काठमाडौं/ हरेक दिन उपत्यकामा आपराधिक घटना घट्नेक्रम बढ्दै गएको छ । बालबालिकाको अपहरण नियमित आकस्मिकता जस्तो भइरहेको छ । अपहरणपछि हत्याका घटना पनि दोहोरिइरहेको छ । हरेक दिनजस्तो बलात्कार र त्यसपछि हत्या गरिएका खबर सार्वजनिक भइरहेका छन् । यो स्थिति उपत्यका मात्र नभएर उपत्यकाबाहिर झनै भयावह किसिमले बिग्रिएको छ ।
एकातिर, काठमाडौंमा बसोबास गर्ने जनसंख्या बढिरहेको छ । अर्कोतिर, शान्तिसुरक्षाका आधारभूत पक्षमा ध्यान नदिँदा बालबालिका र शारीरिक रूपमा कमजोर व्यक्ति आपराधिक व्यक्तिको तारो बन्दै आएका छन्। बालिका र महिलामाथिको जघन्य बलात्कारका घटना हामी कहाँ नौला हुन छाडेका छन् । यो स्थिति आउनुको कारणबारे गहिरो सोच आवश्यक छ।
समाजमा आपराधिक वृत्ति र प्रवृत्तिको विकास किन भइरहेको छ रु अपराध कर्म गर्न मानिस किन डराउँदैन रु यसतर्फ मानिसलाई आकर्षित गर्ने तत्व के हो रु यस्ता किसिमका आपराधिक चिन्तन र त्यसको निराकरण गर्नुपर्ने बेला भइसकेको छ । प्रायः बालबालिकालाई कुनै अपरिचित व्यक्तिले विभिन्न प्रलोभन देखाइ निकटता कायम गर्ने गरेको देखिन्छ ।
बालबालिकासँग निकट भई तिनैलाई अपहरण गरी बाबुआमासँग फिरौती माग्ने गरेका घटना दोहोरिइरहेका छन् । एउटा घटनालाई प्रहरीले सुल्झाउन पाएको हुँदैन फेरि अर्को घटना भइसक्छ । आफ्ना नानीहरू यस्ता आततायीबाट जोगाउन अभिभावकमा विशेष सतर्कता चाहिन्छ।
अपहरण र हत्याका घटना हामीकहाँ नियमितजस्तो भइरहेका छन् । समाजमा बेरोजगारीले मात्र यस्ता घटना भइरहेका छैनन् । नैतिक मूल्यको ह्रास यस्ता घटनाको मुख्य कारण हो । दण्डहीनताले पनि धेरै व्यक्तिलाई अपराध कर्मतर्फ आकर्षित गरेको छ।
पहिले कञ्चनपुरमा बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको सेलाउन नपाउँदै राजधानीको काँडाघारीमा बालक निसान।खड्काको अपहरणपछि हत्या भएको घटनाले फेरि पहिलेका यस्तै घटनाको सम्झना भएको छ । त्यही अपहरणमा जोडिएका नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङको प्रहरी ‘इन्काउन्टर’ भएको छ । यो घटनाको यथार्थ अझै सार्वजनिक भइसकेको छैन । बालकको अपहरण र हत्या जघन्य अपराध हो । यही प्रकृतिका घटना फेरि हुन नदिन प्रहरी थप सक्रिय र सतर्क हुनैपर्छ।
अपहरणमा परेका बालकको मुक्तिका निम्ति प्रहरीले देखाएको सक्रियता प्रशंसनीय हुँदाहुँदै पनि यस्ता घटनाका आरोपितलाई जिउँदै पक्रन सफल भए यथार्थ पत्ता लगाउन सहज हुन्छ र अपराधको गहिराइसम्म पुग्न सकिन्छ । अपहरणकारीलाई सजिलै गिरफ्तार गर्न नसक्ने स्थितिमा घुँडामुनि गोली हानेर पनि अदालतसमक्ष उपस्थित गराएर साँचो कुराको गहिराइ सम्म पुग्न सक्थ्यो तर प्रहरीले ‘इन्काउन्टरमा मरिसकेका थिए ।
यस्ता गतिविधिमा लागेका व्यक्तिको गिरफ्तारी र तिनका विरुद्धमा कडा कारबाहीले मात्र समाजमा खराब कामविरुद्ध सन्देश प्रवाह गर्न सकिन्छ।
आपराधिक प्रकृतिका घटनाले हाम्रो समाजलाई नराम्रो तुल्याउँछ । जुन सहरमा रातसाँझ हिँड्न सकिन्छ, त्यो सभ्य ठाउँ हो । कुनै आपराधिक घटनाको डर नहुँदा बासिन्दालाई बढी स्वतन्त्रताको अनुभूति दिलाउँँछ । अन्यथा, नागरिकको मनोदशा बिग्रन्छ ।
हाम्रो मुलुकमा विदेशबाट आउने पाहुनामा समेत निर्भर छ । पर्यटन उद्योग चलाउन देशको शान्तिसुरक्षाको अवस्था जहिल्यै कायम हुनुपर्छ । त्यसले अन्तर्राष्ट्रिय जगतमा समेत सकारात्मक सन्देश जान्छ । सिंगापुरमा किन धनी र शक्तिशाली मानिस जान चाहन्छन् भने त्यहाँ बढ्ता सुरक्षाको अनुभूति हुन्छ । हाम्रो मुलुकलाई पनि यस्तै सुरक्षा अनुभव गर्न सक्ने बनाउनु आवश्यक छ।
समाजमा बेरोजगारीले मात्र आपराधिक घटना भइरहेका छैनन् । नैतिक मूल्यको ह्रास यस्ता घटनाको मुख्य कारण हो । दण्डहीनताले पनि धेरै व्यक्तिलाई अपराधको कर्मतर्फ आकर्षित गरेको छ । हिंसाको राजनीतिबाट हाम्रो मुलुक बाहिर निस्किएको धेरै भएको छैन । कसैको हत्या गरिहाल्ने मानसिकता हामीकहाँ अलि धेरै नै बढेको अनुभव गर्न सकिन्छ ।
परिवारका निकट सदस्यको हत्याका समाचार पनि दिनहुँजसो आइरहन्छन् । पहिले पनि आपराधिक घटना नभएका होइनन् तर अहिले यसको ग्राफ बढि रहेको देखिन्छ । मानिसमा क्रूरता बढ्नुको कारण पनि खोज्नु आवश्यक छ । सजिलै सम्पत्ति कमाउने लोभमा हुने यस्ता अपराध कर्म बेठिक हो भन्ने सन्देश दिन प्रहरी र समाजका अगुवाहरूले भूमिका निर्वाह गर्नु पनि उत्तिकै जरुरी छ ।
कसैको हत्यासँगै परिवारका सपना चुँडिएका हुन्छन्।कसैको बाबु परिवारका सपना पूरा गर्न विदेशिएका हुन्छन त कसैको नेपालमा नै बसेर परिवारका सपना पूरा गर्न चाहान्छन् । सहरमा यस्तो परिस्थितिका परिवार धेरै छन् । वैदेशिक रोजगारीमा गएका धेरै परिवारसँग आज विषम प्रकृतिका घटना जोडिइरहेका छन् ।
यो दुःखद घटनाबाट पाठ सिक्दै फेरि यस्तो हुन नदिन रोकथाममूलक काममा पनि प्रहरीले भूमिमा निर्वाह गर्नुपर्छ । कुनै अपरिचित वा भर्खरै मात्र चिनेजानेका व्यक्तिसँग नजिकिँदा हुनसक्ने यस्ता घटनाबाट जोगिन सावधानी आवश्यक छ।

















