पहिरोमा पुरिएर एकै परिवारका तीन बालबालिका बेपत्ता

35

अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उनका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका छन् ।

पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ ।

बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको वडाध्यक्ष दीपक वलीले जानकारी दिए ।

घटनास्थल सदरमुकामदेखि ५० किमी टाढा रहेको र अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकाले उद्धार गर्न कठिनाइ भएको वडाध्यक्ष वलीले बताए । “पहिरो खस्नेक्रम अहिले पनि रोकिएको छैन”, उनले भने । पहिरोमा परी घाइते भएर बेहोस भएका बाबुआमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here