फिरौती लिएर पनि अपहरित बालकको हत्या

201

बारा जितपुर सिमरा उपमहानगरपालिका–७ मा एक बालकको हत्या भएको छ ।

गल्ला व्यापारी ललन साहका नौ वर्षीय छोरा अंकित साहको फिरौती लिई हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।

गत ३२ असारमा बालकको फिरौतीका लागि उनकी आमाले १५ लाख भारतीय रुपैयाँ भारतको बेतियामा अपहरणकारीलाई बुझाएकोमा त्यसको भोलिपल्टै अंकितको हत्या भएको हो ।

बालकको हत्या गरी पर्साको जगरनाथपुरको नहरछेउमा फालिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

पर्सा प्रहरीलाई गत ३ साउनमा एउटा बालकको पूरा शरीर सडेर कीरा लागेको शव प्राप्त भएको सूचना आएको थियो । सोही सूचनाका आधारमा नारायणी अस्पतालमा ल्याई आवश्यक अनुसन्धानपछि महानगरपालिकाको सहयोगमा सो शव गाडिएको थियो ।

बारा प्रहरीले अनुसन्धानकै क्रममा गत ६ साउनमा सोही शव अपहृत अंकितको भएको पत्ता लगाएको थियो । अंकितले लगाएको लकेटका आधारमा शव उनको भएको प्रहरीले पहिचान गरेकोे हो ।

तर, मृतक अंकितका परिवारले भने सो शव उनको भएकोमा विश्वास गरेका छैनन् । पीडित परिवारले हत्या भएका बालक अंकित नरहेको बताएपछि बारा प्रहरीले डीएनए टेस्ट गराउन सल्लाह दिएका थिए । शव गलिसकेकाले डीएनएका लागि हड्डी मात्र उत्खनन गरी अनुसन्धान गर्न सकिने प्रहरीले बताएको छ ।

मृतक अंकितका आफन्तले उनको खोजीमा प्रहरीले चासो लिएको अनुभूति आफूहरूले गर्न नसकेको बताएको छ ।

अपहरणकारीको भारतीय मोबाइल नम्बर प्रहरीलाई दिँदा पनि प्रहरीले चासो नदिएको बरू आफूहरूले उनीहरूसँग घण्टौं फोनमा कुरा गरेको प्रहरीलाई बताएको मृतककी आमाले बताइन् ।

उद्योग वाणिज्य संघ बाराका अध्यक्ष विनोद साहले प्रहरीको उदासीनताले फिरौती रकम लिएर पनि अपहरणकारीले यस्तो दुखद घटना घटाएको आरोप लगाए ।

अंकित साहको करिब डेढ महिनाअघि आफ्नो घरपछाडि साथीको घरबाट खेलेर फर्कने क्रममा अपहरण भएको थियो ।

अपहरणकाण्डमा सीआईबी काठमाडौंका विशेष टोलीले पनि अनुसन्धान गरिरहेको बताइन्छ । अपहरणमा संलग्न अजय पटेललगायत तीन जनालाई फक्राउ गरी अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी गराएको छ ।

छोरा अपहरणमा परेको दिनदेखि मृतकका आमाबुबा अचेत अवस्थामा छन् ।  सम्पूर्ण परिवार मानसिक समस्याले पिरोलिएका छन् । झन् फिरौतीको रकम बुझाएपछि पनि छोराको हत्या भएको सुनेर साह परिवार नै शोकमा छन् ।राजधानी दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here