सफल भयो प्रेम बचाउ अभियान साउदी अरवको जेलमा ९५ लाख तिरेर घर फर्किए प्रेम

273
काठमाडौं । नेपालीहरु बैदेशिक रोजगारको लागि विभिन्न ठाउँमा जानु पर्ने बाध्यात्मक अवस्था छ । सन् २०१२ मा बैदेशिक राेजगारको शिलशिलामा साउदी अरव पुगेका थिए प्रेम राई । इलाम माइनगरपालिका घर भएका प्रेमले त्यहाँ ड्राईभरको रुपमा काम गरे । काम गर्ने क्रममा एक दिन उनको गाडी चोरी भयो । उनले आफ्नो साहुलाई खबर गरे तर उनको साहु त्यहाँ आएन । गाडी हराएपछि उनलाई चोरीको अभियोगमा प्रहरीले नियन्त्रणमा लियो । दुई दिनपछि हराएको गाडी सिसाहरु फुटेको अवस्थामा भेटियो तर गाडीमा भएको सामान भेटिएन । सामानहरु नभेटिएपछि उनको मुद्दा अदालतमा दर्ता गरियो । गाडीको बेवास्ता गरेकोमा उनलाई दुई महिना जेल र ५० कोेर्राको सजाय दिइयो । पछि फेरी अदालतले गाडीमा भएको सामानको मूल्य भन्दै उनलाई ३ लाख १० हजार रियाल (९५ लाख रुपैया) तिर्नु पर्ने फैसला सुनायो । उनलाई यो निर्णयको कागज दस्तखत गर्न दिइयो तर उनले आफूले कुनै पनि हालतमा यो मान्य नहुने भन्दा पनि उनको कुरा कसैले सुनेनन् । उनले साउदी स्थित नेपाली दुताबासलाई हारगुहार गरे तर उनको सुनुवाइ भएन । एक प्रहरी अधिकृतसँग आफू निर्दाेष भएको र आफ्नो घरमा धन सम्पत्ति नभएको, आफूले कमाएर आफ्ना बुढा बुवा र आमा लगाएत साना दुई छोरा छोरी तथा परिवार पाल्नु पर्ने कुरा भनेपछि त्यो प्रहरी अधिकृतले साउदीमा रहेको नेपाली दुतावासलाई खबर गरिदिएको थियो । भोलिपल्ट बिहान सबेरै नेपाली दुतावासबाट प्रेमलाई भेट्न एक कर्मचारी जेलमा आएको थियो । तर उसले प्रेमलाई भेटेर नेपाल सरकारसँग कुरा गरेर छिटै छुटाउने आश्वसन दिए । तर त्यसपछि कहिलै दुतावासका मान्छेको अनुहार समेत नदेखेको प्रेमको गुनासो छ । सरकारी निकायबाट उनलाई जेलबाट छुटाउने प्रयास नभएपछि गत पुसमा प्रेमलाई जेलबाट छुटाउन `प्रेम बचाउ अभियान´ सुरु भएको थियो । उक्त अभियानको मुख्य उद्देश्य प्रेमलाई घर फर्काउनको लागि साउदी अदालतले मागेको विगो ३ लाख १० हजार रियाल जम्मा गर्नु थियो । उक्त अभियान ५ महिनामा सफल भएको अभियानका सदस्य ईन्द्रबहादुर राईले पत्रकार सम्मेलनमा जानकारी गराउँनु भएको थियो । यसको लागि विदेशमा भएका दाजुभाई र दिया मिडियाले ठूलो सहयोग गरेको उहाँले जानकारी गराउनु भयो । राईले भन्नुभयो –“हामी सबै एक भयाैं भने असम्भव भन्ने कुरा केही रहेनछ त्यसलाई हामीले गरेर देखायौं यो काम राज्यले पनि गर्न सकेको थिएन ।” त्यस्तै राज्यले वैदेशिक रोजगारमा गएकाहरुलाई सहयोग नगरेकोमा प्रेम राईले दुःख व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here