पाल्पा/ अगेनामा पाकिरहेको दालमा ४ वर्षीय बालक खस्यो । उनको शरीर त्यही तालमा खस्यो र उनी अचेत भए । उम्लिरहेको दालको तातोले उनको शरीर सबै पोल्यो ।
इस्मा गाउँपालिका ३ ठुलाचौरका ४ वर्षीय उमेश कुमाल गत साउन ८ गते घरको उपल्लो तलाबाट अगेनामा खसेको थियो । उपचारका लागि उनका बुबा भक्त बहादुर कुमाल र आमा राधिकासंग कौडी थिएन । छिमेकीसँग हार गुहार गरे र बाटो खर्च जुटाएर जिल्ला अस्पताल तम्घास पु¥याए ।
बालकको पछाडि पट्टिको शरीर पुरै जलेको थियो । अवस्था गम्भिर भएका कारण आईसियु कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । तर, जिल्ला अस्पताल तम्घासमा आईसियु कक्ष छैन । जसका कारण पाल्पा रिफर गरियो । पाल्पा पुराउनुपर्ने भएपछि कुमाल परिवार झनै समस्यामा परे । अपाङ्ग बाबुआमा त्यसमा पनि विपन्न कुमाल परिवारलाई आर्थिक जोहो जुटेन । आर्थिक अवस्था अत्यन्तै न्यून भएकाले आयुसियुको सट्टा ‘सेकेन्ड डिग्री वान’ कक्षमा २० दिनसम्म राखेर उपचार गरिरहेको जिल्ला अस्पताल तम्घासका डाक्टर सुरेन्द्र रायमाझीको भनाई छ ।
अहिले पनि बालक खतरा मुक्त हुन सकैका छैनन् । बालक बचाउन अस्पतालको पुरै टिमले चन्दा संकलन गरेर उपचार गरिरहेको भएपनि खाना खुवाउन समस्या छ । जसका कारण बालकको शरीरमा रगत मात्रा कम भइरहेको डाक्टर रायमाझीले बताए । ‘पाइप मार्फत खाना खुवाएका छौ, बच्चा पीडाले छटपटाउँदा पाइप फाल्छ,’डाक्टर रायमाझीले भने,‘ खाना नै नखाएपछि कसरी छिटो निको हुन्छ ।’ उनले अस्पताल मै निःशुल्क पाइने बाहेक बाहिरबाट ल्याउने औषधीका लागि डाक्टर सुबोध ज्ञवालीको नेतृत्वमा सबै स्टाफहरुले दुई दुई सयका दरले चन्दा उठाएको बताए ।
अस्पतालले छोराको उपचारमा अस्पताल प्रशासनले देखाएका सहयोग प्रति बालककी आमा राधिकाले आँखाबाट आँसु झार्दै कृतज्ञता प्रकट गरिन । श्रीमान कान सुन्दैन । बोली पनि राम्रो फुट्दैन । राधिकाले रुँदै भनिन ‘घरमा बिहान खाए बेलुकी के खाउँ छ, छोरा आँटीबाट खसेर तल पकाउँदै गरेको दालमा डुब्यो ।’ बालकको छटपटाहटले अस्पतालमा समेत समस्या भएको छ । तर, पनि कष्टकर रुपमा उपचार गराउनुपर्ने अस्पताललाई बाध्यता छ । नर्सहरुले आमाको भुमिकामा बालकको उपचार र स्याहार सुसार गरिरहेका छन् ।नयाँ पत्रिका


















