डा. दीपेन्द्र रोकाया
अघिल्लो हप्ता हुम्ला जिल्लाको अति दुर्गम स्थान रादेउबाट वडा अध्यक्ष ट्या¥या रोकाया, वडा सदस्य धनवीर रोकायाका साथै सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया काठमाडौ आउनु भयो । उहाँहरुसँगै म पनि शिक्षा मन्त्रालय, विभिन्न संघ–संस्थामा गयौ । अंशुवर्मा आधारभूत विद्यालय रादेउ हुम्लाको भवन निर्माण तथा स्तर उन्नतीका लागि दरवन्दीको व्यवस्था सम्बन्धी माग गर्नु थियो, माग ग¥यौ । काठमाडौमा सरकारी निकायबाट विश्वस्त हुने ठाउँ पाउनै गाह्रो भयो । अलिकति मन राख्ने ठाउँ अरु नै संघ संस्था तथा व्यक्ति व्यक्तित्सँगको भेटले बनायो । सुर्खेतस्थित कर्नाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको आश्वासनले नयाँ आशा बोकी उहाँहरुलाई घर फर्कन सहज भयो ।
यो विद्यालय म जन्मनु भन्दा ३ वर्षअघि अर्थात् वि.सं. २०३२ सालमा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको थियो । पञ्चायत कालमा ५ जना स्थायी दरवन्दी रहेको यस विद्यालयमा राजनैतिक उतारचढावका कारण बहुदलीय व्यवस्थामा ३ जनाको मात्र स्थायी दरवन्दी रहेको छ । यद्यपि जनआन्दोलनपछि शैक्षिक स्तर बृद्धि गर्न स्थानीय जनसमुदायको जोडबलले यस विद्यालयलाई निजी स्रोतबाट वि.सं. २०६६ सालदेखि निमाविका रुपमा सञ्चालन गरिएको छ ।
नेपालको संविधानले आधारभूत शिक्षा निःशुल्क उपलब्ध गराउने भनेपनि हाम्रो गाउँले त्यो अनुभव गर्न पाएको छैन । नेपाल सरकारबाट शिक्षक दरबन्दी निकै कम भएपनि विद्यार्थी संख्यालाई ध्यानमा राखेर स्थानीय स्रोतका आधारमा निकै चुनौतिका साथ पठनपाठन कार्य जारी छ । हाल ४०० भन्दा बढी विद्यार्थी रहेको यस विद्यालयको स्तर वृद्धि गर्न स्थान साँधुरो हुनुका साथै खेलकुद मैदान नभएकाले अर्को स्थानमा सार्ने निर्णय भएकोले स्थानीय तहबाट विद्यालयको नाममा जग्गा खरिद गर्ने कार्य सम्पन्न भई सकेको छ । यसमा इट्टा थप्दै जानु पर्नेछ ।
हुम्लाबाट ब्यक्तिगत खर्चमा ती अभिभावकहरु काठमाडौ र सुर्खेतका मन्त्रालयहरुमा पुग्नुभयो । उहाँहरुलाई समेत अनुभव भएको कुरा हो कि, हरेक विकासको ढोका शिक्षाबाट प्राप्त हुन्छ । आधुनिक युग विज्ञान र प्रविधिको युग हो । यसैले विद्यालयको आवश्यकता, शिक्षक, विद्यार्थी तथा गाउँलेको प्रतिनिधित्व गरी काठमाडौ र सुर्खेतसम्म आइ पुगेर फर्केका ती अभिभावकहरुको सोच छ, यस विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गर्ने । यहाँ पनि स्तरीय विद्यालय भवन तथा छात्रवास निर्माण, कम्प्युटर कक्षा, विज्ञान प्रयागशाला र पुस्तकालयको निर्माण गर्ने लक्ष्य राखिएको छ ।
यो विद्यालयबाटै मैले कखरा शुरु गरेको हुँ । त्यसको विकासका लागि र स्तर उन्नतिका लागि मेरा अभिभावकहरुले देखाएको शिक्षाप्रेमप्रति म सलाम टक्रयाउन चाहन्छु । यसै अभियानका क्रममा वडा अध्यक्ष ट्या¥या रोकायाले जिल्लामै पहिलो विद्यालय स्थापना गर्दा आफुले खेलेको भूमिका सुनाउनुभयो । त्यसबाट म थप प्रभावित भएँ । मलाई पूर्व सांसद चक्रबहादुर शाहीले हिमज्योति मावि स्थापनामा आफ्नो भन्दापनि रादेउ, फुचा र पुमाल्याको योगदान रहेको स्मरण गरेको थाहा थियो, त्यसको मियो उहाँ नै हो भन्ने कुरा थाहा थिएन । प्रशंगवस उहाँले ती दिनहरुको पनि सम्झना गराउँदा थाहा भयो कि रादेउका वडा अध्यक्ष यतिबेला देशकै जेष्ठ वडाअध्यक्ष हुनुहुन्छ र उहाँको शिक्षाप्रेम अथाह छ ।
हाम्रो वडाको वडा अध्यक्ष पढेलेखेको नभएपनि शिक्षाको बिउ रोप्न जुन प्रयत्न गरिरहनु भएको छ, यसले युग बदल्ने सपना रोपेको देखिरहेको छु । यसमा मैले पनि हर तरहले साथ दिनका लागि कार्ययोजना नै बनाएर अघि बढिरहेको छु । यस पवित्र धारणालाई कार्यान्वयन गर्न सत्ता र धन हुनेहरुको मन पग्लदो रहेनछ । तर प्रयास जारी छ, मनकारीहरु हो, मेरा गाउँका भाईबहिनीहरु पनि पढेर डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिक, वकिल, पत्रकार, राजनीतिज्ञ बन्न चाहन्छन् । उनीहरुको सपना पुरा गर्ने संरचना नहुनाले धेरैले लक्ष्य पुरा गर्न सकिरहनु भएको छैन । यहाँ चित्रमा देखिएको विद्यालय हेर्नुहोस्, आधारभूत विद्यालयमा २ कोठे भवन छ । पाल हालिएको छ । अरु जम्मै चौरमा चार सय विद्यार्थीलाई निजी स्रोतबाट पढाइरहेका ९ जना शिक्षक छन् । उनीहरुको दैनिकी देख्दा तपाईको मन कस्तो हुन्छ ?
मेरो विचारमा कतिपयले त सोच्न पनि सक्नु भएन होला र पत्याउन पनि गाह्रो लाग्यो होला । मैले कखरा शुरु गरेको विद्यालयको दशा देख्दा मन रुन्छ तर अब त्यसको संरचनागत परिवर्तनका लागि गरिएको संकल्पले नयाँ विश्व परिवेशलाई परिचय गराइ छाड्ने छ । देउडा गीतबाट प्रशिक्षित हुने समाजमा डिजिटल युग जोड्न कम चुनौती छैन । यद्यपि यस सपनाले युगीन फड्को मार्न विद्यालयको सुधार विना अरु विकास खोज्नुको त्यति अर्थ हुने रहेनछ । मनकारीहरु हो, भोलिको पुस्तालाई दक्ष बनाएर मात्र विकासको ढोका खुल्नेछ भन्ने बोध भएकैले हामीले ‘वालवालिकालाई लगानी’ गर्न लागिरहेका छौ । शिक्षाप्रेमीहरु हो ! कृपया, रादेउले तपाईहरुको साथ खोजिरहेको छ ।