अब त खुल्यो कि ओली कमरेडको बुद्धिको बिर्काे ?

223

–निमकान्त पाण्डे
भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका गतिविधिलाई लक्षित गरी आफ्नो देशको वार्षिक समीक्षात्मक कार्यक्रममा बोल्दै गर्दा मोदीको नेपाल भ्रमण किन भएको रहेछ भन्ने स्पष्ट पारेकी छिन् । यस मानेमा स्वराजलाई धन्यवाद दिनुपर्ने हुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट नेपाल–भारतको सम्बन्ध सुधार भएको भन्दै मख्ख परि बसेका नेपालका प्रधानमन्त्रीलगायतका सत्तासीन नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई आँखा खुल्ने गरी सुषमा स्वराजले सन्देश दिएकी छिन् । नरेन्द्र मोदीको नेपाल भ्रमण नेपालमा भारतीय प्रभाव सशक्त बनाउन केन्द्रित थियो भन्ने पुष्टि भएको छ ।

 

नरेन्द्र मोदीको नेपाल भ्रमणको प्रस्थानबिन्दु जनकपुर रोजिएको थियो मोदीबाटै । मोदीले रोजेको प्रस्थानबिन्दुलाई समर्थन गर्नु नेपालका प्रधानमन्त्रीको कमजोरी हो । प्रस्थानबिन्दु जनकपुरमा भारतले आफ्नो स्वार्थका गतिविधिहरू गर्न चाहेको छ भन्ने कुरा धेरै पहिलादेखि नै जानकारी भएको हो । सबै कुरा स्पष्ट हुँदाहुँदै पनि भारतको प्रभाव विस्तार गराउने गरी प्रधानमन्त्री ओलीले मोदीको चाहना पूरा गरिदिए । यो कुरा सुषमा स्वराजले नबोल्दासम्म अनुमान र आरोपको विषय मात्र बनेको थियो । स्वराजले मोदीको नेपाल भ्रमणे रहस्योद्घाटन गरिदिएकी छिन् । मोदीको भ्रमण न त धार्मिक थियो, न त नेपालसँग मित्रता कायम गर्नका लागि थियो । न त अब नाकाबन्दी गर्न हुँदैन भन्ने पश्चातापका साथ भएको नै थियो । मोदीको भ्रमण नेपालमा नभएर प्रवासी भारतीयहरूलाई सम्बोधन गर्नका लागि भएको कुरा स्वयं स्वराजबाट वार्षिक समीक्षामै प्रस्तुत गरिएपछि यसको विवाद सकिएको छ ।

 

मोदीले नेपालबाट अरुण–तेस्रो लिएर गएका छन् । साथ सय मेघावाट बिजुली उत्पादन हुने अरुण–तेस्रोबाट नेपालले २ सय २१ मेगावाट बिजुली मात्र पाउने गरी सम्झौता भएको छ । यस्तो सम्झौतालाई नेपालका प्रधानमन्त्रीले नेपालको हितमा भएको भनेर कसरी भन्न सकिरहेका होलान् ? आश्चर्यको विषय हो । त्यो २ सय २१ मेगावाट पनि भारतको निगाहमा मात्र नेपालले पाउने भएको छ । भारतले दिन चाहेन भने नेपालले केही लछार्न सक्ने हैसियत नेपालसँग छैन । त्यो परियोजनाको स्वीच पनि भारतको अधीनमा नै रहने भएको छ । भारतले दैनिक उपभोग्य सामग्रीहरूमा नाकाबन्दी लगाएरजस्तै विद्युत आपूर्तिमा पनि नाकाबन्दी लगाउन सक्ने हैसियत बनाएर बस्ने अधिकार पाएको छ । नदी नेपालको भए पनि उपयोग भारतले गर्ने प्रावधानमा दस्तखत गरेर नेपालको हित भएको हाम्रो देशका नेताहरूले ठानिरहेका छन् । नेपालको हित कसरी हुन्छ भन्नेसम्म चेत नभएका नेताहरूले शासन गरिरहेको हाम्रो देशको सेना विश्वमै शान्ति कायम गर्न सक्षम मानिएको सेना हो । यस्तो गौरवशाली सेना भएको देशका नेताहरूले छिमेकी देशको मिचाहा गतिविधिको विरोध नगरेर लम्पसार पर्ने प्रवृत्तिबाट देशले समृद्धिको बाटो पहिल्याउन कठिन छ । जलसम्पदाको उपयोग र राष्ट्रिय स्वाधीनताको प्रश्न नै नेपालको समृद्धिको प्रस्थानबिन्दू हो भन्ने कुरा हाम्रा नेताहरूले कहिले बुझ्लान् ? भारतीय विदेशमन्त्रीबाट व्यक्त भएको नेपालविरोधी विचारप्रति दृष्टि पु¥याउन बुद्धिको बिर्काे कहिले खोल्ने होलान् हाम्रा नेताहरू ?

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here