प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’ बन्ने

220

काठमाडौं–प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’ बन्ने भएको छ । यसअघि ‘वार रुम’ बनाउने भनिएपनि अहिले त्यसको नाम परिवर्तन गरेर ‘एक्सन रुम’ बनाउन लागिएको हो ।

राष्ट्रिय महत्वका विकास आयोजनाका काममा कुनै समस्या देखापरे तथा मन्त्रालयहरुले गरिरहेको काम र राष्ट्रियस्तरका काम कारवाहीमा समस्या आए त्यसलाई तत्काल समाधानका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति बनाउन लागिएको हो ।

यसका लागि ‘तत्काल समस्या समाधानसम्बन्धी नियमावली २०७५’ को मस्यौदा समेत तयार भएको छ । मस्यौदामा प्रधानमन्त्री अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री, संघीय मामिला मन्त्री तथा समस्यासँग सम्बन्धित मन्त्री र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष सदस्य रहने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयमा सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

‘एक्सन रुम’ बाट कुनै विकास आयोजनामा समस्या आए वा आयोजनास्थलमा भइरहेको कामको प्रगतिको कार्यालयमै बसेर निरीक्षण गरिने व्यवस्था समेत गरिन लागेको छ ।

मन्त्रिपरिषद बैठकमा नलगी छिटो समस्या समाधान गरी काम अघि बढाउनका लागि यो अवधारणा अघि बढाइएको स्रोतले जनाएको छ ।  प्रधानमन्त्री अध्यक्ष रहेको तत्काल समस्या समाधान गर्ने समितिमा महत्वपूर्ण मन्त्रालयका रुपमा रहेका गृह, अर्थ र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सदस्य बनाइँदै छ भने समस्या आउने सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयागलाई आमन्त्रित सदस्यका रुपमा राखिदैछ ।

प्रधानमन्त्री कार्यालयमा मात्र नभई प्रत्येक मन्त्रालयमा एउटा समस्या समाधान समिति बनाउन लागिएको हो । उक्त समितिले समाधान गर्न नसकेको समस्या प्रधानमन्त्री कार्यालयको समितिमा पुग्नेछ ।

यस्तै मन्त्रालय–मन्त्रालय बीचको कार्यक्षेत्रका बारेमा आएका विवाद, विकास निर्माणसम्बन्धी विवाद तथा राष्ट्रिय महत्व रहेको मुद्दामा आएका समस्यालाई उक्त समितिले सम्वोधन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here