राष्ट्रघात, गद्दारी र बिसर्जनतर्फ गए जनक्रान्तिलाई कसैले रोक्न सक्ने छैन
काठमाडौं / दशवर्षे जनयुद्धका एक महत्वपूर्ण हिस्सा बनेका नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले वर्तमान दुई पार्टीबीच एकीकरण भई बनेको नेकपा अण्डरलाइनको शक्तिशाली वाम सरकारलाई गद्दारी नगर्न र बिसर्जनतर्फ नजान गम्भीर चेतावनी दिएका छन् । सो पार्टीका महासचिवसमेत रहेका विप्लवले वर्तमान सरकारले गद्दारी गरेमा वा बिर्सजनको बाटो समाएमा त्यसको नतिजा गम्भीर हुने चेतावनी दिएका छन् । महासचिव विप्लवले गद्दारी र राजनीतिक बिसर्जनले नै जनक्रान्ति निम्त्याउने चेतावनी पनि दिएका छन् । जनताले विगत लामो समयदेखि उठाउँदै आएका माग वर्तमान सरकारले उठाएमा त्यो स्वागतयोग्य हुने विप्लवको भनाइ रहेको छ । वर्तमान सत्ताको बागडोर सम्हालेका व्यक्तिहरूबाट विगतमा आफैले गरेका प्रतिबद्धता विपरित काम गरेमा त्यसले गम्भीर परिणाम ल्याउने र मुलुक पुनः जनक्रान्तिको बाटोमा अघि बढ्ने विप्लवको चेतावनी छ ।
वर्तमान सत्ता सञ्चालकहरूलाई जनताको म्यान्डेड विपरीत जाने अधिकार छैन भन्दै विप्लवले– ‘यदि उनीहरूले जनताको दैनिक जीवनसँग जोडिएका तथा राष्ट्रियतासँग जोडिएका विषयमा सम्झौता गर्छन् भने त्यसले गम्भीर परिणाम ल्याउने छ’ भनेका छन् ।
नेता विप्लवले हालै भारतले हटाएको विराटनगरस्थित फिल्ड कार्यालय जस्तै माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाको सम्झौता पनि खारेज नगरी सुख नपाउने दावी गरेका छन् । विराटनगरबाट फिल्ड कार्यालय हटाएपछि अब विराटनगरको सो कार्यालयमा बम हान्नुपर्ने अवस्था नरहेको भन्दै माथिल्लो कर्णाली र अरुण तेस्रोको हकमा पनि त्यही कुरा लागु हुने चेतावनी दोहो¥याएका छन् । सम्पूर्ण तराई क्षेत्रलाई जलमग्न गराएर कथित पानीजहाज ल्याउने ओली सरकारको योजना आपूmहरूले कुनै हालतमा पनि पूरा हुन नदिने चेतावनी पनि विप्लवले दिएका छन् । तराईवासी जनताको समस्यालाई सम्बोधन गरेझैं गर्ने तर तराई क्षेत्रलाई नै डुबाएर कथित कोशी उच्चबाँधको सपना देख्ने भारतका विस्तारवादी शासकहरू समयमै होसियार रहन पनि विप्लवले चेतावनी दिएका छन् । वाम आवरणमा सत्तामा पुग्ने तर राष्ट्रघाती सन्धि–सम्झौताहरू गरिरहने हो भने नेपाल कम्युनिष्ट पार्टीले नक्कली वाम आवरण जनताका सामु नंग्याएर छोड्ने चेतावनी पनि विप्लेवले दिएका छन् । उनले विराटनगरस्थित भारतीय फिल्ड कार्यालय सरकारी तहमा भएको समझदारीले हटाइएको नभई नेकपाको चेतावनी र बम आक्रमणपछि मात्र हटाइएको खुलासा गरेका छन् । एक प्रश्नको उत्तरमा नेता विप्लवले नेपाली सेना राष्ट्रप्रति वफादार र जिम्मेवार हुनुपर्नेमा पछिल्लो समय त्यस्तो नदेखिएकोमा दुःख व्यक्त गरेका छन् । उनले वर्तमान दलाल सरकारको इशारामा चल्ने सेनाले देशको सुरक्षा गर्न नसक्ने दावी पनि गरेका छन् । उनले सेनालाई मुलुकप्रति वफादार हुन सुझाव दिएका छन् ।
विप्लवले वर्तमान सरकारले जनक्रान्ति निम्त्याउन सक्ने सबै विषयको सम्बोधन गर्न सकेमात्र त्यसले मुलुकको हित गर्ने र जनक्रान्तिको आवश्यकता पनि नहुने तर्क प्रस्तुत गरेका छन् । जनतासँग जोडिएका विषयमा सरकारले सम्बोधन गर्न नसकेमा जनक्रान्तिलाई कसैले रोक्न नसक्ने उनको भनाइ छ । हाल सत्ताको बागडोर सम्हालिरहेका प्रधानमन्त्री नवगठित कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्काअध्यक्ष पुष्पकमल दाहाल तथा गृहमन्त्री रामबहादुर थापा बादल कम्युनिष्ट क्रान्तिको बलमा सत्तामा पुगेका हुन् भन्दै विप्लवले ‘जनतालाई अधिकार सम्पन्न गराउने लक्ष्यसहित झापा आन्दोलनबाट उदाएका ओली तथा १० वर्षै जनयुद्धको बलमा उदाएका प्रचण्ड र बादलले हाल इतिहासकै शक्तिशाली सरकार सञ्चालनको साँचो सम्हालिरहेको अवस्थामा पनि आपूmलाई कमजोर सम्झन्छन् भने नेपाल कम्युनिष्ट पार्टी उनीहरूलाई सत्तामा बस्ने कुनै अधिकार नभएको चेतावनी पनि दिन चाहन्छ’ भन्दै ‘कायरहरूले जनतामाथि दमन गर्ने तथा विदेशी विस्तारवादी र साम्राज्यवादीहरू सामु लम्पसार पर्ने गर्दछन् भने उनीहरूलाई जनताले जनक्रान्तिबाटै कारबाही गर्नेछन्’ भनी चेतावनी दिएका छन् ।
यो समय जनताको पक्षमा काम गर्नका लागि उपयुक्त समय रहेको विप्लवको ठहर रहेको छ । यदि वर्तमान सत्ता सञ्चालकहरूले जनतामाथि घात गरेमा त्यसले मुलुक पुनः क्रान्तिको बाटोमा अघि बढ्ने र हाल सत्ताको बागडोर सम्हालिरहेकाहरूले गम्भीर परिणाम पनि भोग्नुपर्ने विप्लवको चेतावनी छ ।
जनतालाई अधिकार सम्पन्न गराउन सत्ता कब्जा गर्ने चेतावनी दिने प्रचण्ड तथा बादल अहिले सत्ता सञ्चालनको प्रमुख हिस्सा बनेका छन् । विगतमा उनीहरू आफैले गरेको प्रतिबद्धता पूरा गर्नका लागि अहिले निकै उपयुक्त समय आएको छ । कम्युष्टिले सत्ता सञ्चालन गर्दा जनताले साच्चिकै राहत पाउँछन् र जनता अधिकार सम्पन्न हुन्छन् भन्ने कुरा महसुस गराउनका लागि वाम पार्टीहरूबीच एकता भएको कुरा पुष्टि गर्न उनीहरूले सक्नुपर्ने विप्लवको सुझाव पनि छ ।
हिजो पुरानो सत्ता, पुरानो व्यवस्था र पुरानै नेताहरूका कारण मुलुक बिग्रिएको भन्दै दावी गर्दै आएका ‘वाम’ नेताहरूलाई अहिले कुनै बहानामा टाढा हुने अधिकार छैन । पार्टी तथा सरकारमा समेत आफ्नै प्रभाव रहेका बेला ओली र प्रचण्डलाई काम नगर्ने छुट छैन । करनी र कथनीमा कति प्रभावशाली हुने भन्ने कुरा पनि विशेष गरी दुई नेताका लागि परीक्षणको समय सुरु भइसकेको छ । हाल प्राप्त भइरहेको जनमतको कदर गर्दै मुलुक परिवर्तनका अभिभारा पूरा गर्छन् वा कुनै बहाना बनाएर जस्केलाबाट निस्कन खोज्छन् ? त्यसैले नै वर्तमान सरकार कति जनउत्तरदायी छ भन्ने कुरा पुष्टि हुनेछ । मुलुकभित्र आम जनता तथा छिमेकी मुलुक एवं विदेशी दातृ निकायले समेत नजिकबाट अवलोकन गरिरहेको वर्तमान सरकारले आफूलाई जनताको कित्तामा उभ्याउँछ वा परम्परावादी दलाल पुँजीपतिहरूको सेवकका रूपमा उभ्याउँछ ?, त्यो वर्तमान सरकारको काम गर्नै शैलीले अब छिट्टै पुष्टि गर्ने छ ।
हालसम्मको नतिजा हेर्दा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला ओलीले देखाएको खातिरदारीले भने वर्तमान सरकार परम्परागत र दलाल व्यवस्था भन्दा फरक नदेखिने संकेत गरेको छ । आफैले रद्द गरेको अरुण तेस्रो सम्झौता भारतको जिम्मा दिने ओली सरकारको निर्णयले पनि वर्तमान सरकारसँग आशा भन्दा बढी निराशा संकेत गरेको छ । यसलाई आगामी दिनमा वर्तमान वाम सरकारले कसरी सम्बोधन गर्छ ? त्यसले नै मुलुकमा अर्काे जनक्रान्तिको जन्म हुने वा नहुने निश्चित गर्नेछ ।
(- जनधारणा साप्ताहिक)