धुर्मुस–सुन्तली र नेपाली समाजको मानसिकता

94

राज्यलक्ष्मी शाक्य
पछिल्लो समय नेपालमा धुर्मुस–सुन्तलीको नाम ठूलो समाजसेवीको रुपमा लिन थालिएको छ । वास्तविक नाम सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना कट्टेल (सुन्तली) भए पनि उनीहरु अहिले धुर्मुस–सुन्तलीकै नाममा प्रख्यात छन् । कलाकारिताकै कारण प्रख्यात रहेका उनीहरु पछिल्लो समय समाजसेवीका रुपमा पनि चिनिन थालेका हुन् । २०७२ सालको महाभूकम्पपछि जनसेवामा लागेका उनीहरुलाई अहिले देशभित्र र बाहिरबाट ठूलो जन समर्थन पनि रहेको छ । यही जनसमर्थनको बलमा उनीहरुले जनसेवा गर्दै आएका छन् । यो लेखको आरम्भमा नै पंक्तिकार यो स्पष्ट पार्न चाहन्छ कि यो लेख कसैको अन्धसमर्थन वा पक्ष र विपक्षमा लेखिएको होइन । तर, पछिल्लो समय धुर्मुस–सुन्तली फाउण्डेशनलाई लागेको आरोपसँगै केही लेख्ने जमर्को गरेकी छु ।

 

सर्वप्रथम धुर्मुस–सुन्तली फाउण्डेशनकै बारेमा केही उल्लेख गरौं होला । धुर्मुस–सुन्तली फाउण्डेशन कला, सचेतना, भौतिक संरचना निर्माणमार्फत जनसेवामा समर्पित सामाजिक संस्था रहेको जनाइएको छ । यसले कला, निर्माण र सचेतनामार्फत नव नेपालको निर्माणमा विभिन्न प्रभावकारी गतिविधि गर्दै आएको फाउण्डेशनको भनाइ छ । यस फाउण्डेशनले भूकम्पपछिको पुर्ननिर्माणका क्रममा काभ्रे जिल्लाको पहरी गाउँका भूकम्पपीडित २० परिवारका लागि भूकम्पप्रतिरोधी २० घर निर्माण गरेको छ । साथै, सिन्धुपाल्चोकको गिरानचौरको भूकम्पपीडित तामाङ गाउँमा ६६ आवासीय घर तथा महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपांग, बालमैत्री ५३ घरको एकीकृत नमूना मुसहर बस्ती पनि फाउण्डेशनले निर्माण सम्पन्न गरिसकेको छ ।

 

तद्पश्चात पनि उक्त बस्तीको संरक्षण र स्थानीयका आर्थिक समृद्धिका लागि बिभिन्न कार्यहरु तथा क्रियाकलापहरु यस फाउण्डेशनले गदैं आइरहेको छ । यी सबै कार्यहरु नेपाल सरकारको नीति, नियम र मापदण्डअनुसार निर्माण भएको फाउण्डेशनले जनाएको छ । यसका साथै, उक्त फाउण्डेशनले नमूना नेपाल निर्माणको परियोजना पनि अघि बढाएको छ । उक्त नमूना नेपाल नेपालका सम्पूर्ण जातजाति, भाषा, संस्कृति र जीवनशैलीको साझा थलो बन्नुका साथै नेपाललाई नजिकबाट अध्ययन अवलोकन र जान्न बुझ्न चाहनेका लागि पुग्नै पर्ने गन्तव्यका रुपमा पर्यटकीय केन्द्र बनाउने लक्ष्य फाउण्डेशनले लिएको छ । यससँगै नेपालमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला पनि बनाउनेतर्फ फाउण्डेशनले योजना अघि बढाएको छ ।

 

हाल भने सो फाउण्डेशनले काठमाडौंस्थित नेपालकै पुरानो अस्पताल वीर हस्पिटलमा रंगरोगन, स्तरोन्नति र सरसफाइको काम गर्दै आएको छ । स्वास्थ्य मन्त्रालय र वीर अस्पताल व्यवस्थापन समितिकै आग्रहमा उनले सो काम गर्दै आएको सञ्चारमाध्यममा पनि सार्वजनिक भएको छ । तर, यसबीचमा धुर्मुस–सुन्तली फाउण्डेशनलाई जनताबाट फैसा उठाई अनियमितता गरेको आरोप लगाइएको छ । साथै सरकारबाट नै यो फाउण्डेशनलाई असहयोग हुने काम पनि भइरहेको तथ्य मिडियामार्फत सार्वजनिक भएको छ । वीर अस्पताल रंगरोगनकै सन्दर्भमा पनि पहिला संयोजनका लागि आग्रह गर्ने र अहिले बजेट निकासा पनि नगरिदिने र रंगरोगन गर्दा ऋण लागेको पैसा चन्दा असुलेर पनि तिर्ने नदिने अवस्था सृजना गरिएको छ । यसले विगतदेखि जनसेवामा खटिएको सो फाउण्डेशन र यसका नेतृत्वकर्ता धुर्मुस–सुन्तलीलाई हतोत्साहित पार्ने काम भएको देखिन्छ ।

 

धुर्मस–सुन्तली फाउण्डेशन सामाजिक संस्थाले भएकाले यसलाई लागेको आरोपलाई सम्बन्धित निकायले छानबिन गर्नुपर्छ र दोषी भए कारबाही पनि गर्नुपर्छ । विगतमा फाउण्डेशनविरुद्ध प्रधानमन्त्री कार्यालयमा गरिएको एक उजुरीमा छानबिनपश्चात् सो फाउण्डेशनले क्लिन चिट पाएको छ र यसका हरेक गतिविधि पारदर्शी पनि देखिन्छन् । तर, यसरी विना कुनै प्रमाण सो फाउण्डेशनविरुद्ध आरोप लगाउनु भनेको दूषित मानसिकताबाहेक केही होइन । नेपालमा कोही व्यक्तिले राम्रो काम गर्न खोजेमा लाञ्जना र अनेक आरोप लगाउने प्रचलन पुरानै हो । यहाँ खराब काम गर्ने व्यक्तिहरुलाई कुनै प्रश्न गरिँदैन, तर राम्रो काम गर्ने व्यक्तिलाई नराम्रो देखाउन अनेक प्रोपोगाण्डा रच्ने काम हुन्छ । धुर्मुस–सुन्तली पनि यही गलत मानसिकताको शिकार भएको देखिन्छ । अरुलाई नराम्रो देखाउने क्रममा हामीले आफैलाई पनि प्रश्न गर्न आवश्यक छ कि मेरो आरोप कत्तिको सत्यको धरातलमा छ ? के मैले लहैलहैमा त आरोप लगाइरहेको त छैन ? धुर्मुस–सुन्तलीले बारम्बार आफ्नो काम सरकारको सहयोगका लागि नै गरिरहेको र सरकारको सहयोगविना आफूहरुको काम सम्पन्न नहुने जनाउँदै आएका छन् । सरकारले यस्ता व्यक्तिलाई सदुपयोग गरी जनमुखी काम गर्नुपर्ने हो, तर यसमा सरकारका समेत चुक्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here