काठमाडौँ, ११ भदौ । बिम्स्टेकको आगामी चौथो शिखर सम्मेलनमा प्राथमिकता निर्धारण गर्नुपर्ने कार्य क्षेत्रका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिइएको छ ।
कूटनीति, विदेश मामिला र आर्थिक क्षेत्रमा कार्यरत नेपाल, भारत र बङ्गलादेशका संस्थामा आबद्ध व्यक्तित्वहरुले आइतबार साँझ प्रधानमन्त्री ओलीलाई उनको निवास बालुवाटारमा भेटी बिम्स्टेकको कार्य क्षेत्रका बारेमा सुझाव दिएका हुन्।
बिम्स्टेकको आगामी शिखर सम्मेलनका एजेण्डा के हुनुपर्छ भन्नेबारेमा यही अगष्ट २–३ मा रणनीतिक तथा सामाजिक, आर्थिक अध्ययन प्रतिष्ठान, विकासशील राष्ट्रका लागि अनुुसन्धान र सूचना प्रणाली, भारत नीति संवाद केन्द्र, बङ्गलादेशका ‘थिङ्ट्याङ्क’ हरुद्वारा आयोजित बिम्स्टेकको पूर्वपरामर्श बैठकमा पारित सुझाव प्रधानमन्त्रीलाई बुझाइएको हो ।
बैठकले बिम्स्टेकको सफलताका लागि आगामी शिखर सम्मेलनले निर्धारण गर्नुपर्ने कार्यक्षेत्रका बारेमा सुझाव दिएको थियो । हाल बिम्स्टेकका हाल १४ वटा कार्य क्षेत्र रहेकामा तिनलाई घटाएर थोरै प्राथमिकताका क्षेत्रमा सीमित गर्नुपर्ने र यसो गर्न सकिएमा ती क्षेत्रमा ठोसरुपमा काम गर्न सकिने सुझाव दिइएको छ ।
सडक सञ्जाल ‘कनेक्टिभिटी’, व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन, जनता जनताबीचको सम्पर्क, जलवायु परिवर्तन र बिम्स्टेकको सचिवालयको सबलीकरण विषयमा प्राथमिकता निर्धारण गरी काम गर्नेगरी कार्य क्षेत्र बनाउन प्रधानमन्त्रीलाई सुझाव दिइएको थियो ।
बिम्स्टेकमा पर्वतीय र सामुन्द्रिक देश रहेकाले जलवायु परिवर्तनका कारण पहाड र समुद्रमा पार्ने प्रभावका बारेमा यस सङ्गठनले काम गर्नुपर्ने भन्दै आगामी शिखर सम्मेलनमा यस क्षेत्रलाई पनि प्राथमिकतामा राख्न पनि सुझाइएको थियो ।
प्रधानमन्त्री ओलीले सुझाव सान्दर्भिक रहेकाले आगामी शिखर सम्मेलनमा आफूले राख्ने आश्वासन दिएका थिए ।

















