गृहमन्त्री बादल निरंकुश बन्दै गरेको आरोप

58

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरु गरेका सुधारका कामहरूमा अवरोध आइरहे पनि उनले आफ्नो मातहतलाई सकेसम्म चुस्त बनाउने प्रयास गरिरहेका छन् । यसैबीच गृह मन्त्रालय र सोअन्तर्गत निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न उनले निर्देशन दिएको समाचार बाहिर आएको छ। गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे अस्ति मंगलबार गृह मन्त्रालयमा आयोजित समीक्षा बैठकमा कार्ययोजनाको कार्यान्वयन सन्तोषजन रहे पनि अझै गति बढाउन आवश्यक रहेको टिप्पणी गरेका छन् । प्राविधिक कारणले केही बुँदामा ढिलासुस्ती भएको भए केही छैन ।

अन्यथा जानाजान ढिलासुस्ती गरिएको हो भने त्यो मान्य हुनेछैन भन्दै उनले कर्मचारीहरूलाई सचेत गराएका छन् । मन्त्रालयले दिएको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासनका लागि प्रतिवद्ध भएर काम गर्न मातहतका निकायहरूलाई मन्त्री थापाले निर्देशन दिएका छन् ।

‘अहिले हामी सक्रिय भएपछि अपराधीहरू निस्कृय जस्तो देखिएका छन्, मौका मिल्ने बित्तिकै उनिहरू फेरी सक्रिय हुन्छन् । त्यसैले उनीहरूको सञ्जाल तोडिनेगरी काम गर्नुहोस्’ – निर्देशनकै क्रममा मन्त्री थापाले भनेका छन् । थापाले यो अवधीमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्य, सुन तस्करी लगायतका क्षेत्रमा बेथिती अन्य गर्न सफलता मिलेको भन्दै यसका लागि मातहतका कर्मचारी र प्रहरीहरूलाई धन्यवादसमेत दिएका थिए ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिइने स्पष्ट पारे । बैठकमा गृह मन्त्रालय अन्तर्गतका महाशाखा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभागले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना अनुरूप आफुहरूले हालसम्म गरेका कामकारवाहीको विवरण प्रस्तुत गरेका थिए । ८२ बुँदे मध्ये ७२ ओटा बुँदा केही कार्यान्वयनमा आइसकेको, केही कार्यान्वयनको प्रक्रियामा रहेको तथा १० बुँदा भने अझै काम सुरु नभएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो ।

गृहमन्त्री थापाले आन्तरिक रूपमा आफ्नो प्रभावकारिता देखाउने प्रयास गरिरहेका भए पनि राजनीतिक आस्थाका व्यक्तिहरूलाई पञ्चायती शासकहरूको शैलीमा पक्राउ गर्ने र बेपत्ता बनाउने काम प्रहरीबाट गराइरहेको अवस्थाले भने उनलाई निरंकुश शासकका रूपमा रूपान्तरित हुँदै गइरहेको आरोप गैर संसदवादी वामपन्थी राजनीतिक धारबाट लाग्ने गरेको छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here