प्रकाण्डलाई बाराम्बार पक्राउ गरेको भन्दै विरोध प्रदर्शन

319

कालिकोट/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरेकोमा कालिकोटमा विरोध प्रदर्शन भएको छ ।

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-६ माल्कोटमा जन्मिएका प्रकाण्डलाई सरकारले झुटो मुद्दा लगाएर नेकपाका पार्टी प्रवक्ता प्रकाण्डलाई बाराम्बार पक्राउ गरेको भन्दै नेकपाका नेता तथा कार्यकर्ता र स्थानीय नागरिक प्रदर्शनमा उत्रिएका छन्।

नेकपाका केन्द्रीय पार्टी पोलिट ब्युरो सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज एटम बिसीको नेतृत्वमा कर्णाली ब्युरो सदस्य कर्णबहादुर भण्डारी बिराड, जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपलगायत नेता-कार्यकर्ताले प्लेकार्डसहित विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनपछि कोणसभा कार्यक्रममा नेकपाका कर्णाली ब्युरो इन्चार्ज एटम बिसीले राज्यले पार्टी प्रवक्ता प्रकाण्डलाई बारम्बार पक्राउ गरेर मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको आरोप लगाउँदै प्रकाण्डलाई तत्काल स-सम्मान रिहा नगरे कडा प्रतिवाद गर्ने जनाए । ‘अहिले गरेका संघर्षका कार्यक्रमलाई वेवास्ता गरी सरकारले प्रकाण्डलाई रिहा नगरे जनताको भेलले खोसेर ल्याउने चेतावनी पनि दिए। उनले भने, ‘हामी क्रान्ति गरिरहेका छौं। युद्ध गर्ने सोचमा छैनौं। तर, राज्यले युद्ध गर्न बाध्य पार्दै छ।’

जिल्ला अदालत कालिकोटले नेकपाका महासचिव नेत्रविक्रम चन्दसहित केन्द्रीय स्तरका नेता तथा जिल्लास्तरका नेतालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here