किर्ते कागजात बनाई ७० करोडको सम्पत्ति ठगी

275

काठमाडौँ, २२ भदौ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते कागजात खडा गरी रु ७० करोड बराबरको सम्पत्ति ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोले टोलीले चुनदेवी बस्ने भारतीय नागरिक राम नीरञ्जन जटियाको नाममा रहेको शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नक्कली कागजात बनाई ठगी गर्ने मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौँका नीरजकुमार मानन्धर, हिमाल महर्जन, राजकुमार तामाङ, चिरीबाबु महर्जन, रामेछापका जीतबहादुर मगर, मोरङका पूण्यप्रसाद खरेल र बाराका अमृत थापामगरलाई पक्राउ गरी विहिबार सार्वजनिक गरेको हो ।

जीतबहादुर मगरलगायत व्यक्तिले शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी, सञ्चालक र कम्पनीको अध्यक्ष जीतबहादुर मगर हो भनी इलेक्ट्रिकको नाममा रहेको बालुवाटार, सतुङ्गल, म्याग्दी र नुवाकोटको जग्गा बेचबिखन गरेर ठगी गरेको अनुसन्धानमा खुलेको सीआइबीले जनाएको छ ।

इलेक्ट्रिकका सञ्चालक एवं अध्यक्ष रहेका जटियाको घरबाट सो कम्पनीको कागजात चोरी गरी जटियाको नाममा रहेको शेयर खरिद गरी कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारी समेतको मिलेमतोमा आफ्नो बनाएर ठगी गरेका थिए ।

कम्पनी रजिष्ट्रार कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायणप्रसाद पोखरेल र उमेशमान जोशी तथा सोही कार्यालयमा आइटी शाखामा करारमा कार्यरत दुई कर्मचारी भने फरार रहेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेकालाई विद्युतीय अपराध, चोरी, ठगी तथा सङ्गठित अपराधमा अनुसन्धान गरी, अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेश गरेको ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here