिल्ला प्रहरी कार्यालय मोरङलाई घटना अनुसन्धानको जिम्मा लगाएको थियो ।
सुन विवादसम्बन्धी उक्त घटनामा पीडित भएका नरेन्द्र कार्की र मोहन काफ्लेलाई जबर्जस्ती प्रतिवादी बनाएर मुख्य आरोपी गोरे भन्ने चूडामणि उप्रेतीलाई भगाउने काममा प्रहरीको भूमिका रहेको भन्दै पीडितका आफन्तले गृह मन्त्रालयमा उजुरी दिएका थिए । घटना विवरणअनुसार फागुन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी गरेर ल्याइएको ३३ किलो सुन गायब भयो । उक्त सुन कसैले लुट्यो अथवा कसैले लुकायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । सुन तस्करीको साम्राज्य चलाउँदै आएका चूडामणि उप्रेती उक्त सुनको मालिक हुन् । जो बजारमा गोरे नामले चिनिन्छन् । हाल प्रहरीको थुनामा रहेका मोहन काफ्ले, नरेन्द्र कार्की र मृतक सनम शाक्य भरिया हुन् । ३३ किलो सुन गायब भएपछि गोरेले सुन खोजिदिन महाशाखाका सई सन्जेललाई अनुरोध गर्छन् । सञ्जेलले सुन आधा आधा बाड्ने शर्तमा गोरेलाई सहयोग गर्ने आश्वासन दिएपछि सुन खोज्ने अभियान सुरु हुन्छ । १२ फागुनमा गोरेले भरियामध्येका नरेन्द्र कार्कीलाई काठमाडौं बोलाएर गौरीघाटस्थित एक घरमा बन्धक बनाउँछन् । त्यहाँ उनलाई चरम यातना दिइन्छ । जति कुट्दा पनि कार्कीले कुरा नखोलेपछि १५ फागुनमा त्रिभुवन विमानस्थलबाट जहाजमार्फत कार्कीलाई विराटनगर पु¥याइन्छ भने मोहन काफ्ले र सनम शाक्यलाई सिरहाको लहान बोलाएर सोधपुछ गरिन्छ ।
सोही साँझ तीनै जनालाई सुनसरीको इटहरीमा भेला गराएर गोरे र उनका सहयोगीहरूले स्कर्पियो गाडीमा राखेर राती धरानको निर्भाणा कन्ट्री क्लब पु¥याउँछन् । त्यस रातभर होटलको कोठामा खानासमेत खान नदिई तीनै जनालाई चरम यातना दिइन्छ । रातभर जति कुटपिट गर्दा पनि उनीहरूले केही नबोलेपछि १६ फागुनको बिहानै काठमाडौं जाने भन्दै गोरेले तीन जनालाई स्कर्पियो गाडीमा राखेर मोरङ उर्लाबारीको झारासाझी भन्ने ठाउँको जंगलमा लगेर चरम यातना दिन्छन् । धरानबाट झारासाझी लगेर यातना दिने र साँझ धरानको निर्भाणा कन्ट्री क्लब ल्याउने प्रक्रिया दुई दिनसम्म चल्छ । यस्तै क्रम चलिरहदाँ १८ फागुनको दिउँसो विद्युतीय करेन्टको यातना सहन नसकी सनमले मृत्युवरण गर्छन् । कार्की र काफ्ले बाँच्न सफल हुन्छन् । उक्त प्रकरणमा विमानस्थलबाट सुन बाहिर ल्याउने सानु वन र प्रहरी हिरासतमा प्रेमकुमार चौधरीले आत्महत्या गरेका छन् ।

 

प्रहरीको पनि संलग्नता
३३ किलो सुनकाण्ड र सनम शाक्य मृत्यु प्रकरणबारे अनुसन्धान गर्न गठित छानबिन समितिका अनुसार उक्त प्रकरणमा प्रहरीका उच्च अधिकारीको पनि संलग्नता देखिएको छ । समितिका अनुसार केही प्रहरीले सुन तस्करीका मुख्य आरोपी गोरेलाई तस्करीमा नै सहयोग गरेको देखिन्छ भने महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी अधिकारीले भने गोरेलाई भगाउन र शाक्यको हत्या प्रकरणलाई मोड्न खोजेको आरोप लागेको देखिन्छ । सो प्रकरणमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ६३ जनाविरुद्ध सुन चोरी पैठारी निकासी, कर्तव्य ज्यान, अपहरण र सङ्गठित अपराधअन्तर्गत मोरङ जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत चलाइएको मुद्दामा अहिलेसम्म २९ जनालाई पक्राउ गरी अदालतमा बुझाइएको छ । पक्राउ पर्नेमा ८ जना पूर्व तथा बहालवाला प्रहरी, १३ जना एयरलाइन्स कर्मचारी, ६ जना भरिया र ३ जना व्यापारी छन् । सो मुद्दामा ९ जना पूर्व तथा बहालवाला प्रहरी अधिकृतहरूमाथि मुद्दा चलाइएकोमा एसएसपी श्यामबहादुर खत्री फरार छन् । जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले विभिन्न ४ ओटा मुद्दामा अभियोगपत्र दर्ता भएको बताए । मुद्दा चलाइएकामा अन्य प्रहरीमा पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, डीएसपी प्रजीत केसी, सई बालकृष्ण सञ्जेल, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल र प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत, प्रहरी जवान विष्णु खड्का र प्रहरी हवल्दार अमरबहादुर थापामगर रहेको जिल्ला अदालतले बताएको छ । प्रतिवादीसँग २०७० यता गरेको सुन तस्करी कारोबारअनुसार १७ अर्ब १ करोड ८० लाख ७१ हजार बिगोसमेत मागदाबी गरिएको स्रोतले जानकारी दिएको छ । प्रहरीले अनुसन्धानका क्रममा बरामद गरेका सामान र २ ओटा गाडीसमेत अदालतमा बुझाएको छ । उनीहरूको बयानसमेत लिइएको छ ।

 

सुन तस्करीले अर्थतन्त्रलाई असर
छानबिन समितिले अदालतमा बुझाएको प्रतिवेदनअनुसार गोरे समूहले मात्र गत चार वर्षमा त्रिभुवन विमानस्थलबाट ३८ किलो सुन तस्करी गरेको तथ्यांक छ । सुन तस्करीका कारण नेपालको अर्थतन्त्रलाई समेत नकारात्मक असर पुगेको जनाइएको छ । सुन तस्करीका कारण नेपालको अर्थतन्त्र डामाडोल हुने अवस्थामा आइपुगेको भन्दै नेपाल राष्ट्र बैंकका पदाधिकारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन प्रमुख तथा डीआईजी नवराज सिलवाललाई तस्करी रोक्न आग्रह गरेको थियो । तत्पश्चात् सीआईबी सुन तस्करीविरुद्ध थालेको अभियानको क्रममा साढे ३३ किलो सुन तथा त्यसका भरिया पक्राउ परेका थिए । राष्ट्र बैंकका अनुसार तस्करहरुले विदेशमा काम गर्ने नेपालीहरुको पैसा बटुलेर सुन तस्करी गर्दै आएका छन् । जसले गर्दा विदेशबाट भित्रिने विप्रेषणमा असर पुगेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार अवैध सुन तस्करीको प्रत्यक्ष असर विदेशी विनिमय र विप्रेषणमा पर्दछ ।

 

४० सालदेखि सुन तस्करी गथ्र्यौं
मलाई यकिन मिति याद भएन, वि.सं. ०४०÷४५ सालतिर म थाई एयरबाट विदेश जाने र नेपाल फर्कने क्रममा चिनजान भएका थाई एयरलाइन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ र निजको साथी ताहाचल बस्ने बसन्तप्रसाद विजुक्षेसँग काठमाडौंमा भेट भयो । निजहरुले पहिलेदेखि नै सोल्टी होटलछेउको ग्र्याण्ड होटलको गोयल भन्ने साहुजीलगायतका मानिसहरुसँग मिली सुनको कारोबार गर्ने गरेका र निजहरुको ग्र्याण्ड होटलको गोयल भन्ने साहुजी लगायतका अन्य साथीहरुसँग मनमुटाव भएको कुरा थाहा पाई हामी एक आपसमा भेटघाट हुँदा हामीहरु मिलेर सुनको कारोबार गर्ने सल्लाह भई सो कारोबार गर्न थाल्यौ ।
यसरी सुनको कारोवार गर्ने क्रममा म, गोपालकुमार श्रेष्ठ, बसन्तप्रसाद बिजुक्षे मिलेर संयुक्त लगानीमा हङकङबाट सुन किनेर बैंकक हुँदै थाई एयरलाइन्समार्फत नेपालमा उक्त सुन ल्याएर काठमाडौंका सुन पसलहरुमा बेचबिखन गर्न थाल्यौं । उक्त सुन खरिदका लागि हामीले नेपाली रकम संकलन गरी सो नेपाली रकम हङकङमा रहेका नेपालीहरूका नेपालमै रहेका आफन्तहरुलाई दिने र हङकङबाट सो रकमको सोधभर्नावापत हङकङ डलर लिएर हङकङमा सुन किन्ने र सो सुन नेपालमा ल्याएर पुनः नेपालस्थित विभिन्न सुन पसलहरुमा बिक्री गर्ने गरेका थियौं ।
यसरी सुनको कारोबार गर्ने क्रममा काठमाडौंमा चिनजान भएका एमके भन्ने मोहनकुमार अग्रवाल, पवन अग्रवाललगायत लाई हङकङबाट ल्याएको उक्त सुन दिने गरेका थियौं । हामीले उक्त सुन निजहरुलाई दिएपछि उनहरुले को(कसलाई दिने गरेका थिए, मलाई थाहा भएन । सन १९९० (विसं.०४८) भन्दा अगाडि बसन्तप्रसाद बिजुक्षेले थाई एयरलाइन्सको काम छाडेपछि तत्कालका लागि हामीले सुनको कारोबारमा केही असहजत महशुस गरी सुनको कारोवार बन्द गरी हामीहरु अन्य व्यवसाय गरी बस्यौं ।
सन् २०१३ (वि.सं.०६९) देखि हुनुपर्छ म, गोरे भन्ने चूडामणि उप्रेती, मेरो सालो नाता पर्ने डेबिटर डा.भन्ने छिरिङ वाङ्गेल घले, एमके भन्ने मोहनकुमार अग्रवाल लगायतका मानिसहरुबीच भेटघाट तथा छलफल भई पुनः सुन तस्करी गर्ने योजना बनाइयो । योजना मुताविक मैले गोपालकुमार श्रेष्ठलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा र निजको घरमा समेत गएर निजसँग समेत सल्लाह गरी सुन तस्करीको कारोबार गर्ने निक्र्योल भयो । एयरपोर्टबाट के कसरी सुन बाहिर निकाल्ने भनी निजसँग सल्लाह गर्दा निज गोपालकुमार श्रेष्ठले प्लेनको ट्वाइलेटमा फोहोर फाल्ने डस्टविनमार्फत सुन लुकाएर थाई एयरका सरसफाइ गर्ने कर्मचारीहरुले बाहिर निकाल्ने र उक्त सुन ग्यारेज हुँदै बिमानस्थल बाहिरसम्म लिएर जाने भनी योजना बनाई सोही मुताविक सुन तस्करीको कारोबार गर्न थाल्यौं ।
यसरी सुनको तस्करी गर्ने क्रममा एमके भन्ने मोहनकुमार अग्रवाल र निजका तीनजना मैले नाम थाहा नपाएका दाजुभाइहरु, पवन अग्रवाल, दरबारमार्गस्थित आरके डायमन्डका साहुजी राजेन्द्र शाक्य पनि सो कारोबारमा संलग्न रहेका थिए । सुन तस्करीका लागि एमके भन्ने मोहनकुमार अग्रवालले नेपाली रकमको व्यवस्था गर्ने र सो रकम बैंकक र दुबईमा रहेका नेपालीहरुका नेपालमा रहेका आफन्तहरुलाई दिई सो रकम वापतको सोधभर्ना बैंकक र दुबईमा लिने र कहिलेकाहीँ हाम्रो आफ्नो रकम लगानी गरी बैंकक र दुबईबाट सुन किनेर थाई एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याउन थाल्यौं ।
त्रिभुवन विमानस्थलमा त्यहाँ थाई एयरलाइन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठलगायतका मानिसहरुको संलग्नतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर ल्याएर पहिले गोपालकुमार श्रेष्ठ, एलबी मगर भन्ने लालबहादुर मगर र वीरेन्द्रमान श्रेष्ठले मेरो घरमा आएर सुन दिने गरेका थिए । यसबीचमा मेरो पार्टनर मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले र मेरो केही मनमुटावसमेत भएको साथै लामो समयसम्म मेरो घरमा निजहरुले सामान लिएर आउँदा प्रहरी तथा अन्य मानिसहरुले समेत शंका गर्ने डरले मैले गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठलाई अबदेखि मेरो घरमा नआउनू, तर मेरो मान्छेले भनेको स्थानमा गएर सामान छाड्नु भनें ।

 
त्यसपछि निजहरुले म, मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले, गोरे भन्ने चूडामणि उप्रेतीलगायतको सरसल्लाहमा मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेका सवारी चालक मैले भाञ्जा भन्ने गरेको फाल्दुङ गुरुङ भन्ने व्यक्तिले देखाएबमोजिम गोरे भन्ने चुडामणी उप्रेती लगायतले सञ्चालन गरेको अनामनगरस्थित अफिस र हाडीगाउँस्थित गोरेले सुन तस्करी गर्न भाडामा लिएको कोठामा पु¥याउन थाले ।
गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै मेरो घरमा ल्याउने सुनको कमिसन मैले गोपालकुमार श्रेष्ठलाई उपलब्ध गराउने गरेको थिएँ । यसरी सुनको कारोवार गर्ने क्रममा एमके भन्ने मोहन कुमार अग्रवालको सुन ल्याउने मात्र नभएर कहिलेकाहीँ मेरो र डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेको संयुक्त लगानीको र गोरे भन्ने चूडामणि उप्रेतीको लगानी रहेको सुनसमेत ल्याउने गरेका थियौं ।

 
गोरेको लगानी रहेको सुन गोरे भन्ने चूडामणि उप्रेतीले लिने, मेरो लगानी भएको सुन मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले हुँदै मैले प्राप्त गर्ने र एमके भन्ने मोहनकुमार अग्रवालको लगानी भएको सुन गोरे हुँदै निजले प्राप्त गर्ने गथ्र्यौं । एमके भन्ने मोहनकुमार अग्रवालले सो सुनको कमिसनबापतको रकम गोरेलाई दिने, गोरेले उक्त रकमबाट आफ्नो टिमको के कति कमिसन कटाएर बाँकी रकम मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेलाई दिने र छिरिङ वाङ्गेल घलेले समेत निजको भागको के कति कमिसन रकम कटाएर मलाई दिएपछि मैले मेरो भागको कमिसन रकम कटाएर बाँकी रकम गोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ ।

 
गोपालकुमार श्रेष्ठले सो रकम निजको टिमका सदस्यहरुलाई बाँड्ने गरेका थिए । प्रायःजसो सुन तस्करी गर्ने क्रममा सुनको कमिसन बापत मैले प्रतिएक के.जी को नेपाली रकम ४० हजार पाउने गरेको थिएँ । र, सो रकमबाट मैलेप्रति एक के.जी. ५ हजार रुपैयाँ आफूसँग राखी ३५ हजार गोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ । कहिलेकाहीँ सो रकमबाट बिमावापत भनी केही रकमसमेत काटेर मात्र निजलाई रकम दिने गरेको थिएँ । यसरी सुन तस्करी गर्ने क्रममा प्रतिमहिना ४÷५ पटकदेखि ८÷१० पटकसम्म सुन आउने गरेको मलाई थाहा छ ।

 
सुन तस्करीको क्रम निर्वाध तथा निरन्तररुपमा चलिरहेको थियो र हाम्रो कमाइ पनि भइरहेको थियो । पछिल्लो पटक सन् २०१८ जनवरी २३ तारिक (०७४ माघ ९ गते) एमके भन्ने मोहनकुमार अग्रवालको लगानी रहेको मसमेतले कमिसन प्राप्त गर्ने साढे ३३ केजी सुन बैंककबाट थाई एयरलाईन्स हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंसम्म ल्याएपछि सो सुन सानु बन र तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अनामनगरस्थित गोरे भन्ने चूडामणि उप्रेतीले सञ्चालन गरेको अफिसमा लैजाने क्रममा लुटिएको कुरा मैले जानकारी पाएँ ।
सुन मालिक एमके भन्ने मोहनकुमार अग्रवालको उक्त सुन पत्ता लगाउनैपर्ने दबाव आएसँगै मैले र छिरिङ वाङ्गेल घलेले गोरेलाई उक्त हराएको साढे ३३ केजी सुन जसरी भए पनि पत्ता लगाउनुपर्ने दबाब दिइरहेका थियौं । हामीहरुले जे जसरी हुन्छ, हाम्रै समूहका मानिसहरु यसमा संलग्न रहे पनि ज्यान लिनुपर्ने अवस्था आए पनि पछि नहटी सुन पत्ता लगाउनु भनी निर्देशन दिएका थियौं । हराएको उक्त साढे ३३ के.जी. सुन नभेटिएमा थाई एयरका एयरपोर्टका कर्मचारीहरुको समूहबाटै हराएको सुनको क्षतिपूर्ती असुल गर्नुपर्ने अवस्था रहेको थियो । त्यसैले एयरपोर्टका थाई एयरका कर्मचारीहरुले समेत यस घटनामा संलग्न जोसुकैलाई जस्तोसुकै यातना दिएर ज्यानै लिनुपर्ने भए पनि पछि नहटी सुन पत्ता लगाईछाड्नु भनी गोरे भन्ने चूडामणि उप्रेतीले भन्दा हामीले थाहा पाएका थियौं ।

 
हामीलाई सुन मालिक मोहन कुमार अग्रवालले उक्त सुन कसले लगेको छ, जसको समूहका सदस्यबाट गद्दारी भएको भए पनि तिनीहरुलाई सफाया गर्नुपर्ने (ज्यान मार्ने सम्मको) अवस्था आए पनि सफाया गरेर (ज्यानसमेत मारेर) सुन पत्ता लगाउनु भनी हामी सबैलाई दबाब दिइरहेका थिए । यो कामका लागि गोरेलाई बरु आफ्नो समूहमा रहेका वा अन्य जो कोही मानिसहरुको सफाया गर्नुपरे सोसमेत गरी जसरी भए पनि उक्त सुन खोज्नु भनी दबाब दिई गोरेलाई उक्त कामको जिम्मेवारी दिएका थियौं । हामीले दिएको आदेशबमोजिम नै गोरेले आफैं र आफ्ना गु्रपका मानिसहरुद्वारा विभिन्न सशंकित व्यक्तिहरुलाई विभिन्न स्थानमा लगी यातना दिने क्रममा सनम शाक्यको ज्यान गएको हो ।
(राप्रपा नेतासमेत रहेका सुन तस्करीको आरोपी भुजुङ गुरुङको बयान)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here