निर्मला हत्या प्रकरणमा निर्दोष किशोरीलाई मानसिक/शारीरिक यातना

286

कञ्चनपुर/ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेर दोषी साबित गर्न खोजेका व्यक्ति यिनै हुन् जसको चर्चा भइसकेको छ । तर, प्रहरीले स्थानीय १७ वर्षीया किशोरीलाई पनि यही आरोपमा पक्राउ गरेर चरम मानसिक तथा शारीरिक यातना दिएको खुलेको छ ।

जनज्योति बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत हेमन्ती भट्टलाई प्रहरीले गिरफ्तार गरेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मलाको बलात्कार तथा हत्या आरोपमा जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परेको जानकारी अघिल्लो दिन संसद्मा दिएका थिए । अर्को दिन जनज्योति बहुमुखी क्याम्पसमा आएको प्रहरीले हेमन्तीलाई गिरफ्तार गर्‍यो । उनको महिनावारी चलिरहेको थियो । १८ साउनमा बिहानको क्याम्पसबाट घर फर्केकी हेमन्ती घरबाहिर खानाको तयारीमा थिइन् किनकि उनको महिनावारी चलिरहेको थियो ।

तर, खानसमेत नदिई बिहान करिब ११ बजे उनलाई जिल्ला प्रहरी कार्यालय लगियो । तत्कालीन एसपी ९जो हाल निलम्बित छन्० डिल्लीराज विष्टले भने उनलाई धम्की दिए, ‘निर्मलाको बलात्कार र हत्यामा मेरो पनि संलग्नता छ भनेर सकारिस् भने बच्छेस्, हैन भने तेरो भविष्य बर्बाद गर्दिन्छु ।’

सोच्दै नसोचेको विपत्ति आइलागेपछि हेमन्ती अत्तालिइन् । तर, उनले आफ्नो संलग्नता छ भन्न मानिनन् । त्यसपछि उनलाई सिसाको एउटा सानो झ्याल भएको अँध्यारो कोठामा राखियो । ‘१५–१५ मिनेट बिराएर सादा पोसाकका प्रहरीहरू आउँथे । गल्ती मानिस् भने बच्छेस्, मानिनस् भने मर्छेस् भनेर धम्क्याउँथे,’ उनले नयाँ पत्रिकासित भनिन् ।

उनलाई बेलुका छाडिन्थ्यो, तर बिहान फेरि गिरफ्तार गरिन्थ्यो । यो क्रम पाँच दिनसम्म चल्यो । दोस्रो दिन उनी बाबा गोकुलेश्वर भट्टको अटोमा आफैँ प्रहरी कार्यालय जाँदै थिइन् । तर, बाटैमा उनलाई नियन्त्रणमा लिइयो र मोटरसाइकलको बीचमा राखेर चौकी पुर्‍याइयो । र उसैगरी सोधपुछका नाममा धम्क्याइयो । ‘मेरो साथीले बलात्कार गरेर हत्या गरेको हो, मैले सघाएकी हुँ भन्, हामी तँलाई जोगाउन कोसिस गरौँला । नत्र त गइस्,’ सोधपुछ गर्न आउने सादा पोसाकका प्रहरी धम्क्याउँथे ।

तेस्रो दिन त ज्यादतीको पराकाष्ठा नै भयो । उनी क्याम्पसमा पढिरहेकी थिइन् । कक्षाकोठाबाटै सहपाठी र शिक्षकहरूको सामुन्ने उनलाई प्रहरीले गलहत्याउँदै लगेर गाडीमा राखे । उही अँधेरो हिरासतमा लगियो । उनको शिर भुइँमा टेकाइयो, खुट्टा छततिर ठाडो पारियो । प्रहरीले लाठी हान्न थाले । पीडाले चिच्याइन् । ती बालिकालाई प्रहरीहरूले तथानाम भने ।

त्यसपछि उनलाई बाहिर ल्याइयो र तत्कालीन एसपी डिल्लीराजसामु खडा गरियो । डिल्लीराजले भने, ‘तँलाई हामीले यहाँ बोलाएर केरकार गरिरहेका छौँ भन्ने बाहिर कसैलाई भनिस् भने तेरो भविष्य चौपट हुन्छ । घरमा पनि सामान्य सोधपुछ भएको छ, अरू केही भएको छैन भनेस्, तेरो भलो हुन सक्छ ।’ प्रहरीले हेमन्तीको फेसबुकको पासवर्डसमेत लिइसकेको थियो ।

चौथो दिन पनि उनलाई हिरासतमा राखिएको थियो । भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीसहित वडा नै उल्टेर प्रहरी कार्यालय पुग्यो । त्यसैले पाँचौँ दिन न प्रहरीले उनलाई बोलायो, न पक्रन नै आयो ।

‘तर, पाँचौँ दिन म जब क्याम्पस गएँ, कुनै पनि सहपाठी बोलेनन् । हिरासतमा भन्दा पीडा कक्षाकोठामा भयो । ओझेल परेर निकैबेर एक्लै रोएँ,’ उनी भन्छिन् ।

उता प्रहरीले पिछा छाडेको थिएन । एक दिन बिराएपछि छैटौँ दिन उनलाई फेरि जिप्रका पुर्‍याइयो । धामी थरका सइले कागज तयार पारिसकेका थिए । उनले कागजमा लेखिएकोे व्यहोरा पढ्न चाहिन् । तर, सइले भने, ‘मलाई ग्यास्ट्रिक छ । खाजा खाने वेला भयो, छिटो हस्ताक्षर गर,’ सईले हप्कीदप्की गरेपछि हस्ताक्षर गरिदिइन् ।

कागज गराएर उनलाई एसपी डिल्लीराजसामु उपस्थित गराइयो । एसपीले पहिलेजस्तै हप्काए, ‘यो कुरा कतै बाहिर नजाओस् । आफ्नो मात्र होइन परिवारको पनि हेक्का राख्नु ।’ यति भनेपछि उनलाई बिदा गरियो ।

२३ साउनबाट उनले प्रहरीको फन्दाबाट मुक्ति पाएकी छिन्, तर त्यो यातनाले उनलाई तर्साइरहन्छ । नियमित क्याम्पस जान सकेकी छैनन् ।

तर, चरम यातना दिँदा पनि प्रहरीले हेमन्तीबाट चाहेजस्तो बयान लिन सकेन । उनले आफूले गर्दै नगरेको अपराध स्विकार्नै नसक्ने अडान दोहोर्‍याइरहिन् । उनकी सानिमा गीता भन्छिन्, ‘अल्ली हक्की छ । गल्ती गर्दिन र डराउँदिन पनि । अरू कुनै केटी भए निराशामा पुगेर अर्को दुर्घटना पनि हुन सक्थ्यो । प्रहरीको ज्यादती देखेर त हामी नै आत्तिसकेका थियौँ ।’ आमा मायाले थपिन्, ‘धन्न मेरी छोरी आँटिली थिई र यत्रो जुलुम सही । हाम्रो त परान निस्कन लागेको थियो ।’

यातना पाउँदा पनि उनले हिम्मत हारिनन् । पाँच दिनको धम्कीपूर्ण सोधपुछमा प्रहरीले उनलाई अनेकथरी प्रश्न गर्थे । अटो ड्राइभरकी छोरी, दुईकोठे घर भएकी तैँले मोबाइलमा पैसा कसरी हाल्छेस् रु फेसबुक कसरी चलाउँछेस् रु
‘तँ कहाँ छेस्, थाहा छ तलाई रु’ इन्स्पेक्टरले सोधेका थिए । उनको जवाफ थियो, ‘जिल्ला प्रहरी कार्यालयमा छु । एकजना इन्स्पेक्टरको सामुन्ने ।’
‘तँलाई बिए, एमए पढ्न मन छैन रु’
‘छ नि । मलाई त पिएचडी नै गर्ने मन छ ।’
‘त्यसो भए हामीले भनेको किन मानिरहेकी छैनस् रु निर्मलाको बलात्कार र हत्यामा आफ्नो हात रहेको स्वीकार, नत्र जेलमा सडाइदिन्छौँ । अनि पढ्लिस् बिए ।’

हेमन्तीले भनिन्, ‘मेरो कुनै गल्ती छैन । मलाई तपाईंहरूले कसरी जेलमा सडाउनुहुन्छ, हेरौँला ।’ कागज गराएर छाड्ने दिन ती इन्स्पेक्टरले भनेका थिए, ‘तिमीले हामीले भनेको मानेको भए यो केस उहिल्यै सल्टिन्थ्यो । अब कति दिन उल्झिने हो थाहा छैन । तर, तिमी हक्की रहिछौ, भविष्यमा नेता बन्ने छाँट छ ।’

हेमन्तीलाई प्रहरीले निकै कमजोर आधारमा पक्राउ गरी पाँच दिनसम्म यातना दिएको थियो । पहिलो आधार, हेमन्ती र निर्मलाको घर करिब तीन सय मिटरको दूरीमा छ । निर्मला हराएको दिन क्याम्पसबाट फर्कँदै थिइन् हेमन्ती । निर्मलाकी दिदी मनीषासँग बाटैमा भेट भएको थियो, मनीषाले गणितको एउटा होमवर्कमा सघाउन आग्रह गरिन् किनकि मनीषा र हेमन्तीकी बहिनी भूमिका सहपाठी हुन् । हेमन्तीले भनिन्, ‘मेरो घरमा म फर्कने समय घडी हेरेर बसेका हुन्छन् । त्यसैले घरै आइज ।’ मनीषा उनको पछि लागिन् । घर पुग्नासाथ हेमन्तीलाई एउटा जरुरी कामका लागि बैंक जान अह्राए परिवारले । उनी खानै नखाई बैंकतिर लागिन् । मनीषा उनको घरमै बसिन् । सवा दुई बजेसम्म बैंकमै अलमल भयो । त्यसैबीच पानी दर्कियो र बाटोमा अडिइन् । घर पुग्दा पौने ३ भइसकेको थियो ।

प्रहरीको जिकिर रह्यो कि, ‘निर्मलामाथि बलात्कार र हत्या हुँदाको समयमा त्यो बाटोबाट हिँड्ने तँ पनि थिइस् । तलाई सबै थाहा छ, के–के गरिस् भन् रु’ तेस्रो कारण थियो हेमन्तीकी साथीको नाम पनि निर्मला हो । हेमन्ती र निर्मला धामी सहपाठी हुन् । निर्मला धामीसँग कुरा गर्न उनका एक आफन्तले वेलाबखत हेमन्तीको मोबाइलमा फोन गर्थे । निर्मला पन्तको बलात्कारपछि हत्या हुनुभन्दा तीन दिनअघि हेमन्तीको मोबाइलमा निर्मला धामीका आफन्तले फोन गरेका थिए । हेमन्ती कक्षामा थिइन्, फोन साइलेन्ट मोडमा थियो । घर फर्केर मोबाइल खोल्दा मिस्डकल देखेपछि उनले म्यासेज लेखिन्, ‘निर्मला मसँग छैनन्, भोलि क्याम्पस समयमा फोन गर्नू ।’

स्कुल पढ्ने निर्मला र क्याम्पस पढ्ने निर्मलाबीचको भेद छुट्याउन नलागी प्रहरी हेमन्तीमाथि जाइलाग्यो । अझ म्यासेजमै ‘क्याम्पस’ समयमा फोन गर्नु भनिएको थियो । जब कि निर्मला पन्त स्कुलकी विद्यार्थी हुन् । निर्मला धामीका आफन्तलाई पनि प्रहरी कार्यालय ल्याएर धम्क्याउँदै केरकार गरियो । र अन्त्यमा दोष थोपर्न नसकेपछि सबैलाई छाड्न बाध्य भयो । नयाँ पत्रिका

म अहिले केही बोल्दिनँ : एसपी विष्ट

मंगलबार साँझ सम्पर्कमा आएका निलम्बित एसपी डिल्लीराज विष्टसँग संक्षिप्त संवाद :

निर्मला पन्तको बलात्कार तथा हत्यामा दोषी पत्ता लगाउनेभन्दा पनि निर्दोषलाई फसाउन तपाईंको भूमिका भयो, त्यही आरोपमा तपाईं निलम्बित पनि हुनुभयो । तपाईंको प्रतिक्रिया के छ ?

अहिले म केही बोल्दिनँ ।

सुरुमा जीवन घर्तीमगर र दीपक नेगी, पछि चक्रदेव बडूजस्ता निर्दोषलाई दश–दश दिनभन्दा बढी समय थुनेर मानसिक–शारीरिक यातना दिइयो । यो दमन किन ?

यस विषयमा सिआइबी र हाम्रो अनुसन्धान टोलीलाई सोध्नुहोस् ।

तपाईं जिल्लाको प्रहरी प्रमुख । तपाईंको निर्देशनविनै अनुसन्धान टोलीले ती गिरफ्तारी गरेको हो र ?

प्रमुखको हिसाबले मेरो जिम्मेवारी हुन्छ । तर, अहिले म केही बोल्दिनँ ।

त्यसो भए शंकाको घेरमा रहेको घरपरिवारलाई शंकाको सुविधा दिएर निर्दोष हेमन्ती भट्टलाई पक्राउ गरी किन यातना दिनुभयो रु त्यो अबोध किशोरीलाई टाउको तल खुट्टा माथि गरेर किन कुट्न तपाईंले नै निर्देशन दिनुभएको होइन ?

यस विषयमा सिआइबीलाई र हाम्रो अनुसन्धान टोलीलाई सोध्नुहोस्, म अहिले केही बोल्दिनँ ।

जिल्लावासीको सुरक्षामा खटिएको प्रमुखले उल्टै नागरिकलाई यातना दिएको विषयमा यसरी पन्छिन मिल्छ ?

म समय आएपछि बोल्छु ।

हेमन्तीले हामीलाई भनेकी छिन् कि, तपाईं आफैँ अघि सरेर उनलाई जिन्दगी बर्बाद गरिदिने धम्की दिनुभयो । निर्दोष किशोरीलाई धम्क्याउँदा तपाईंको मनमा दया जागेन ?

म यस विषयमा केही बोल्दिनँ । यो अनुसन्धानको विषय हो ।

तपाईं र बम परिवारको पुरानै चिनजान भएकाले उनीहरूको पक्षपोषण गर्नुभएको छ, आवतजावत पनि थियो भन्ने चर्चामा आइरहेको छ । तपाईंको प्रतिक्रिया के छ ?

जिल्ला एउटै पर्नु संयोग होला, तर मैले निर्मला पन्तको घटनापछि मात्रै बम परिवारबारे थाहा पाएको हुँ।

निर्मला जहाँबाट हराइन्, त्यो बम परिवारको घर खानतलासी गर्ने, उनीहरूको बयान लिनुको साटो पक्षपोषण गर्नुभयो । त्यसैले सम्बन्धको खोजी भएको हो नि ।

अँह कुनै सम्बन्ध छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here