महँगीविरुद्ध तीन वाम आज सडकमा उत्रिने

151

काठमाडौं / केपी ओली नेतृत्वको वाम सरकारलाई ०७४ फागुन २५ गते ९४ बुँदे मागहरूसहितको ज्ञापनपत्र बुझाएको नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सहितका तीन वाम पार्टीहरूले आजदेखि सडक आन्दोलन सुरु गर्ने भएका छन् । ९४ बुँदे ज्ञापनपत्र प्राप्त गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञापनपत्र बुझाउन गएका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका नेताहरू सीपी गजुरेल, परि थापा, कमल चौधरी, पवनमान श्रेष्ठ र हरिकृष्ण गजुरेलहरूलाई ज्ञापनपत्रमा उल्लेखित विषयहरूबारे अब यसपछि ज्ञापनपत्र लिएर आउनुपर्ने अवस्था नरहने प्रतिबद्धता व्यक्त गरेको नेता सीपी गजुरेलले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनु भएको थियो ।

 

प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेको तीन महिना पूरा हुँदासम्म पनि ज्ञापनपत्रमा उल्लेखित मागहरू सम्बोधन गर्नेतर्पm सरकारको ध्यानाकर्षण देखिएको छैन । बरु सरकारले पेट्रोलियम पदार्थमा लगातार पाँच पटकसम्म मूल्यवृद्धि गराएर दैनिक उपभोग्य वस्तुहरूलगायत सबै वस्तुहरूमा मूल्यवृद्धि गर्ने आधार तयार गरिदियो । यो मूल्यवृद्धिको विरोध गर्दै तीन वाम पार्टीहरू– नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रूपमा आज विरोध प्रदर्शन गर्ने भएका छन् ।

 

क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले जारी गरेको प्रेसवक्तव्यमा मूल्यवृद्धि फिर्ता गरी महँगी नियन्त्रण गर्न माग गर्नुभएको छ । महँगी घटाउने गरी सरकारले तुरुन्त कदम नचाले सडक आन्दोलन गर्ने उहाँले वक्तव्यमार्फत चेतावनी दिनुभएको छ । प्रेस वक्तव्यमा भनिएको छ– ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा उराल्दै आएको केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको पाँचौं पटक मूल्य वृद्धि गरेको छ । यसको असरले चौतर्फी रूपमा बढेको महँगी नेपाली जनताको लागि थेगी नसक्नु भएको छ । यो अवस्थाको अन्त्यका लागि पेट्रोलियम पदार्थको मूल्य पूर्ववत् अवस्थामा ल्याउनुका साथै उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारले तुरुन्त कदम चालोस् भन्ने हामी जोडदार माग गर्दछौं । अन्यथा सडक संघर्षमा उत्रनु बाहेक हाम्रा अगाडि अर्को विकल्प नरहने कुराको पनि हामी जानकारी गराउन चाहन्छौं ।’

 

आफूलाई ‘वाम सरकार’ भन्ने केपी ओली नेतृत्वको सरकार गठनपछि पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र बजेट भाषणलगत्तै अकाशिएको महँगी र कालोबजारीको देजमोले विरोध गर्दै आएको छ । ओली सरकारले चरम राष्ट्रघात गरेको, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको र जनताको ढाड सेक्ने गरी महँगी बढाएको भन्दै तीन कम्युनिष्ट पार्टीले आज जेठ ३१ गते एकदिने विरोध प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेका हुन् । वामपार्टीहरू सडकमा उत्रिएर गरिने यो विरोध प्रदर्शनले वाम सरकारको अलोकप्रियतालाई थप पुष्टि गर्ने देखिन्छ । सरकारले वाम पार्टीहरूप्रति नरम नीति अपनाउनुको साटो दमनकारी नीति अपनाएको छ । सडकमा उत्रिने तयारी गरिरहेका वाम पार्टीहरूले सरकारलाई दमन बन्द गर्न चेतावनी पनि दिएका छन् । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गर्ने, बेपत्ता पार्नेसम्मका गतिविधिहरू गरिरहेको छ । अदालतमा मुद्दा चलाइएका कार्यकर्ताहरूलाई अदालतले रिहाइ गरेलगत्तै अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेर बेपत्ता गर्ने काम पनि भइरहेको छ । यस्ता गतिविधिहरू तत्काल रोक्न तीन वाम पार्टीले संयुक्त रूपमा सरकारलाई अनुरोध गर्दै अन्यथा परिणाम नराम्रो आउने चेतावनी पनि दिएका छन् ।

 

पछिल्लो समय सरकारले जनताको आवाज सुन्नेभन्दा पनि दबाउने प्रयत्न गर्दै आएको छ । यसले नेपाली कांग्रेसले भनेजस्तै कतै यो सरकार अधिनायकवादी बन्न खोजिरहेको त छैन भन्ने आशंका पनि उब्जाएको छ । सरकारको निर्णयविरुद्ध हुने प्रदर्शन होस् वा विप्लव नेकपालगायतका पार्टीहरूले सरकारको राष्ट्रघाती निर्णयविरुद्ध गरेको विरोधमा प्रहरीको प्रयोग गरेर दमन गर्नुलाई यसै अर्थमा लिन सकिने राजनीतिक विश्लेषकहरूको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैले पनि आफ्नो पार्टीमा विपक्षी मत सुन्नै नचाहने व्यवहार देखाउँदै आएको भनी पार्टीका नेताहरूले नै आलोचना गर्दै आएका छन् । पार्टीको केन्द्रीय कमिटी गठन गर्दाताका पनि महिला सदस्यहरूको संख्या कमी रहेको उल्लेख गर्दा उनले ‘ट्याउँट्याउँ’ नकराउन चेतावनीपूर्ण भाषा प्रयोग गरेका थिए । ओलीको यो रवैया सरकारको निर्णयविरुद्ध सडकमा शान्तिपूर्ण रूपमा विरोध गर्ने पार्टी तथा संगठनप्रति पनि देखिएको छ । सरकारले देजमोको सडक प्रदर्शनलाई सकारात्मक र सुझावको रूपमा नलिई दमनकारी नीति लिने हो भने यसले अझै मुलुकको शान्तिपूर्ण माहोल बिग्रने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।

 

यसैबीच पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेसका भातृ संगठनहरू पनि सडकमा उत्रिएका छन् । नेपाल विद्यार्थी संघ ताप्लेजुङले गत मंगलबार राँकेजुलुस प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थलगायत अन्य सामग्रीको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघले सदरमुकाम फुङ्लिङमा राँकेजुलुस प्रर्दशन गरेको हो । ठाउँठाउँमा विरोध जुलुस निकाल्नुका साथै प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here