नेपालका प्रमले यस्ता काम कहिले गर्लान् ?

199

काठमाडौं/ नेपालमा देश र जनताका लागि भन्दै १४ वर्ष जेल परेका केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालिरहेका छन् । आम जनताको अधिकारको लागि भन्दै दशौँ वर्ष सशस्त्र द्वन्दमार्फत १७ हजार नागरिकको बलिदानी गराएका पुष्पकमल दाहाल प्रचण्ड ओलीको सत्ता तथा पार्टीको सारथी बनेका छन् । दुईतिहाइको सरकार छ, जनताको पक्षमा काम गर्न चाहने हो भने कुनै शक्तिले रोक्न सक्ने अवस्था छैन ।

जनताका लागि लड्नेहरुका लागि जनता नै सुरक्षा कवच हुने भएकाले ठूलो तामझाम सहितको सुरक्षा व्यवस्था र आलिसान महलको आवश्यकता कम्तिमा यी दुई नेताका लागि नपर्नुपर्ने हो । जनताकै घेराबाट आएका नेताले छुट्टै तामझाम र सुख सुुविधा लिन सुहाउँदैनथ्यो र लिनुपनि हुँदैनथ्यो, नभइनहुने बाहेक । त्यसैले त भन्ने गरिन्छ, जनताको नेता बनेपछि जीवनशैली र व्यवहार पनि जनताकै जस्तो हुनुपर्छ, त्यसले जनताको भरोसा नेतामाथि रहिरहन्छ । तर विडम्बना ! नेपालमा त्यस्तो हुन सकेन ।

जनताको माझबाट आएका भनिएका प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा नै महंगो पलंगको विवादमा तानिए । अहिले प्रधानमन्त्रीका रुपमा केपी ओलीले प्रयोग गरिरहेको सुख सुविधा र उनका सत्ता एवं पार्टीका सारथी प्रचण्डले खुमलटार निवासमा लिइरहेको सुख सयलले कुनै पनि हिसाबले उनीहरु सर्वहाराका नेता हुन् भनेर विश्वास गर्ने आधार देखिदैन । सायद देश बनाउन हिँडेका प्रचण्डहरु किन खुमलटारमा सीमित हुँदैछन् भन्ने कुराको जवाफ पनि उनको जीवनशैलीले दिइरहेको छ ।

स्वाभाविक रुपमा मुलुक समृद्ध भएको अवस्थामा त्यसबाट सबैभन्दा सुखसुविधा लिने उच्च पदमा पुग्नेहरुले नै हो । किनभने सुविधासम्पन्न मुलुकका उच्च पदस्थहरुले लिने सेवा सुविधा नै विशेष किसिमको हुन्छ र त्यसका लागि राज्यको आर्थिक अवस्थाले धान्न सक्छ, तर नेपालजस्तो मुलुकमा त्यो सम्भव छैन । त्यसैले मुलुकलाई समृद्ध बनाउने र सुविधा पनि लिने बाटोमा राजनीतिक नेतृत्व लाग्नु जरुरी हुन्छ । वर्तमान नेपालको राजनीतिक नेतृत्वलाई हेर्ने हो भने उनीहरुको विगतको पृष्ठभूमि, मुलुकको वर्तमान अवस्था र राजनीतिक नेतृत्वको जीवनशैली कुनै पनि हिसाबले सुहाउँदो छैन । त्यसमाथि कम्युनिष्ट हौं भन्नेहरुले आफ्नो जीवनशैली कस्तो बनाउनु पर्ने हो भन्ने कुरा अरुले सिकाइराख्नुपर्ने विषय होइन । बालुवाटार होस् वा खुमलटार र बाल्कोट नै किन नहोस्, ती भव्य महल आम नागरिकका लागि होइन, तस्कर, दलाल, घुसखोरी र दुई नम्बरी धन्धा गर्नेहरुका लागि मात्र खुल्ला हुन्छन् भन्ने कुरा सबैलाई जानकारी छ । अझ प्रस्ट शब्दमा भन्नुपर्दा बालुवाटार र खुमलटार जनताको पहुँचभन्दा बाहिर छन् । कम्युनिष्ट नेताहरुको वर्तमान जीवनशैली देखेर विभिन्न कम्युनिष्ट आन्दोलनमा ज्यान गुमाउने सहिदहरुको आत्माले पनि कुरीकुरी गर्दै सराप्दो हो !

नेपाली जनताले लामो समयदेखि नेपालको कम्युनिष्ट नेतृत्वसँग ठूलो अपेक्षा गर्दै आइरहेको छ । जनताले कम्युनिष्ट नेताहरुबाट जुन किसिमको जीवनशैली र राज्य सञ्चालन गर्ने परिपाटीको अपेक्षा गरेका थिए, त्यस्तो उदाहरण अहिले छिमेकी मुलुक पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले देखाइरहेका छन् । राजनीतिक विचारले उनी कम्युनिष्ट होइनन् । पेशाले पूर्व क्रिकेट खेलाडी, उनले नेपालका कम्युनिष्टहरुले सत्तामा पुग्नुभन्दा पहिले बोल्ने कुरालाई व्यवहारमा देखाइरहेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरानले देखाएको जस्तो राजनीतिक चरित्र नेपाली जनताले नेपालका कम्युनिष्ट नेताहरुबाट अपेक्षा गरेका थिए । विडम्बना ! त्यो इतिहास रच्ने महान अवसरबाट नेपालका कम्युनिष्ट नेताहरु चुकेका छन् र नेपाली जनताले आफूले लामो समयदेखि राख्दै आएको अपेक्षा छिमेकी राष्ट्रका सरकारप्रमुखलाई हेरेर चित्त बुझाउनुपर्ने भएको छ ।

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खान प्रधानमन्त्रीका लागि बनाइएको भव्य महल छोडेर तीन कोठे घरमा सरेका छन् । उनी प्रधानमन्त्री निवासमा रहेका ५ सय २४ कर्मचारीमध्ये दुई जनालाई मात्र आफूसँग राखेका छन् । उनले प्रधानमन्त्रीका रुपमा प्रयोग हुने ८० सुविधासम्पन्न सवारी साधनहरु पनि आफूसँग नराख्ने र दुई वटा मात्र सवारी प्रयोग गर्ने घोषणा गरेका छन् । बाँकी रहेका सुविधासम्पन्न सवारी साधन लिलामी गर्ने घोषणा उनले गरेका छन् । लिलामीबाट आएको रकमलाई उनले मुलुकको हित हुने काममा लगाउने घोषणा गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीनिवास अगाडि ८० सवारी तथा दुई देखि तीनवटा हेलिकोप्टर समेत तयारी अवस्थामा हुने गर्थे । तर नयाँ प्रधानमन्त्री खानले फजुल सरकारी खर्चलाई कम गर्न यस्ता सुविधाको पनि कटौती गरेका छन् ।

पाकिस्तानको इस्लामावादमा एक लाख स्क्वायर फिट भन्दा बढी क्षेत्रफलमा बनेको प्रधानमन्त्री निवास अब विश्वस्तरीय रिसर्च विश्वविद्यालय बन्ने छ । प्रधानमन्त्री इमरानले सरकारले एउटा कमिटी नै बनाएर सरकारी खर्चको हिसाब किताब राख्ने र खर्च कसरी कटौती गर्न सकिन्छ भन्ने बारेमा योजना बनाउने उद्घोष गरेका छन् । उनी आफ्नो कार्यकालको पहिलो दिन मर्निङ वाक गर्दै कार्यालय पुगे । उनले पाकिस्तानमा बढिरहेको ठूलो ऋणको भारी कम गर्न र मुलुकको विकासमा आफ्नो जीवन समर्पण गर्ने घोषणा गरेका छन् ।

इमरान आफ्नो मुलुक बनाउने अभियानमा छन् । उनले मुलुकको समृद्धिका लागि अवलम्बन गरेको नीतिले आफ्नो मुलुकभित्र मात्र होइन विश्वलाई सन्देश दिएका छन् । उनले आफ्नो मुलुकभित्र अवलम्बन गरको नीतिले पाकिस्तान मात्र होइन दक्षिण एशियालाई नै र विश्वलाई समेतलाई फरक ढंगले सोच्न बाध्य बनाइरहेका छन् । उनी कुनै अन्य मुलुकसँग कस्तो सम्बन्ध बनाउने वा विदेश नीति कस्तो बनाउने भनेर अहिले नै लागिसकेका छैनन् । तर उनले आन्तरिक रुपमा अवलम्बन गरेको नीतिले उनका छिमेकी मुलुकहरुमा समेत हलचल ल्याइरहेको छ । एउटा राजनीतिक नेतृत्वको आन्तरिक निर्णयले बाह्य शक्तिलाई कसरी प्रभावित र आकर्षित गराउन सक्छ भन्ने एउटा उदाहरण इमरान बनेका छन् ।

भन्ने गरिन्छ कम्युनिष्टहरु अन्तराष्ट्रियवादी हुन्छन्, उनीहरुसँग मुलुकको कुनै सीमा हुँदैन । संसार जित्नुपर्छ भन्दै चर्का कुरा गर्ने नेपालका नेताहरु भने राज्यको दोहन गरेर कसरी व्यक्तिगत स्वार्थ पूरा गर्न सकिन्छ भन्नेमै तल्लिन भएको देखिन्छ । राजनीतिक नेतृत्व आफैले अवलम्बन गरेको कार्यशैलीका कारण खुमलटार र बालुवाटारमा खुम्चिदै गइरहेको देखिन्छ ।

के हिजोका क्रान्तिकारी आन्दोलनका लक्ष्य र उद्देश्यहरु आजको यो अवस्था देख्नका लागि थिए ? के इमरान खानबाट नेपालको राजनीतिक नेतृत्वले केही सिक्न सक्छ ? अब यो विषय बहसको विषय बन्नुपर्छ । मुलुकको विकासका लागि व्यक्तिको सुविधा प्राथमिकता होइन भन्ने सन्देश पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएका छन् । नेपालमा दशकौँदेखि आदर्शवादी कुरा गर्ने नेतृत्वको जीवनशैली भने पत्याई नसक्नुको छ । जसको असर मुलुकले भोगिरहेको छ र मुलुक दिन प्रतिदिन कंगाल हुँदै गइरहेको छ । यसप्रति वर्तमान राजनीतिक नेतृत्वले पुनर्विचार गर्ला ? हेर्न बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here