काठमाडौं/ गत शुक्रबार नग्न भएर विरोध प्रदर्शन गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको थियो । पक्राउ गरिएको व्यक्ति हुन् जितिन लिम्बु । उनले नयाँ मुलुकी संहितमा राष्ट्रिय जनावरबाट गाईलाई हटाउनुपर्ने माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।
प्रहरीले पक्राउ गरेर लगेका जितिन भित्री वस्त्रसमेत नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।
हाल लिम्बुलार्इ सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । भदौ १ देखि कार्यान्वयनमा आएको नयाँ मुलुकी अपराध संहिता ऐनको १२२ मा भनिएको छ, ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्ध उपचारको प्रयोजनका लागिबाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन ।
ऐनको दफा १२२ को उपदफा २ मा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजारसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख छ ।

















