बिम्स्टेकलाई प्रभावकारी उपक्षेत्रीय सङ्गठन बनाउने प्रतिवद्धता

110

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को १६औँ मन्त्रिस्तरीय बैठकले सङ्गठनलाई प्रभावकारी, परिणाममुखी र सदस्य देशका नागरिकलाई अनुभूत हुने उपक्षेत्रीय सङ्गठनका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा बुधबार राजधानीमा सम्पन्न उक्त बैठकले सङ्गठनका सहायताका क्षेत्रहरुको प्राथमिकता निर्धारण गर्दै तिनलाई समग्र बिम्स्टेक भेगको आर्थिक उन्नयनमा केन्द्रित गर्नुपर्नेमा मतैक्यता प्रकट गरेको छ ।

रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सदस्य मुलुकबीच सम्पर्क र सम्बन्ध विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक विकासका मुख्य क्षेत्रमा सङ्गठनको सहायता बढाउनु अपरिहार्य भएको स्वीकार गर्दै बैठकले विकासका अथाह सम्भावनायुक्त बिम्स्टेक क्षेत्रलाई शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख गराउन सामूहिक प्रयास गर्ने दृढता पनि व्यक्त गरेको छ ।

सङ्गठनका गतिविधिलाई पूर्णरुपमा कार्यान्वय गर्न बैठकले सशक्त कदम चाल्न सहमति जनाएको छ । बिम्स्टेकको अभ्यासअनुसार नेपालका परराष्ट्रमन्त्रीले बिम्स्टेक मन्त्रिस्तरीय बैठकको अध्यक्षता श्रीलङ्काका विदेश राज्यमन्त्रीलाई हस्तान्तरण गरे । श्रीलङ्काले अध्यक्षता ग्रहण गरेकामा सदस्य मुलुकका विदेशमन्त्रीले आभार प्रकट गरे ।

बैठकमा सङ्गठनका सहयोगका १४ क्षेत्रमा हालसम्म भएका प्रगतिको समीक्षा हुनाका साथै बिम्स्टेकअन्तर्गत केन्द्र र संयन्त्र चाँडोभन्दा चाँडो स्थापना गर्नुपर्नेमा जोड दिइएको थियो । सत्रौँ मन्त्रिस्तरीय बैठक श्रीलङ्कामा आयोजना गरिने र त्यसको मिति कूटनीतिक माध्यमबाट पछि निर्धारण गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here