पुष्पलाल स्मृति दिवसः नेकपाका अध्यक्ष द्वयले सम्बोधन गर्दै 

903

काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस आज  देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ । सोमबार बिहान कीर्तिपुर–४ स्थित चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा श्रद्धाञ्जलि तथा माल्यार्पणको कार्यक्रम राखिएको छ भने दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा स्मृतिसभाको आयोजना गरिएको छ ।

दिउँसोको स्मृतिसभामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताको सहभागिता रहनेछ । सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।

लामो समयदेखि विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीलाई एकिकृत गर्ने लक्ष्यका साथ नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकतापछि यसबर्ष पहिलोपटक संस्थापक महासचिवको स्मृति दिवस मनाउन लागिएको हो । पुष्पलालले निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी र पुष्पलालको भनाइ अनुसार मोतीदेवीसमेत पाँचजना भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए ।

विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अस्पतालमा भएको थियो ।

तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शवसमेत नेपाल ल्याउन दिएको थिएन । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न उनले राजनीतिक यात्रा शुरु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here