ओली कमरेड ! अब आत्मसमीक्षा गर्ने बेला भएन र ?

160

–निमकान्त पाण्डे
कम्युनिष्ट पार्टीको सरकार देशमा निर्माण भएपछि कम्युनिष्ट पार्टीलाई सत्तामा पु¥याउने मतदान गरेका जनताले कस्तो खालको परिवर्तनको अपेक्षा गरेका होलान् भन्ने कुरा सरकार सञ्चालन गर्ने नेताहरुले बुझ्नुपर्ने विषय हो । परन्तु वाम सरकारको आवरण रहे पनि सरकारका कामकारबाहीहरु जनपक्षीय देख्न पाइएको छैन । नेपालमा प्रजातन्त्र स्थापनापश्चात्को करिब ६ दशकयता विभिन्न शासनप्रणालीको अभ्यास हुँदै आएको छ । यस बीचमा पञ्चायतकालमा केही विकासका कामहरु अगाडि बढे पनि देशमा राजनीतिक स्वतन्त्रताको अभावले गर्दा विकासका कामहरु पनि ओझेलमा परेका थिए । राजनीतिक स्वतन्त्रता प्राप्त भइसकेपछि भने विकासका कामहरु हुनै सकेका छैनन । राजनीतिक दलहरूले नेतृत्व गरेका सरकारहरू विकासको अभियानमा लाग्नुभन्दा सत्ताको खेलमा नै समय बिताएर त्यसैलाई राजनीति ठान्न पुगे । समग्रमा हेर्दा यो अवधिमा विकास भोग गर्ने नेपालीहरूको चाहना अधूरै रहेको छ ।

पछिल्लोपटक देशमा वामपन्थीहरुको बहुमतको सरकार निर्माण भइसकेपछि जनताले यो सरकारबाट विकासको अभियान नै देखिन आशा गरेका थिए । ‘हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको खस्रो पात’ भन्ने कीवंदन्तीजस्तै सरकारको कार्यशैली बन्न पुगेको छ । वाम सरकारले आफ्नो गन्तव्यलाई पछ्याउन नसक्नु दुर्भाग्यपूर्ण हो । जनताका अपेक्षा र आफ्ना प्रतिबद्धता समान छन्, तर पनि सरकारको कार्यशैली आफ्नै प्रतिबद्धता विपरीत देखिएको छ । प्रधानमन्त्री केपी ओलीले आफूबाट भएका कामहरु उपलब्धिमूलक भएको भनी जिकिर गर्दै अन्तर्वार्ता दिनेसम्मको धृष्टता गर्नुभएको पाइयो । यो अवस्था झनै निराशाजनक हो । जनतामा चुलिएको असन्तुष्टितर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छैन भन्ने यो नांगो उदाहरण हो । प्रधानमन्त्रीले जनताको गुनासो सुन्न सकेका छैनन् भन्ने यो प्रमाण हो ।

नेपाली जनताले नयाँ शासनसत्ताका लागि बलिदानी दिएका हुन्, जनताले परिवर्तनको सपनाहरू देखेका थिए । तर त्यो पूरा हुन सकेन । यतिबेला हामीसामु वाम गठबन्धनको सहकार्यबाट प्रधानमन्त्री बन्न सफल केपी शर्मा ओली भएकाले यिनीबाट जनतामा अपेक्षा हुनुलाई स्वयं ओलीले पनि स्वाभाविक मान्नुपर्दछ । बहुमतको सरकारको प्रधानमन्त्री बनिसकेपछि छिमेकी देशहरुको भ्रमणलाई नै ठूलो उपलब्धि ठानेर आत्मसमीक्षा गरिन्छ भने त्यो आत्मरति हो । प्रधानमन्त्री ओली अहिले त्यही आत्मरतिबाट रमाइरहेको अवस्था छ । भारत र चीनका भ्रमण गर्दैमा देशका जनता सुखी र खुशी छन् भन्ने भ्रम रहनु दुर्भाग्यपूर्ण हो । प्रधानमन्त्री ओलीले यस्तै भ्रम पालिरहनुभएको देखिन्छ । ओलीलाई प्रधानमन्त्री बनाउने आधार नेपाली जनताको मतदान हो । जनताले मत दिएर विजयी नगराएको भए प्रधानमन्त्री बन्ने सम्भावना हुन्थ्यो र ? छिमेकी देशहरुको चाकडीबाटै प्रधानमन्त्री बन्न पाएको हो जस्तो शैलीमा ओलीका गतिविधिहरु देखिएका छन् । यस्ता गतिविधि आफूले देख्न सकिंदैन, अरुको हेराइ कस्तो छ ? जनताको हेराइ कस्तो छ ? त्यसका आधारमा आफ्ना कामहरुको समीक्षा गर्नु पर्दछ । प्रधानमन्त्री ओलीबाट आफ्ना कामहरुप्रति गौरव गर्ने जो काम भएको छ, यसले जनतामा झनै निराशा जगाएको छ ।

देशमा राजनीतिक संक्रमण पूरा भएको र बहुमत प्राप्त सरकार भएका कारण पनि अब यो सरकारले विकास गर्ला भन्ने नेपालीहरूले सपना देखेका हुन् । जनताले देखेका सपना भ्रम साबित भइरहेका छन् । जनतामाथि करको भार थोपरिएको छ । जनता महँगीको मारबाट थला परेका छन् । अराजकता व्याप्त छ, असुरक्षा व्याप्त छ, बाल बलात्कारीहरु सरकारका सामु चुनौती बनिरहेका छन् । गुण्डागर्दी र अपहरण दैनिकी बनिरहेको छ । देशको यस्तो जटिल अवस्थालाई प्रधानमन्त्रीलगायत सरकारमा रहेका जिम्मेवार मन्त्रीहरुले नदेखेझैं गरिरहेका छन् ।

दोस्रोपटक र आफ्नै पार्टीको बहुमतसहितको प्रधानमन्त्री बनेका केपी ओलीको लागि सायद वर्तमान अवस्था आफ्नो क्षमता देखाउने अन्तिम अवसर पनि हुनसक्दछ । उहाँलाई लागेको रोगका कारण सायदै अर्काेपटक उहाँले सरकारको नेतृत्व गर्न पाउनुहुनेछ, यो कुरा स्वयं प्रधानमन्त्री ओलीले पटक–पटक सार्वजनिक रूपमा उल्लेख गर्दै आउनुभएको पनि छ । प्रधानमन्त्री ओलीले आपूm १८ घण्टा काममा खटिरहेको भनेर आफ्नो व्यस्ततालाई ठाउँ–ठाउँमा व्यक्त गरिराख्नुभएको सुनिन्छ । उहाँको व्यस्तता के को लागि ? उहाँ स्वयंले आत्मसमीक्षा गर्नुपर्ने विषय हो यो । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री राजनीतिक व्यक्ति नभएर क्रिकेट खेलाडी हुन् । उनले सपथ गरेकै दिन आफ्नो लोकप्रियता पाकिस्तानी जनताका बीचमा मात्र नभएर छिमेकी देशहरुमा समेत तरंगित बनाउन सफलता प्राप्त गरे । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि लोकप्रियताको शिखर यसैगरी चुमेका थिए । हाम्रा प्रधानमन्त्री ओली चौध वर्ष जेलवासको बखान र हालका दिनहरुमा १८ घण्टा व्यस्तताको बखानमै बिताइरहनुपर्ने तर जनताले कतैतिरबाट सन्तुष्टि महसुस गर्नु धेरै टाढाको कुरा भइसकेको छ । बरु असन्तुष्टि नै चुलिंदो छ ।

यसपटक बहुमतको सरकार बनेपछि सरकारका प्रारम्भिक क्रियाकलापहरु प्रशंसनीय भएका थिए । राम्रो कामको प्रशंसा हुँदोरहेछ भन्ने कुरा त्यसैबाट पनि पुष्टि हुन्छ । यातायातको सिण्डिकेट तोडिनु र सुन तस्करहरुको सञ्जाल सरकारको कब्जामा पर्नुजस्ता घटनाले सरकारको कामप्रति जनता आशावादी भएका थिए । परन्तु अब दुवै काम पनि निराशामा परिणत भएका छन् । सरकारले छिमेकी देशहरुसँगको राम्रो सम्बन्धको बखान गरिरहेको छ । राम्रो सम्बन्ध भनेको कस्तो ? जलसम्पदाहरु छिमेकीको गइरहेको छ, सीमा अतिक्रमणले निरन्तरता पाइरहेको छ, एकतर्फी रुपमा बाँध निर्माण गर्ने र सडक निर्माण गर्ने काम छिमेकी देशले गरिरहेको छ, यस्तै कामलाई भनिन्छ राम्रो सम्बन्ध ? प्रधानमन्त्री केपी ओलीले आफ्नो कामको उपलब्धिको समीक्षा गरिरहँदा अरुले पनि समीक्षा गरिरहेका होलान् भन्ने विचार गरेर बोल्नु उपयुक्त होला । प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गरे पछि विरोध भइरहेको भनेर असन्तुष्टि व्यक्त गरेको पाइन्छ । पहिलोपटक प्रधानमन्त्री भएका बखत भारतबाट लगाइएको नाकाबन्दीको विरोधमा दुईचार ठाउँ बोेलेकै भरमा मात्र पनि ओलीको देशभक्ति उचाइ सगरमाथा जत्तिकै अग्लिएको थियो । राम्रो कामको मूल्यांकन हुँदोरहेछ भन्ने कुराको यो भन्दा राम्रो उदाहरण अरु के हुन सक्छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here