मनकामना मन्दिर बनाउन १५ किलो सुनले नपुगेपछि

117

गोरखा/ गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा मन्दिरको छानामा सुनको जलप लगाउन १५ किलो सुनले पनि नपुगेपछि थप ३ किलो सुन खरिद गरिएको छ ।

भूकम्पअघि नै मन्दिर ६ इन्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुनर्निर्माण थालिएको छ। मन्दिरको जीर्णोद्धारका क्रममा ‘अहिले सम्म १५ किलो सुन खर्च भइसक्यो,’ जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भन्छन् । ‘तीन किलो सुन नपुगेर काम रोकिएको थियो, अहिले सुन ल्याइसक्यौं, काम पनि भइरहेको उनले जनाए ।

सात किलो सुन पुरातत्व विभागबाट निकासा भएको चार करोड रकमले खरिद गरिएको थियो । थप आठ किलो सुन समितिले भक्तजनबाट संकलित रकमबाट खरिद गरेर छाना बनाउने काम गरेका थियो । तर त्यसले पनि अपुग भएपछि तीन किलो सुन खरिद गरिएको श्रेष्ठले जनाए ।

यसअघि मन्दिरको छानामा मात्र सुनको जलप लगाउने निर्णय गरिएको थियो हाल काम गर्दे जादा मूलढोका, कंकालको मूर्ति, तोरण र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने निर्णय भएको उनले जनाए ।

सुन खरिदका लागि करिब दश करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । हालसम्म मन्दिर जीर्णोद्धारमा १३ करोड रुपैयाँ खर्च भइसकेको समितिको हिसाब छ । ‘पैसाको अभाव छैन, भक्तजनबाटै आठ करोड रुपैयाँ उठेको छ, स्थानीयले पनि सहयोग गरेका छन्,’ उनले भने ।

मन्दिर जीर्णोद्धारको काम करिब ९८ प्रतिशत सकिएको छ ।दशैसम्ममा भक्तजनलाई मन्दिरबाटै पूजा गर्ने व्यवस्था मिलाउने गरी काम भइरहेको उनले जनाए । रकम बाँकी रहे मन्दिरको पूर्वपट्टी भागमा धर्मशाला बनाउने योजना समितिको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here